Kakhara सबैको खबर सम्पूर्ण खबर
मेहलकुना अस्पतालमा ६३ औँ नर्सिङ दिवस मनाइयो 

सुर्खेतको मेहलकुना अस्पतालमा ६३ औँ नेपाल नर्सिङ दिवस मनाइएको छ । दिवसको अवसरमा अस्पतालमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा अस्पतालका अध्यक्ष यज्ञबहादुर वि.क, निमित्त मे.सु. डाक्टर राजकुमार भुजेल, एम‍.डि.जि.पी डाक्टर भास्कर झा, नर्सिङ अधिकृत एनिजुनि राईले दूर दराज देखि सुविधा सम्पन्न अस्पतालमा कार्यरत सम्पूर्ण नर्सिङ कर्मचारीहरूको योगदानको कदर गर्दै मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । नर्सिङ पेसाको विगत र वर्तमान अवस्था तथा चुनौतीको बारेमा अस्पतालकी नर्सिङ अधिकृत एनिजुनी राईले प्रस्तुतीकरण राख्नुभएको थियो । 

कार्यक्रममा बोल्दै निमित्त मे.सु. डाक्टर राजकुमार भुजेलले महाभूकम्प, कोभिड महामारी लगायतका विषम परिस्थितिमा पनि अहोरात्र अग्रपंक्तिमा खटिई उल्लेखनीय भूमिका निभाउने समग्र नर्सिङ कर्मचारीहरूको योगदान स्मरण गर्दै नर्सिङ पेसाको महत्वबारे बताउनुभएको थियो । उहाँले पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दक्ष जनशक्ति पलायनको कहालीलाग्दो अवस्थालाई चित्रण गर्दै आगामी दिनमा स्वास्थ्यका नीति तथा कार्यक्रममा यी र यस्ता जनशक्ति स्वदेशमै रोक्न सुरक्षित कार्यस्थल, सम्मानजनक सेवा सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

अस्पताल विकास समितिका अध्यक्ष यज्ञबहादुर विकले पनि स्वास्थ्यकर्मीहरूको योगदानलाई धन्यवाद दिँदै समितिले आफ्नो तर्फबाट कर्मचारीहरूलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । दिवसको अवसरमा केक काटेर खुसीयाली मनाइएको थियो भने अस्पतालमा कार्यरत सम्पूर्ण नर्सिङ कर्मचारीहरूलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नुका साथै मायाकाे चिनाे समेत प्रदान गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update