Kakhara सबैको खबर सम्पूर्ण खबर
अध्यक्षमा हारका बाबजुद अखिल क्रान्तिकारीमा प्रभाकरको वर्चस्व !

नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय महाधिवेशन हालै सम्पन्न भएको छ । निर्वाचन मार्फत नेतृत्व चुनिएको छ । लामो समय लगाएर बुधवार मत गणना सम्पन्न भएसँगै अखिल क्रान्तिकारीले नेतृत्व पाएको हो । अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी हेमन्त राई लाई ७१ मतले पराजित गर्नुभयो । सापकोटाले ६८६ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा राईले ६ सय १५ मत प्राप्त गर्नुभयो । अध्यक्षका अन्य उम्मेदवार उपदेश यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गर्नुभयो । 

त्यस्तै, महासचिवमा रोशन थापा मगर ५ सय ९८ मतसहित निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा फूलमाया राना मगर ५९६ मतसहित निर्वाचित हुनुभयो । उपाध्यक्षहरूमा सन्दीप पुन ९६५७०, ममता अधिकारी ९८८२०, कृष्ण बहादुर सुनार ९४४५०, उमेश कँडेल ९३८९०, अटल आचार्य ९५७१० र मदन ढकाल ९५४१०, बिराज थापा ९४८२०, दीपा जैसी ९४०८० र अभिमन्यु यादव ९५७५० निर्वाचित हुनुभएको छ । 

३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो । ९ प्रदेशमध्ये ७ प्रदेशको मतगणना यसअघि नै भएको थियो । असोज १० देखि १५ गतेसम्म भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्ष उमेर हद लगाउने कि नलगाउने विषयमा विवादका कारण रोकिएको निर्वाचन चार महिनापछि सम्पन्न भएको छ । पुस १३ मा भएको उमेर हद खुला पक्षधर पराजित भएपछि ३२ वर्ष मुनिबाट आगामी २ वर्षका लागि सङ्गठनको नेतृत्व हाँक्ने जिम्मेवारी सापकोटाको काँधमा आएको छ ।

हारका बाबजुद प्रभाकर प्यानल बलियो 
अखिल क्रान्तिकारीको निर्वाचनबाट माओवादी केन्द्रमा स्पष्ट गुट देखिएको छ । उपमहासचिव शक्ति बस्नेतको गुटले इन्ट्री मारेको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको काउन्टरमा विभिन्न गुट सक्रिय रहेकामा यो पटक बस्नेत गुट अस्तित्वमा आएको हो । पूर्व अध्यक्ष हिमाल शर्मा, पञ्चासिंह लगायतको सहयोगमा शक्ति बस्नेत पक्षका विजयप्रकाश सापकोटाले अध्यक्षमा बाजी मार्नुभयो । यद्यपि अध्यक्षका लागि पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुनको समेत शर्मालाई सहयोग रहेको विद्यार्थी नेताहरूको भनाई छ । पार्टी हेडक्वाटरका नाममा ठुलै शक्ति लाग्दा पनि जनार्दन प्यानल सशक्त रूपमा उदाएको अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य तुल देवकोटाको भनाई छ । सिङ्गो पार्टी नै लागेर अध्यक्ष र केही पदाधिकारीमा जीत हासिल गरे पनि समग्रमा प्रभाकर नै हाबी भएको उहाँ बताउनुहुन्छ । प्रचण्डलाई खुला रूपमै टक्कर दिँदै आइरहेका प्रभाकर विद्यार्थीको चुनावबाट थप बलियो भएको उहाँले बताउनुभयो । 

पार्टीमा आन्तरिक लोकतन्त्र हुनुपर्ने र त्यसका लागि सबै कमिटीका नेताहरू चुनिएर आउनुपर्ने माग उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आठौँ महाधिवेशनदेखि नै उठाउँदै आउनुभएको छ । २०७८ को पुसमा भएको आठौँ महाधिवेशनमा उनले महासचिवमा उम्मेदवारी दिन चाहनुभएको थियो । तर महाधिवेशनले अध्यक्ष मात्रै टुङ्गो लगाएर अरू पदाधिकारी पछि छान्ने निर्णय गरेपछि जनार्दनलाई स्वभाविक रूपमा पछि हट्नुपर्यो । त्यसयता पनि उहाँले पार्टीमा बारम्बार अध्यक्ष प्रचण्डको कार्यशैली र पार्टी सञ्चालन विधिमाथि प्रश्न उठाउँदै आउनुभएको छ । 

