Kakhara सबैको खबर सम्पूर्ण खबर
पापिनी विवाह २०८१ र यसले दिएका सन्देशहरू

भूमिका 
हालको रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ७ को साँख गाउँ मगर खाम भाषाबाट उत्पत्ति भएको मानिन्छ । साँखको अर्थ डाँडाकाँडाको बिचमा खाल्डो अर्थात् समथल ठाउँ भन्ने हुन्छ । यस ठाउँको उत्पत्ति भएसँगै डाँरी गाउँ र झारी गाउँ भन्ने ठाउँमा क्रमशः रमजा र पजंगी जातका जनजातिहरूले बसोबास गरिआएको र उक्त स्थानबाट मानव बस्ती विकास हुने क्रममा दह फेला परेको किंवन्ती छ ।

दहमा प्रतिवर्ष मानिसहरू डुबेर मर्ने क्रम बढ्दै गएपछि त्यहाँका आदिवासीहरू डरले सन्त्रास भइरहेको अवस्थामा एक जना सिमलनाथ बाबाको आगमन भएपछि गाउँका जानमान (जान्ने मान्छे) ले दहबाट गाउँलेले बेहोर्नुपरेकाे क्षतिको विषयमा बाबासँग हेराउँदा उक्त बाबाले यो गाउँको वरिपरि चारैतिर देवीदेवताले बास गरेको र यो दहमा कल्सुर नामका राक्षसले बास गरेका छन्, अन्य देवीदेवतालाई तपाइहरू भोग दिएर शान्ति र खुसी बनाउनुभएको छ, तर राक्षसलाई केही कुनै खुसी बनाउने काम गर्नुभएको छैन, त्यसै कारण यो दहले प्रतिवर्ष मान्छेलाई भोग खाने गरेको छ, यो भोगबाट बच्नलाई तपाइहरूले राक्षसलाई खुसी बनाउने काम गर्नुपर्छ, त्यो काम भनेको प्रतिवर्ष माघ १ गतेबाट १५ गतेसम्म अविवाहित किशोरीहरू थला बस्ने र १५ गते राती नौमती बाजा सहित कन्या कन्या बिचको विवाह उत्सव गरेमा राक्षस खुसी हुन्छन् र जोखिमबाट बच्न सकिन्छ भन्ने उपदेश दिएकाले पापिनी विवाह गर्ने ऐतिहासिक परम्परा रही आएको देखिन्छ ।

शास्त्रीय र विधिवत् अर्थात् विपरीत लिङ्गका बिचमा हुने विवाहलाई वास्तविक विवाह भन्ने गरेको र समलिङ्गीका बिच हुने विवाह राक्षसी विवाह भएकोले यो राक्षसी विवाहको नाम पापिनी विवाह नामकरण गरिआएको देखिन्छ भने उक्त विवाहमा सहभागी हुनेलाई पापिनी भन्दै आइएको छ । कुनै पाप गरेकोले पापिनी भनिएको होइन । परम्परागत जात्रा हाल मेलाको रूपमा परिणत हुँदै गएको छ । उक्त मेला २०७९ भन्दा पहिले सामान्य रूपमा लाग्ने गरेको र हाल उक्त मेलामा देशैभरका व्यापारी आउने गरेको, करोडौँ रुपैयाँको कारोबार हुने गरेको, खेलकुदका कार्यक्रम हुने गरेको, स्थानीय सांस्कृतिक कार्यक्रमहरू लोप हुँदै गएकोमा हाल प्रतिस्पर्धामा चल्ने गरेको र यसले साँखको पहिचानलाई विश्वव्यापीकरण गरेको अवस्था रहेको छ । जसले गर्दा निम्न सन्देशहरू दिएको मैले अनुभूति गरेको छु ।  

१. पापिनी विवाह 
यो विवाह हाम्रो देशका दुर्लभ संस्कार हो । जुन विवाह राक्षसलाई खुसी पार्न मात्रै नभई नेपालकै नयाँ र मौलिक संस्कृति हो भन्ने सन्देश दिएको छ । यसमा महिला प्रधान सर्वेसर्वा महिला हुन्छन् भने विवाहमा दुलहा दुलही मात्र समलिङ्गी (महिला) नभई दुलहा दुलहीका आमा बुवा (सम्धी सम्धिनी) समेत समलिङ्गी हुन्छन् । यसले हामीलाई विश्व सम्पदामा चिनाउने, पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने र प्रवर्द्धन गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै मुसिकोटको नाक–साँख भन्ने भनाइलाई पुष्टि गरिदिएको छ । मुसिकोटको सबै भन्दा नजिक र पर्यटकीय क्षेत्र साँख हो भन्ने कुरा चिनाउन सफल भएको छ । मध्यपहाडी लोकमार्गको वरिपरि रहेका तीर्थ स्मृति पार्क, पिकनिक स्थल, बैरी दह, सानी दह, ठुली दहको सौन्दर्ययतालाई थप गर्न यो विवाहले महत्त्वपूर्ण योगदान गरेको छ । 

