Kakhara सबैको खबर सम्पूर्ण खबर
हाम्रो सरोकारको उदयले भव्य बन्दै गइरहेको पापिनी मेला

साँख गाउँमा परापूर्वकाल देखि नै पापिनी मेला लाग्दै आइरहेको छ । साँख गाउँमा मानव बस्ती बसे देखि नै मेला लाग्दै आइरहेका स्थानीय अगुवाहरू बताउँछन् । यो मेला अनौठो नामका कारण समेत चर्चित छ । मेलाको नाम पापिनी, मेलामा नाच्ने किशोरीहरू पानिनी अनि मेलामा हुने नाटकीय विवाह पापिनी । पापिनी अर्थ पाप गरेको भन्ने हो । तर यहाँ भने पाप गरेका कारण पापिनी भनिएको होइन ।

साँख गाउँलाई देवी देवताले चारैतिरबाट रक्षा गरिरहेको र गाउँमा एउटा राक्षस समेत रहेकोले राक्षस तथा देवी देवतालाई खुसी पार्न तथा राक्षसबाट गाउँलेलाई जोगाउन मानव बस्ती विकास भएदेखि नै साँखमा समलिङ्गी विवाह जस्ता क्रियाकलाप गर्ने गरिएको वडाध्यक्ष एक्कबहादुर पाण्डे बताउनुहुन्छ । हरेक वर्ष माघ १ गतेबाटै यस मेलाको औपचारिक शुभारम्भ हुन्छ । 

Papini-mela-1738398604.jpg
'पापिनी मेला'

माघ १ गते देखि हरेक साँझ साँख माथि गाउँ र तलिगाउँका पापिनीहरु साँख दहको डिलमा थला बस्ने गर्छन् । माथि गाउँका पापिनीहरु दहको माथिल्लो भाग र तलिगाउँका पापिनीहरु तल्लो डिलमा बसी नाच गान तथा सिस्नो खेलेर रमाइलो गर्छन् । यो क्रम माघ १३ गतेसम्म चल्छ । १४ गते साँझ बेहुली माग्न जाने, १५ गते राती केटी केटीकै बिचमा धूमधाम विवाह गरिदिने र भोलीपल्ट १६ गते साँख दहमा मेला लागेसँगै मेलाको औपचारिक समापन हुने गर्छ । 

माथि गाउँ र तलिगाउँका किशोरी बिचमा आलोपालो प्रणालीमा हरेक वर्ष विवाह गरिदिने प्रचलन परापूर्व काल देखिकै हो । औपचारिक रूपमा माघ १ गतेबाटै सुरु हुने भए पनि मेलाको मुख्य दिन अर्थात् मान्छेहरूको जमघट हुने दिन भने माघ १५ र १६ गते हो । तर गत वर्षदेखि भने मेला लगभग एक साता देखि नै मान्छेहरूको जमघट भव्य हुँदै गएको छ । 

IMG-20250201-WA0078-1738412213.jpg
मेलामा 'पापिनी नाच' देखाउदै स्थानीय 'पापिनी'हरु

मेलामा गत वर्ष देखि खेलकुद कार्यक्रम, व्यवस्थापन र प्रचारप्रसार हुने भएका कारण नै मेलामा धेरै दिन चहलपहल हुन थालेको हो । मेला सकिएपछि पनि खेलकुद प्रतियोगिता केही जारी रहन्छन् । यस वर्षको मेला बुधवार सकिएको छ भने भलिबल जारी नै छ । स्थानीय रूपमा चर्चित रहे पनि खासमा यो मेलाको चर्चा धेरै परसम्म थिएन । तर गत वर्ष देखि भने मेला भव्य हुँदै गइरहेको छ । 

जिल्लाव्यापी मात्र नभई आसपासका जिल्लाहरूमा समेत पापिनी मेला चर्चित बन्दै गएको छ । साँख गाउँलाई बिचबाट छिचोलेर अघि बढेको मध्यपहाडी लोकमार्ग पापिनी मेलाको लाइफ लाइन बनेको छ भन्दा फरक नपर्ला । मेला भव्य बन्दै जानुका पछाडि सहज यातायात पहुँच तथा मेलाको कुशल व्यवस्थापन लगायत देखिन्छन् ।

२०७४ साल पूर्व स्थानीय क्लबहरूले मेला व्यवस्थापन गर्दै आइरहेका थिए । स्थानीय तहको निर्वाचन पश्चात् स्थानीय तहको प्रत्यक्ष रूपमा जोडिएको छ । वडा सरकारले मुख्य रूपमा सघाइरहेको छ । 

IMG-20250201-WA0072-1738409803.jpg
मुसिकाेट ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डे ।

यसबिचमा विगत दुई वर्षदेखि भने स्थानीय हाम्रो सरोकार मेलाको प्रत्यक्ष व्यवस्थापनमा जोडिन पुगेको छ । त्यसपछि मेलाले चोला फेरेको छ, जीवनदान पाएको छ । यो संस्थाले मेलालाई भव्य र मर्यादित बनाउन कुनै कसर बाँकी राखेको छैन । यसको प्रतिफल पछिल्ला वर्षका मेला हेरे पुग्छ । 

