रूकुम पश्चिमबाट चितुवाकाे छाला बरामद गरिएकाे छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमको टोलीले आठविसकोट नगरपालिका वडा नं २ पहाडा भन्ने स्थानबाट चितुवाको भुवाँ सहितको छाला जस्तो देखिने वन्यजन्तु अखेटोपहार वरामद गरेको हाे ।
वन्यजन्तुको छाला लुकाईछिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा डिभिजन वन कार्यालय रुकुम पश्चिमको ८ जनाको टोली माघ १४ गते त्यसतर्फ गएको थियो । आज कार्यालयको थप ५ जनाको टोली पुन: घटनास्थलतर्फ खटिएको थियो । वरामद वन्यजन्तुको अखेटोपहार लुकाईछिपाई राख्ने व्यक्ति भने घटनास्थलबाट भागेको डिभिजन वन प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयाे ।
उक्त छाला राख्ने व्यक्तिकाे पहिचान खुलिसकेको र निजलाई कानुन बमोजिमको कारवाही प्रकृया अगाडि बढाइने उहाँले बताउनुभयाे । घटनास्थल जिल्ला सदरमुकामबाट करिब ४ घन्टाको यातायातको साधनबाट र थप २ घन्टा पैदलयात्राको दुरिमा रहेको बताइएकाे छ । उक्त छाला डिभिजन वन कार्यालयमा राखिएकाे छ ।