युवा गाउँमा समृद्धि भएको, सामाजिक चेतनाको विकास भएको, राजनीतिक विकास भएको आत्मै देखि हेर्न, देख्न चाहन्छन् भन्ने तथ्य पुष्टि हुन्छ भने सबै देश विदेशमा रहेका युवाहरूले गर्ने प्रयोजनले ठुलो सन्देश दिएको छ । युवाहरू परिवर्तनको पक्षमा छन् भन्ने कुरा साबित गरेको छ । 

२. आर्थिक चलायमान 
स्थानीय गाउँको उत्पादनमा थप टेवा पुगेको छ । गाउँमा उत्पादन भएको अर्ग्यानिक तथा घरेलु आलु, बन्दा, काउली, सिमी, बोडी र स्थानीय मकैको ढिँडो, सिस्नो, रायो साग, मारेको साग, तरल पदार्थ, दाउरा तथा भैँसी, राँगा, खसी, कुखुराको मासु लाखौँ रुपैयाँमा बिक्री भएको छ । स्थानीय वस्तुको बिक्री मात्र नभई अन्य बाहिरबाट आउने व्यापारीहरूको घरायसी माल वस्तुहरू सुपथ मूल्यमा बिक्री हुने गरेको छ । जसले गर्दा गाउँको आर्थिक चलायमान हुने र जनजीविकामा समेत परिवर्तन आएको छ । 

yakka-bdr-pandya-1738739723.jpg
एक्कबहादुर पाण्डे ।

३. युवाहरूको गाउँको विकासप्रतिको माया 
देशमा रोजगार नभएको कारण युवाहरू बिदेसिनु देशकै ठुलो विडम्बना छ । आम युवाहरू गाउँमै रहेको भए वा हुने भए गाउँ छिट्टै कायापलट अर्थात् गाउँ सहर (बजारीकरण)मा, उत्पादनमा, व्यवसायीकरणमा रूपान्तरण हुन्थ्यो होला । तर देश बनाउने शासन व्यवस्था श्रमजीवीहरूको हातमा नभएको कारण हाम्रो जस्तो सुन्दर देश पछाडि परेको छ । गाउँ पछाडि परेको अवस्था हुँदा हुँदै पनि गाउँको संस्कृति परम्परा र गाउँलाई हराभरा बनाउनको निमित्त आफ्नो श्रम पसिनाबाट आर्ज्याकाे केही आय प्रायोजन गरी गाउँको संस्कृति तथा पर्यटकीय विकासमा युवाहरूबाट भएको योगदानले युवा गाउँमा समृद्धि भएको, सामाजिक चेतनाको विकास भएको, राजनीतिक विकास भएको आत्मै देखि हेर्न, देख्न चाहन्छन् भन्ने तथ्य पुष्टि हुन्छ भने सबै देश विदेशमा रहेका युवाहरूले गर्ने प्रयोजनले ठुलो सन्देश दिएको छ । युवाहरू परिवर्तनको पक्षमा छन् भन्ने कुरा साबित गरेको छ । 

हाम्रो समाज अझै सामन्तवादी चिन्तनले ग्रस्त छ । जसले गाउँको उन्नति प्रगति र समृद्धि चाहँदैन । सधैँ गाउँ समाजलाई यथास्थितिमा राख्न चाहन्छन् । समाजमा चेतनाको विकास गर्ने योजना छैन । भौतिक विकास गर्ने योजना छैन । विकास गर्न चाहेमा वा कसैले गर्न खोजेमा खुट्टा तान्ने प्रवृत्ति देखा पर्छ । यथास्थितिवादी र संकिर्णवादी विचार र सोचलाई निषेध गर्नुपर्छ भन्ने सन्देश यो विवाहले दिएको छ । 

