रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ को नेप्टेकाँडावासी अँध्यारोमा बस्न बाध्य भएका छन् । गाउँका १ सय ८ घरधुरी बिजुलीको सुविधामा पुग्न नसकेका हुन् । बिजुली बाल्ने आसमा तीन वर्ष अघि नै गाउँलेले गाउँमा बिजुलीका पोल र तार गाडिसकेका छन् । गाउँलेले गाउँसम्म बिजुलीका पोल र तार पुर्याउन ढुवानी भाडा हालेका थिए । पोल गाड्न तथा तार टाँग्न नि गाउँलेले श्रमदान गरेका थिए । थ्री फेजको तार टाँगिएको छ । तर तीन वर्षसम्म पनि नेप्टेकाँडाबासीले बिजुली बाल्न पाएका छैनन् ।
अब केही टु फेजको लाइनका लागि तार र एउटा ट्रान्सफर्मर भएमा बिजुली बाल्न सकिने अवस्था भए पनि सम्बन्धित निकायको बेवास्ताका कारण गाउँलेको उज्यालोको सपना पुरा हुन नसकेको स्थानीय एक्के ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमाथिबाट भने बिजुली प्रवाह भइरहेको छ । ‘गाउँ माथिबाट अरू गाउँमा जाने बिजुली बहिरहेको छ, तर त्यही तार मुनिको नेप्टेकाँडा भने अन्धकार छ, हामी बत्ती मुनिको अँध्यारो भएका छौँ, उहाँले भन्नुभयो ।’ बत्ती बाल्न नपाउँदा गाउँले चिन्तित छन् । बिजुली नहुँदा विभिन्न विभिन्न काम गर्न समस्या भइरहेको छ ।
‘एक त हामी अँध्यारोमा छौँ, बिजुलीबाट हुने काम गर्न सकिएको छैन, गाउँमा भूकम्पले भत्किएका घर बनिरहेका छन्, उहाँले भन्नुभयो–तर बिजुली नुहुँदा घर निर्माण कार्य समेत प्रभावित भएको छ ।’ बिजुलीका लागि स्थानीयले विद्युत् प्राधिकरणलाई धेरै पटक गुहारी सकेका छन् । तर हालसम्म कतैबाट सुनुवाइ नभएको स्थानीयको गुनासो छ । वडाध्यक्ष तुल्से ओलीले बिजुलीका लागि नेपाल विद्युत् वितरण केन्द्र मुसिकोटमा बारम्बार पहल भइरहेको बताउनुभयो । प्राधिकरण सँग पटक पटक सानो तार र एउटा टान्सफर्मरको माग राख्दा पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।