यसको महसुस स्थानीयले समेत गरेका छन् । पापिनी मेलाका संरक्षक मध्येका एक स्थानीय पवन कुमार पुन मेला भव्य र व्यवस्थित बन्दै गएकोमा मक्ख हुनुहुन्छ । ‘म थाहा पाउने भएदेखि नै पापिनी मेलामा प्रत्यक्ष जोडिएको छु, मेलालाई कसरी बचाउने भनेर चिन्ता हरपल छ, पछिल्ला वर्षहरूमा मेला व्यवस्थित र सभ्य बन्दै गइरहेको छ, यो हामी सबै साँखवासीका लागि खुसीको कुरा हो, उहाँले भन्नुभयो ।’ 

IMG-20250201-WA0076(1)-1738411996.jpg
'पापिनी' र पञ्चेबाजा समूह ।

पापिनी मेला मेला मात्र नभएर साँख गाउँको पहिचान, कला, संस्कृति र पहिचान भएको उहाँ बताउनुहुन्छ । अहिले मेला र पापिनी नाच तथा पापिनी विवाह हेर्नका लागि मात्र पनि साँख पुग्न थालेको उहाँले बताउनुभयो । प्रचार प्रसार, कुशल व्यवस्थापन र सहज पहुँचले मेलामा पुग्नेहरूको संख्या बढ्दै गएको स्थानीयको भनाई छ । 

केही वर्ष अघिसम्म सीमित मान्छेहरू मात्र मेलामा पुग्ने गरेकोमा हाल भने मेला व्यापक बनेको स्थानीय मनबहादुर घर्ती बताउनुहुन्छ । मेलामा झैँ–झगडा देखि अनैतिक क्रियाकलाप लगभग रोकिएको उहाँको भनाई छ । यो वर्ष पनि मेला शान्तिपूर्ण र जमघटका हिसाबले अघिल्ला वर्षहरू भन्दा अझ भव्य भएको घर्तीको भनाई छ । आश्चर्यपूर्ण रूपमा मेला हेर्न आउनेहरूको संख्या बढेको उहाँलाई लागेको छ । यसरी नै जाने हो भने मेला भोलीका दिनमा थप व्यवस्थित र भव्य बन्ने उहाँको बुझाई छ ।   

साँख गाउँको इतिहास जोडिएको पापिनी मेला बचाउन र यसलाई पर्यटनको हबको रूपमा विकास तथा प्रवर्द्धन गर्न विगत २ वर्ष देखि जब संस्था स्थापना भयो त्यसपछि संस्था लागि परेको हाम्रो सरोकारका परिकल्पनाकार मनोज विक बताउनुहुन्छ । वैदेशिक रोजगारीका लागि पर्यटन क्षेत्रमा पूर्वी अफ्रिकाको सेसेल्समा रहनुभएका विकले पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको अनुभवलाई पापिनी मेलाको विकास र व्यवस्थापनमा लगाएको बताउनुभयो । 

IMG-20250201-WA0073-1738409932.jpg
मेला उद्घाटन कार्यक्रम ।

‘म वैदेशिक रोजगारीमा रहेको बेला हासिल गरेको पर्यटन प्रवर्द्धनको अनुभव पापिनी मेला व्यवस्थापनमा लगाइरहेको छु, यसका पछाडी वैदेशिक रोजगारीमा रहेकाका तथा नेपालमै रहनु भएका सकारात्मक सोचका र गाउँ समाजका लागि केही गरौँ भन्ने तमाम सगाली युवाहरू तथा अन्य जिल्लाका साथीहरूको प्रमुख भूमिका रहेको छ भने, गाउँको मेलालाई कसरी पर्यटन प्रवर्द्धनसँग जोड्न सकिन्छ  र निकट भविष्यमा यसलाई अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ भनेर तल्लीन छौँ, म एक जना बाट यो सम्भव हुने कुरा होइन समाजका लागि केही गर्ने युवाहरू सबैको साथ सहयोग, माया र विश्वासले सफल भइरहेको महसुस भइरहेको छ,’ उहाँले भन्नुभयो । 

FB_IMG_1738408137398-1738408372.jpg
हाम्राे सराेकारका परिकल्पनाकार मनाेज विक ।

उहाँ हरेक वर्ष मेलाकै लागि भनेर पूर्वी अफ्रिका सेसेल्सबाट आइरहनुभएको छ । मेलालाई मेलामा मात्र सीमित नभई समग्र जिल्लाकै पर्यटन प्रवर्द्धनका लागि जोड्न निकट भविष्यमा बाह्य पर्यटक भित्र्याउने र साँखवासी लाई रोजगारीको सक्दो प्रयास गर्ने उहाँको टिम लागि परेको छ । ‘यो एक मेला मात्र होइन हाम्रो संस्कृति हो, कला हो, इतिहास हो यसलाई यत्तिकै मर्न दिनुहुँदैन, हामीले बहुमूल्य चिजलाई चिन्न सकेका छैनौँ, बिकाउन सकेका छैनौँ, उहाँले भन्नुभयो–हाम्रा कला संस्कृतिलाई नाचगान र एक दुई दिनको रमाइलोमा मात्र होइन समग्र पर्यटन व्यवसायसँग जोड्न जरुरी छ, त्यसका लागि हाम्रो प्रयास हो स्थानीय सरकारको सहयोग रहेमा यो सम्भव छ।’ 