४. आन्तरिक राष्ट्रियतामा फेरबदल 
हाम्रो देश, गाउँ समाज बहु जाती, भाषा, धर्मको हो । हामीले सबै प्रकारका सामाजिक अन्तर्विरोध, जातीय अन्तर्विरोध, क्षेत्रीय अन्तर्विरोध लगायतका अन्तर्विरोध सकारात्मक तरिकाले हल गर्न सकेनौँ भने, एक वर्ग, क्षेत्र र जातीले मात्र शासन गरी अरूको अस्तित्व र सहअस्तित्व स्वीकार गर्न सकेनौँ भने आन्तरिक राष्ट्रियतामा कमजोरीपना देखा पर्ने गर्छ । यस विवाहले कुनै जाती क्षेत्रको मात्र विवाह नभई आम साँखवासीको विवाह हो, मुसिकोटवासीको विवाह हो, साँखलाई सांस्कृतिक विकास, पर्यटन प्रवर्द्धन गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको छ । सबै वर्ग, क्षेत्र र आदिवासीबाट एकताको प्रतिफल नै विकास हो भन्ने विधि आन्तरिक राष्ट्रियता नै हो, फुटाऊ र राजनीति गर भन्ने यथास्थितिवादीहरूको गैर चिन्तनमा पर्दा लगाई राष्ट्रियतामा फेरबदल ल्याउन, दरार पैदा गर्न खोजेता पनि मेला सफल बनाउनुले व्यवहारतः आन्तरिक राष्ट्रियता मजबुत छ भन्ने पुष्टि गरेको छ । 

५. सङ्कीर्ण र महत्त्वाकाङ्क्षी चिन्तनको निषेध, क्रान्तिकारी विचारको विकास 
समाजको चालक शक्ति भनेको नेतृत्व र नेता हो । गाउँको विकास गर्न सही र वैज्ञानिक योजना आवश्यक छ । विचार विकास समय सापेक्ष लागू हुन्छ । सही योजना र विचार भएन भने त्यसले विकास गर्न सक्दैन । हाम्रो समाज अझै सामन्तवादी चिन्तनले ग्रस्त छ । जसले गाउँको उन्नति प्रगति र समृद्धि चाहँदैन । सधैँ गाउँ समाजलाई यथास्थितिमा राख्न चाहन्छन् । समाजमा चेतनाको विकास गर्ने योजना छैन । भौतिक विकास गर्ने योजना छैन । विकास गर्न चाहेमा वा कसैले गर्न खोजेमा खुट्टा तान्ने प्रवृत्ति देखा पर्छ । पानीको मुहान मेरो मात्र हो, जङ्गल मेरो मात्र हो, बाटो मेरो जग्गामा खन्न हुन्न, अरूको जग्गा मिचेर मात्र बाटो बनाउनुपर्छ, पानी अरूले पिउनु हुन्न, सिँचाई अरूले गर्नुहुन्न भन्ने खालका नकारात्मक र रैथाने नकारात्मक विचार, प्रवृत्ति धेरै मात्रामा गाउँमा देखिन्छन् । यी यथास्थितिवादी र संकिर्णवादी विचार र सोचलाई निषेध गर्नुपर्छ भन्ने सन्देश यो विवाहले दिएको छ । 

अन्त्यमा, पापिनी विवाहले साझा भावना र एकताको विकास गरेको छ । यो हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण र विकास गर्नुपर्छ भन्नेमा गाउँले एक मत छन् । मेला मार्फत गाउँमा दबेर रहेका कला संस्कृतिहरू उजागर भएका छन् । मेलाको प्रवर्द्धनका लागि वडा सरकार गम्भीर छ । मेलाको विकास सँगसँगै गाउँलाई समृद्ध बनाउने प्रक्रियामा वडा सरकार प्रतिबद्ध छ । मेलाको प्रचारप्रसार देखि व्यवस्थापनमा वडाले स्थानीय सरकार बने देखि नै मुख्य भूमिका खेल्दै आएको छ । शान्ति सुरक्षाको पाटोलाई समेत वडाले गम्भीरतापूर्वक लिएकोले हालसम्म मेलामा खासै अप्रिय घटनाहरू भएका छैनन् भने मेला बर्सेनि झन् भव्य बन्दै गएको छ । हाम्रा संस्कार बचाउनु हाम्रै दायित्व हो भन्ने सोचबाट सबै अघि बढेमा मेला संरक्षण सहित जिल्लाकै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन सकिन्छ । 

लेखकः मुसिकाेट नगरपालिका वडा नम्बर ७ काे वडाध्यक्ष हुनुहुन्छ । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update