Kakhara सबैको खबर सम्पूर्ण खबर
मेरी आमा पढेकी होइनन्, नजानेकी पनि केही छैनन्

शिक्षा कागजका प्रमाणपत्रमा मात्र सीमित हुँदैन, जीवनका अनुभवहरू पनि ज्ञानका अमूल्य स्रोत हुन् । मेरी आमा औपचारिक रूपमा पढेकी होइन्न, अक्षर चिन्न सक्दिनन्, तर जीवनका हरेक पक्षमा उनी ज्ञानी छन्। उनले कुनै विद्यालयमा गएर किताबका अक्षरहरू पढिनन्, तर संसारका हरेक कठिनाइहरू पार गर्न सिकिन् । आमाको ज्ञान न किताबमा भेटिन्छ, न कुनै पाठशालामा-उनले जीवन भोगाइबाट आर्जेको ज्ञान असली शिक्षाको परिभाषा हो ।

बचपनदेखि नै आमाले मलाई सिकाउँदै आउनुभएको छ-पढाइभन्दा ठुलो कुरा अनुशासन, इमानदारी र परिश्रम हो । आमा गणित जान्दिनन्, तर घर चलाउने हिसाबकिताब सधैँ मिलाउँछिन् । उनले कहिल्यै विज्ञानको किताब पल्टाएकी छैनन्, तर जीवनलाई सरल बनाउन आवश्यक विज्ञान उनी राम्ररी बुझ्छिन् । उनी सम्बन्धहरूको महत्त्व जान्नुहुन्छ, सत्यता र इमानको मूल्य बुझ्नुहुन्छ ।

आमा पढेकी नभए पनि उनको माया, त्याग र समर्पण जीवनको सबैभन्दा ठुलो पाठशाला हो ।

बिहान सबेरै उठेर हामीलाई खुवाउने, कपडा धुने, खेतबारीमा काम गर्ने अनि परिवारका हरेक समस्याहरू हल गर्ने उनको शैली आफैँमा एउटा ठुलो पाठ हो। उनले मलाई धैर्य सिकाएकी छिन्, आफ्नो खुट्टामा उभिन सिकाएकी छिन्, संघर्ष गरेर जिन्दगीमा अघि बढ्न सिकाएकी छिन् ।

आमा सँग शब्द नभए पनि बुद्धि छ । आमाले किताबहरू नपढे पनि उनले जिन्दगीका उतारचढावलाई गहिरो रूपमा बुझेकी छन् । घरको सानो ठुलो कामदेखि समाजमा कसरी आफूलाई राख्ने भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ। उनी कानुनी धाराहरू जान्दिनन्, तर न्यायको सही–गलत बुझेकी छन् । उनी कहिल्यै संसारका ठुला ठुला सहरहरू घुमेकी छैनन्, तर जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने ज्ञानमा उनी अब्बल छन् ।

आमा पढेकी छैनन् भनेर कहिल्यै लज्जा बोध लाग्दैन, बरु गर्व लाग्छ कि मेरी आमा बिना कुनै अक्षर चिनेर पनि जिन्दगीका हरेक परीक्षामा सफल भइन् । उनले हामीलाई शिक्षाको महत्त्व बुझाउन आफ्नो खुसी त्याग गरिन्, आफू सधैँ दुःखमा रहेर पनि हाम्रा सुखका लागि दौडिरहेकी छिन ।

शिक्षा भनेको अक्षर चिन्नु मात्र होइन, जीवन बुझ्नु हो । मेरी आमाले कागजी प्रमाणपत्र पाइकी छैनन्, तर उनले दिएको जीवनको शिक्षा अमूल्य छ । उनी नपढेकी होलिन्, तर अनुभवी छन्, भावनाले भरिपूर्ण छन्, बुद्धिले सम्पन्न छन् । उनका ज्ञान, माया र संघर्षको कदर गर्नु नै उनको सच्चा सम्मान हुनेछ ।

मेरो जीवनमा सबैभन्दा ठुलो प्रेरणाको स्रोत मेरी आमा हुन् । उनी औपचारिक रूपमा पढेकी छैनन्, अक्षर चिन्न सक्दिनन्, तर जीवनलाई जसरी बुझेकी छिन्, त्यो ज्ञान कुनै किताबमा भेटिँदैन । उनका कथा अक्षरमा सीमित छैनन्, अनुभवको अमूल्य सम्पत्ति हुन्। मैले आमाको आँखामा कहिल्यै शिक्षा नपाएको पछुतो देखिन, बरु त्याग र ममताको गहिराइ देखेको छु । 