उहाँकै पहलमा वैदेशिक रोजगारीमा रहेका सबैलाई यसमा जोडिएको छ । ‘गाउँको विकास हामी सबैको दायित्व हो, एउटैले गरेर केही हुँदैन, तर धेरैको थोरै थोरै सहयोग रह्यो भने पनि धेरै गर्न सकिन्छ, हामीले वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेकाहरूलाई जोडेका छौँ जोड्ने क्रममा छौँ, सबैले सकारात्मक सोचका साथ विभिन्न माध्यम बाट सहयोग गरिरहनुभएको छ संस्था स्थापना भए देखि २ वर्ष भित्रमा शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनमा लाखौँ सामूहिक खर्चेका छौँ , त्यसबाट हामीले समग्र साँखको विकासका लागि काम गरिरहेका छौँ, त्यस मध्येको एक पापिनी मेला व्यवस्थापन हो,’ उहाँ भन्नुहुन्छ । 

papini-bibah-(11)-1738118239.jpg
माघ १५ गते राति केटी केटीकै विचमा हुने 'पापिनी विवाह'मा 'पापिनी नाच' देखाउदै स्थानीय 'पापिनी'

पापिनी मेला सहित समग्र साँख हुँदै मुसिकोट नगरपालिकाकै पर्यटन प्रवर्द्धनका लागि आफूहरूले गुरुयोजना नै निर्माण गरिसकेको उहाँको भनाई छ । उहाँका अनुसार यस विषयमा वडा हुँदै मुसिकोट नगरपालिकालाई सुझाव पत्र बुझाइ सकेको र आवश्यक छलफल मेला समापन पछि गरिनेछ । हाम्रो सरोकार जन्मिएपछि साँखको विकासका लागि निरन्तर पहल भइरहेको उहाँले बताउनुभयो । प्रहरी चौकीको जग्गा व्यवस्थापन देखि स्वास्थ्य चौकीको व्यवस्थापन लगायतका विभिन्न काममा लगानी जारी रहेको वि क बताउनुहुन्छ साथै गत वर्ष देखि स्थानीय भलिबल खेलाडीका लागि प्रदेश स्तरीय रेफ्री र कोचको उपस्थितिमा तालिम गराइरहेको उहाँ थप्नुहुन्छ  । 

संस्था स्थापना भए यता ५० औँ वैदेशिक रोजगारीमा रहेका युवाहरूको राहदानी नवीकरण, अनलाइन श्रम, सामाजिक सुरक्षा कोषमा आबद्ध लगायतका कामहरूमा सहजीकरण गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका युवाहरू नेपाल आउँदा यातायात कम्पनीहरू सँग समन्वय गर्दै सहुलियतमा भाडा दर हेरफेरको पहल समेत गरिएको छ 

IMG-20250201-WA0074-1738410115.jpg
हाम्रो सरोकारको प्रयास र सबै साँखवासीको सहयोगमा समग्र गाउँसँगै पापिनी मेला व्यवस्थित हुँदै गइरहेको उहाँलाई लाग्छ । मेलामा झैँ-झगडा, कानुन विपरीतका गतिविधि देखि अस्तव्यस्तता तोड्न लगभग सफल भइसकेको उहाँको भनाई छ । अब मेलालाई विशुद्ध पर्यटन प्रवर्द्धनमा जोड्दै बाह्य पर्यटकहरू भित्र्याउने गरी पहल भइरहेको छ स्थानीयको सरकारको सकारात्मक सहयोग रहेमा यो सजिलै सम्भव छ विकले बताउनुभयो ।

मेला व्यवस्थापनका लागि समुदायलाई साथमा लिएर काम भइरहेकाे हाम्राे सराेकारका अध्यक्ष रिजन पाण्डेले बताउनुभयाे । समुदायकाे विकासका लागि समुदायलाई साथमा लिएर काम भइरहेकाे उहाँले बताउनुभयाे । समुदायकाे साथ पाइरहेकाे संस्थाले जनाएकाे छ । हाम्राे सराेकारका महासचिव प्रकाश विकले मेला मात्र नभई समग्र साँखकाे पर्यटन प्रवर्द्धनका लागि काम भइरहेको बताउनुभयाे । 

sankha-daha-1738480436.jpg
मेला स्थल साँख दह ।
papini-mela-2081-1738480433.jpg
मेला हेर्न पुगेकाहरु ।
papini-1738480431.jpg
मेला हेर्न पुगेकाहरु ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update