उहाँले गत साउनमा भएको स्थायी कमिटी बैठकमा फरक प्रतिवेदन नै पेस गर्नभयो । अध्यक्ष प्रचण्डसँग स्पष्टै मतभेद राखिरहेका शर्माले यस पटक विद्यार्थीको निर्वाचनमा पनि प्यानल नै उठाइदिनुभयो । अध्यक्षमा उहाँले उठाएका उम्मेदवार हेमन्त राई ७१ मतले पराजित भए पनि अरू पदाधिकारीमा शर्मा प्यानलको नै वर्चस्व छ । ९ मध्ये ५ उपाध्यक्ष, महासचिव, ९ मध्ये ७ उपमहासचिव र ११ मध्ये ६ सचिव र कोषाध्यक्षमा शर्मा पक्षका उम्मेदवारहरूले जितेका छन् । ३३ जना पदाधिकारीमा शर्मा पक्षका २० जनाले जितेका छन् । केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय सदस्यमा समेत शर्मा पक्षकै वर्चस्व देखिएको छ । यसले अध्यक्ष प्रचण्डसँग शर्माको नै टक्कर बलियो भएको देखाएको छ ।

शर्मा पक्षबाट विजयी हुनेहरू 
उपाध्यक्ष 
छात्रा- ममता अधिकारी
जनजाति उपाध्यक्ष- सन्दीप पुन
दलित उपाध्यक्ष- कृष्ण बहादुर सुनार
मधेसी उपाध्यक्ष- अभिमनी यादव
खस आर्य- उमेश कँडेल 
महासचिव- रोशन थापामगर
उपमहासचिव
मधेस- गजेन्द्र यादव
बाग्मती- निर्मला गौतम
गण्डकी- भगवान् बास्तोला
लुम्बिनी- रेसम अधिकारी
कर्णाली- प्रकाश अधिकारी
सुदूरपश्चिम- रामचन्द्र भट्ट
विश्वविद्यालय- जटिल कार्की
सचिव खुला ४ मध्य- वीरेन्द्र जिसी, सम्झना राई 
सचिव समावेशी 
छात्रा २ मध्य- समकृती पुन
जनजाति- आर्टिष्ट मोक्तान 
मधेसी- अमर मण्डल 
सहिद सन्तति- योङ छे ह्याङ माओ 
कोषाध्यक्ष– फुलमाया राना मगरसचिव 

‘प्रत्यक्ष प्रतिस्पर्धामार्फत नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष हो’
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अखिल क्रान्तिकारीको प्रत्यक्ष प्रतिस्पर्धामार्फत नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष भएको बताउनुभएकाे छ । अखिल क्रान्तिकारी मतगणना सकिएपछि बुधबार सामाजिक सञ्जालमा लेख्दै उहाँले विद्यार्थी संगठनको नेतृत्व नयाँ पुस्तामा लैजाने गरी ३२ वर्षे उमेरहदको निर्वाचनबाट नीतिगत रूपले नयाँ पुस्तामा आइसकेको उल्लेख गर्नुभएकाे हाे । 

उहाँले लेख्नुभएकाे छ,  ‘सोही नीतिका आधारमा प्रत्यक्ष प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष हो । यसको प्रकाशले पूर्ण लोकतन्त्रको पक्षधर माओवादी पार्टी र जनसंगठनहरुमा आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न निरन्तर प्रकाश छरिरहनेछ । यो ऐतिहासिक परिघटना एवं प्रतिस्पर्धामार्फत विजयी सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूमा हार्दिक बधाई तथा शैक्षिक क्षेत्रको सुधारको आन्दोलनमा सफलताको शुभकामना ।’

Janardan1702382511.jpg
निर्वाचनका क्रममा केही शिक्षा पनि प्राप्त भएको उहाँले उल्लेख गर्नुभएकाे छ । ‘जसरी पनि जित्नुपर्छ भन्ने मानसिकतालाई अन्त गर्न प्रतिनिधिहरूलाई निर्देशित जनवादको सट्टा स्वविवेक प्रयोग गर्ने उनीहरूको अधिकारको सुनिश्चितता गर्न जरुरी छ । निर्वाचन प्रति नकारात्मक सोच बनाउनुको सट्टा स्वस्थ, स्वच्छ र निष्पक्ष रूपले प्रतिस्पर्धा गराउन सक्षम निर्वाचन आयोग सोही अनुरूपको सहजकर्ता, व्यवस्थापन, दबाब मुक्त रूपमा कार्य सम्पादन गर्ने वातावरण तयार पार्न ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभएकाे छ, ‘प्रतिस्पर्धामा उत्साह पूर्वक सहभागी निर्वाचन परिणामलाई सहज स्वीकार गर्ने सबै प्रत्याशीहरूको प्रशंसासहित हार्दिक धन्यवाद ।’

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update