रुकुम पूर्वका दुई युवक सुर्खेतमा झोलुङ्गे पुल निर्माणका क्रममा भेरी नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिनुभयो ।
सुर्खेतको बराहताल गाउँपालिका–४, कुटा र पञ्चपुरी नगरपालिका–१४, जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम गर्दै गरेका अनिल र अर्जुन भेरी नदीमा खसेर बेपत्ता भएको उहाँले बताउनुभयो ।
आज दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा उनीहरू नदीमा खसेको डाँगीले बताउनुभयो । नदीमा खसेपछि दुई युवक बेपत्ता भएको खबर आएपछि बाबियाचौरबाट प्रहरी घटनास्थल पुगेको र अहिले खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिनुभयो ।