
पापिनी मेलाको अवसरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखमा आयोजित प्रथम पापिना मेला पिपिएम कप भलिबलको उपाधि बाँफिकोट गाउँपालिका ३ ले जितेको छ । शुक्रबार भएको फाइनलमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ लाई पराजित गर्दै बाँफिकोट ३ ले उपाधिमा कब्जा जमाएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा बाँफिकोट ३ ले पुनरागमण जित निकाल्दै विजेता बनेको हो । सुरुवाति २ सेट गुमाएको र तेस्रो सेटमा समेत ठुलो अन्तरले पछि परेको अवस्थामा वडा नम्बर ३ ले उत्कृष्ट पुनरापगमन गर्दै लगातार ३ सेट जितेको हो । विजेता बाँफिकोट ३ ले नगद १ लाख, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उप विजेता बाँफिकोट ४ ले ७१ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा सानीभेरी गाउँपालिका वडा नम्बर ३ ले तेस्रो स्थान प्राप्त गरेको आयोजक हाम्रो सरोकारका अध्यक्ष रिजन पाण्डेले जानकारी दिनुभयो । तेस्रो भएको सानीभेरी ३ ले नगद ४१ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । पुरुष भलिबलमा २० टिमले प्रतिस्पर्धा गरेका थिए ।
महिला भलिबल तर्फ भने रुकुम भलिबल टिम प्रथम भएको थियो । यसअघि नै सम्पन्न महिला भलिबल तर्फका प्रतिस्पर्धामा रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ७ लाई पराजित गर्दै रुकुम भलिबल टिम विजेता बनेको हो । उसले नगद १५ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । द्यितीय सिस्ने ७ ले १० हजार र तेस्रो हुने आयोजकले ५ हजार पुरस्कार पाएको छ । महिला तर्फ १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै मेलामा सांस्कृतिक प्रस्तुति राख्ने सांस्कृतिक समूहहरुलाई समेत नगद पुरस्कार प्रदान गरिएको आयोजक हाम्रो सरोकारका महासचिव प्रकाश विकले जानकारी दिनुभयो । मेलामा विभिन्न सांस्कृतिक प्रस्तुति राख्ने पापिनी समूह, आमा समूह, झाँक्री समूह, सिंगारु लगायतका समूहलाई नगद प्रदान गरिएको उहाँको भनाई छ ।
साथै पापिनी मेला र खेलकुद प्रतियोगिताका लागि प्रायोजन गर्ने प्रायोजकका साथै विभिन्न समूह, व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको महासचिव विकले जानकारी दिनुभयो । सम्मान पत्र र कदर पत्र प्रदान गरिएको उहाँको भनाई छ ।
यो संगै यस वर्षको पापिनी मेला सम्पन्न भएको छ । मेला १६ गते नै सकिएको भएपनि भलिबल आजसम्म सञ्चालन भएको थियो । मेला तथा खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको मेलाको समग्र व्यवस्थापन हेर्नुभएका हाम्रो सरोकारका परिकल्पनाकार मनोज विकले बताउनुभयो ।
मान्छेको सहभागीता देखि व्यवस्थापन सबै हिशावले मेला भव्य भएको उहाँले बताउनुभयो । गत वर्षहरुको तुलनामा यो वर्ष मेला थप व्यवस्थित र भव्य भएको बताउँदै मेला र खेलकुदका लागि सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद समेत दिनुभयो । खेलकुद कार्यक्रम समापनमा पापिनी, सिंगारु तथा चरण लगायतका नाच देखाइएको थियो भने स्थानीय आमा समूहले नाच समेत देखाएका थिए ।