रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको मावि स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड जनजागृति माध्यमिक विद्यालय भूमे ६ महतले जितेको छ । मङ्गलवार देखि सुरु भएको शिल्ड ८ वटा माध्यमिक विद्यालयलाई पछि पार्दै जनजागृति मावि महतले शिल्ड हात पारेको हो । जनजागृति माविले १७ स्वर्ण, ३ रजत र ३ कांस्य सहित कुल २३ पदक प्राप्त गरी प्रथम भएको शिक्षा, युवा तथा खेलकुद शाखा भूमे गाउँपालिको जनाएको छ ।
त्यस्तै जनशक्ति मावि काँडाले ६ स्वर्ण, ६ रजत र ६ कांस्य गरी कुल १८ पदक प्राप्त गरी दोस्रो स्थान प्राप्त गर्दा २ स्वर्ण ८ रजत र ३ कांस्य गरी कुल १३ पदक प्राप्त गरी नेपाल राष्ट्रिय मावि चुनवाङले तेस्रो स्थान प्राप्त गरेको भूमे गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख कौशलकुमार तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिल्डमा गाउँपालिका भित्रका ९ वडा माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । शिल्डमा मावि कुचिवाङ र शिद्धचौर लुकुम स्वर्ण पदक विहीन भए भने त्रिभुवन मावि खावाङ पदक विहीन विद्यालय बन्न पुगेको छ । १ नम्बर वडाको सिद्धचौर माध्यमिक विद्यालयको खेल मैदान लुकुममा भएको शिल्डमा छात्र, छात्रा भलिबल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट प्रतियोगिता सञ्चालन भएका थिए ।
त्यस्तै दौड तर्फ छात्र, छात्रा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड, छात्र, छात्रा रिले दौड, प्रतियोगिता पनि सञ्चालन भएको शाखा प्रमुख तिवारीले जानकारी दिनुभयो ।