सानो छँदा बुबा टाढा काम गर्न जानुहुन्थ्यो, घरको सबै जिम्मेवारी आमाको काँधमा थियो। बिहानै उठेर घरधन्दा, खेतबारीको काम, अनि हामी लाई  हुर्काउनु – यो उनको दिनचर्या थियो। कहिलेकाहीँ रातभर भोकै सुतेको सम्झनामा मेरो मन अझै भारी बन्छ, तर आमा भोलिपल्ट पनि त्यही मुस्कानका साथ काममा जान्थिन् ।

स्कुलको गृहकार्य गर्दा मैले कहिल्यै आमासँग सोध्न सकिनँ, किनभने उनले पढ्न जान्नुहुन्नथ्यो। तर उनले सधैँ एउटै कुरा भन्नुभयो, “बाबु, म अक्षर चिन्दिनँ, तर जिन्दगीलाई राम्रोसँग बुझ्छु, इमानदारीलाई कहिल्यै नछोड। अहिले जीवनमा जब कठिनाइ आउँछ, आमाले भनेका ती शब्दहरू गुन्जिरहन्छन् ।

आज म जहाँ छु, त्यो आमाको न्यानो हात र बलिदानकै कारण हो । संसारले उनलाई अशिक्षित भन्ला तर मेरा लागि उनी जीवनको सबैभन्दा ठुलो शिक्षिका हुन् ।

आमा आफैँ कहिल्यै स्कुल जान पाइनन्, तर हामीलाई राम्ररी पढाउने उनको सपना कहिल्यै मरेन। खेतमा गोडमेल गर्दा, गाउँका मान्छेहरूसँग उधारो माग्दा पनि उनी भन्थिन्, “मेरो छोरा ठुलो मान्छे बन्छ।” जति दुःख सहनुपरे पनि, हामीलाई पढाउन उनले कहिल्यै पछि हटिनन्। आफैँलाई नयाँ लुगा किन्न मन लाग्दा पनि हामीलाई स्कुल पठाउने खर्चलाई उनले प्राथमिकता दिन्छिन् । 

मैले कागजमा धेरै प्रमाणपत्रहरू बटुलेको छु, किताबहरू पढेको छु, तर आमा जति ज्ञानी म कहिल्यै हुन सक्दिन। उनी मान्छेको मन बुझ्न जान्छिन्, परिस्थितिलाई सहज बनाउन जान्छिन्। कस्तो बेला के बोल्ने, कसरी दुःख सहने, कसरी आशा गर्न सकिन्छ-यी सबै पाठ मैले आमाबाट सिकेँ।

एक दिन थकित भएर कामबाट घर फर्किएँ । आमाले भान्सामा खाना बनाइरहनुभएको थियो । मैले उनको हात समातेर भनेँ, “आमा, अब तपाईँलाई दुःख गर्नुपर्दैन।” उनले हल्का हाँस्दै भनिन्, “बाबु, मलाई दुःख लाग्दैन, तिमीलाई खुसी देख्दा म खुसी हुन्छु ।” उनी खुसीले मुस्कुराइरहेकी थिइन्, तर आँखामा टिलपिल आँसु टल्किएको मैले देखेको थिएँ। ती आँसुमा हर्ष पनि थियो, दुःख पनि त्यो दिन मेरो ठुल दाइ इन्जिनियर बनेको दिन थियो त्यो

दाइलाई  इन्जिनियर बनाउन आमा बाले  गरेको दुख संघर्ष व्याख्या जति गरे पनि कम हुन्छ !

मेरी आमा पढेकी होइन्न, तर संसारलाई बुझ्न नजानेकी पनि होइनन् । उनले मलाई इमानदारी, संघर्ष, माया र समर्पणको पाठ सिकाएकी छिन् । आज म जहाँ छु, त्यो आमाको न्यानो हात र बलिदानकै कारण हो । संसारले उनलाई अशिक्षित भन्ला तर मेरा लागि उनी जीवनको सबैभन्दा ठुलो शिक्षिका हुन् ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update