Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा सहिद स्मृति सभा गृह बन्दै
बाँफिकोट गाउँपालिकामा निर्माणाधिन सहिद स्मृति सभा गृह ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सहिद स्मृति सभा गृह बन्न थालेको छ । ४ नम्बर वडाको कोटमा सहिदहरुको सम्झना तथा सम्मानमा सहिद स्मृति सभा गृह बनाउन लागिएको हो । जनयुद्धका महान सहिद परिवार समाज बाँफिकोट गाउँपालिकाले यो गृह बनाउने गरी गाउँपालिकासित सम्झौता गरेको छ । यद्यपी यो निर्माणको काम भने स्यार्पूताल कन्ट्रक्सन कम्पनीले गरिरहेको छ ।

चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने गरी सहिद स्मृति सभा हल निर्माणको काम सुरु भएको समाजका अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिनुभयो । २ तलाको यो गृहमा तल्लो तलामा हल हुनेछ भने कार्यालय प्रयोजनका लागि माथिल्लाे तलामा ३ कोठा रहने अध्यक्ष खत्रीले बताउनुभयो । 

संघीय सांसद जनार्दन शर्माको निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत ७० लाखको लगानीमा सहिद स्मृति गृह निर्माण हुन लागेको हो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर यसबेला पनि यो निर्माणको काम चलिरहेको छ ।

बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले दश दिनदेखि सभा गृह निर्माणको काम चलिरहेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्रै सक्नुपर्ने भएकाले निर्माण कार्य अघि बढाइएको अध्यक्ष केसीले बताउनुभयो । जग्गा खरिद गरी त्यसैमा सभा गृह निर्माणको काम भइरहेको हो ।

जग्गा खरिदमा बाँफिकोट गाउँ कार्यपालिकाका सबै जनप्रतिनिधिले एक महिनाको सेवासुविधा वापतको रकम योगदान गर्ने निर्णय भएको छ । जनप्रतिनिधिको सेवा सुविधाका साथसाथै विभिन्न व्यक्ति, व्यवसायीबाट सहयोग संकलन गरेर जग्गा खरिदको काम पूरा गरिने गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update