Kakhara सबैको खबर सम्पूर्ण खबर
एचपीभी खोप अभियान आजबाट, रुकुम पश्चिममा १० हजार बढी किशोरीलाई खोप दिइने

आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदै छ । विद्यालय केन्द्रित यो खोप अभियान आज माघ २२ गतेदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकै पटक सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले देशभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर झन्डै १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

यस अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

रुकुम पश्चिममा पनि आजबाट एचपीभी खोप अभियान चल्दै छ । जिल्लाका तीन पालिका मुसिकोट र आठबिसकोट नगरपालिका तथा बाँफिकोट गाउँपालिकामा आजबाट खोप अभियान सञ्चालन हुने छ भने चौरजहारी नगरपालिका तथा सानीभेरी र त्रिवेणी गाउँपालिकामा माघ २७ गतेबाट खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । 

विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाइने उहाँले बताउनुभयो । यो वर्ष पहिलो वर्ष भएकोले कक्षा ६ देखि १० सम्मका किशोरीहरूलाई खोप दिन लागिएको भए पनि अर्को वर्ष देखि भने नियमित रूपमा बर्सेनि कक्षा ६ का छात्राहरूलाई खोप दिइने खड्काले बताउनुभयो । 

जिल्लामा १० हजार १ सय ९३ जना किशोरीहरूलाई खोप दिने लक्ष राखिएको छ । जसमा कक्षा ६ देखि १० सम्मका ९ हजार ९ सय ६० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका २ सय ३३ किशोरीहरू रहेका छन् । खोप कार्यक्रमका लागि १ सय ३१ वटा विद्यालयमा २ सय ७ वटा खोप केन्द्र र ७५ वटा स्वास्थ्य संस्था तोकिएको छ । 

यो कार्यक्रमका लागि जिल्लाभरमा साढे ६ सय जनशक्ति परिचालन गरिने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल जनशक्ति मध्ये २ सय १२ जना स्वास्थ्यकर्मी रहेका छन् भने ४ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू रहेका छन् । नेपालमा हालसम्म १३ प्रकारका नियमित खोप रहेकामा अब एच.पी.भी थपिएसँगै नियमित खोपको सङ्ख्या १४ पुगेको उहाँले बताउनुभयो ।

यो खोप सुरक्षित रहेकोले अनिवार्य रूपमा खोप लगाउन स्वास्थ्य सेवा प्रमुख डाक्टर महेश चौलागाइले आग्रह गर्नुभएको छ । परीक्षणका रूपमा खोप लगाउँदा कसैलाई पनि केही नभएकोले यो खोप सुरक्षित रहेको उहाँको भनाई छ । जिल्लाभरमा यो कार्यक्रमलाई पूर्ण रूपमा सफल पार्न सहयोगका लागि उहाँले सबैमा अपिल समेत गर्नुभएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update