नेपाल कम्युनिस्ट पार्टी नेकपा रुकुमका संस्थापक स्कन्द शर्माको २३ औँ स्मृति दिवस मनाइएको छ । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट ५ शेरिगाउँ स्थित सहिद प्रतिष्ठानमा स्मृति कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा उपस्थितले स्वर्गीय शर्माको सालिकमा पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग सदस्य देवीलाल गौतमले राना शासनमा कम्युनिस्टको क पनि उच्चारण गर्न नपाइने अवस्थामा स्कन्द शर्मा लगायतले रुकुममा कम्युनिस्ट पार्टी स्थापना गरेको स्मरण गर्नुभयो । आफू उक्त बेला विद्यार्थी सङ्गठनमा रहेको स्मरण गर्दै उहाँले जङ्गलमा चुत्राको बुढामा ब्यानर राखेर कम्युनिस्ट पार्टीको पहिलो अधिवेशन भएको जानकारी गराउनुभयो ।
कम्युनिस्ट पार्टीमा लागेकै कारण स्कन्दले राज्य पक्षबाट ठुलो ज्यादती भोगेको समेत उहाँले बताउनुभयो । केन्द्रीय निर्वाचन आयोग सदस्य सहित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा कुशल, जिल्ला संयोजक गोविन्द रोका सचिन, माओवादी नेता बुद्धिप्रसाद गौतम, नेकपा माओवादी केन्द्रका मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का, वाइसीयल, विद्यार्थी तथा पार्टी निकट अन्य पेसागत तथा जन वर्गीय सङ्गठन सहित जिल्ला स्थित पत्रकारहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रोकाले गर्नुभएको थियो ।