Kakhara सबैको खबर सम्पूर्ण खबर
'घरज्वाइँ' टिमद्वारा नयाँ चलचित्र 'मितज्यू' निर्माणको घोषणा 

रुकुम पूर्वमा खिचिएको सफल चलचित्र 'घरज्वाइँ'को निर्माण टिमले नयाँ चलचित्रको घोषणा गरेको छ । घर ज्वाइँ टिमले आज वसन्त पञ्चमी तथा सरस्वती पूजाको दिन नयाँ चलचित्र 'मितज्यू'को घोषणा गरेको हो । 'घरज्वाइँ'को सफलतापछि नयाँ चलचित्र निर्माणको तयारीमा जुटेको 'घरज्वाइँ'का निर्माता जनक घर्ती मगरले जानकारी गराउनुभयो । मितज्यूको निर्माता पनि घर्ती मगर नै रहनुहुने छ । 

'मितज्यू'को निर्माण टिममा लगभग 'घरज्वाइँ'कै टिम रहने घर्तीले बताउनुभएको छ । यस चलचित्रको निर्देशन पनि 'घरज्वाइँ'कै निर्देशक अनिल बुढामगरले गर्नुहुने छ । चलचित्रको निर्माण कम्पनीमा जि.एम. मुभिज प्रडक्सन प्रा.ली., लेखक महेश राई, निर्माण नियन्त्रक धनबहादुर राई, वितरणमा आर आर फिल्मसका रोहित कट्टेल र रत्न श्रेष्ठ रहने जानकारी गराइएको छ । 

आज सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै घर्तीले नयाँ चलचित्र मितज्यूको घोषणा गर्नुभएको हो । मैले निर्माण गरेको पहिलो चलचित्र 'घरज्वाइँ'लाई दिनु भएको अपार माया र साथले गर्दा अर्को नयाँ चलचित्र बनाउन प्रेरित भएको छु । आशा गर्दछु कि यो चलचित्रलाई पनि धेरै माया गरिदिनुहुनेछ, घर्तीले फेसबुकमा लेख्नुभएको छ ।

मगर संस्कृतिमा आधारित घर ज्वाइँ चलचित्र हिट बनेको थियो । रुकुम, रोल्पा लगायत मगर बाहुल्य ठाउँको कथालाई दर्शकले धेरै रुचाएका थिए । उक्त चलचित्र सफल भएर हौसिएको टिमले नयाँ चलचित्र घोषणा गरेको हो । उक्त चलचित्र मितको सम्बन्धमा आधारित हुने नामबाटै अड्कल लगाउन सकिन्छ । तर को को कलाकार रहने वा कुन ठाउँमा छायाङ्कन हुने भन्ने बारेमा भने कुनै खुलाइएको छैन । 

निर्देशक अनिल बुढाले पनि फेसबुक मार्फत आफूले 'मितज्यू' निर्देशनकाे जिम्मेवारी पाएकाे बताउनुभएकाे छ । 'घरज्वाइँ' चलचित्रको संघर्ष अनि सफलता संगै पुन: दोस्रो चलचित्र 'मितज्यू'को सहकार्यमा जोडिन पाउदा भब्य खुशी छु, याे समय चलचित्र निर्माण गर्ने सोच थिएन । तर, नेपाली चलचित्र प्रतिको तिम्रो लगाबले चुपचाप दोस्रो चलचित्रको जिम्मेवारी ग्रहन गर्दै छु, पक्कै पनि पहिलो चलचित्र झैं साथ, सहयोग र माया पाउने छौं, उहाँले फेसबुकमा लेख्नुभएकाे छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update