हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर रुकुम पश्चिममा पनि मनाइएको छ । जिल्लास्थित सामुदायिक तथा संस्थागत विद्यालयमा सरस्वती पूजा गरिएको छ । विद्यालयमा रहेका सरस्वती मन्दिरमा पूजा आराधना सहित प्रसाद ग्रहण गरिएको छ । यसका साथै विद्यालयहरूले अक्षरारम्भ गराउँदै विद्यार्थी भर्ना समेत लिएका छन् । आजको दिन आफ्ना साना बालबालिकालाई अक्षर चिनाउने र विद्यालयमा भर्ना गर्ने गरिन्छ ।
सोही अनुसार विद्यार्थीलाई अक्षरारम्भ सहित केही बालबालिकालाई विद्यालयमा भर्ना गरिएको जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँको यमुना नन्द नमुना माविका प्रधानाध्यापक कमप्रसाद देवकोटाले जानकारी दिनुभयो । आज विद्यालयमा धूमधामका साथ सरस्वती पूजा सहित ४ जना बालबालिकालाई अक्षरारम्भ सहित भर्ना लिने काम भएको उहाँको भनाई छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, नेपाल सरकारका पूर्व सहसचिव भरतकुमार शर्मा, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मदनबहादुर धानुक, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठक, मुसिकोट नगरपालिकाका प्रथम नगर प्रमुख देवीलाल गौतम सहित जिल्लाका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सरस्वती पूजा सम्पन्न भएको बताउनुभयो । त्यस्तै जिल्ला सदरमुकाम सहित जिल्ला भरमा रहेका विद्यालय, शैक्षिक संस्था लगायतले धूमधामका साथ सरस्वती पूजा गरेका छन् ।
भिडिओः