Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट जटिल शल्यक्रिया भएकी सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार 
सीतालाई हेलिकप्टर मार्फत सुर्खेत लगिँदै ।

रुकुम पश्चिमबाट एक सुत्केरी महिलालाई थप उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत लगिएको छ । जिल्लाको चौरजहारी नगरपालिका ६ की २८ बर्सिया सीता बुढालाई सल्लेबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो । सीताको माघ २१ गते जिल्ला अस्पतालमा जटिल खालको शल्यक्रिया भएको थियो । 

बच्चा जन्माउन नसकेपछि जटिल खालको अप्रेसन गरेकामा बच्चा भने पेटमा मृत फेला परेको थियो । त्यस क्रममा अत्यधिक रक्तस्राव भएको र जुनसुकै बेला आइसियुको आवश्यकता पर्न सक्ने भएकोले हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको जिल्ला अस्पतालका महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर केहलबिक्रम जिसीले जानकारी दिनुभयो । 

थप उपचारको आवश्यकता देखिएपछि जिल्ला अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई हेलिकप्टरका लागि आग्रह गरेकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर आएर सीताको उद्धार गरेको उहाँले बताउनुभयो । सीताको अवस्था चिन्ताजनक भने नभएको उहाँले बताउनुभयो । 

सीताको पेटमा छोरी रहेको र उनको पेटमै मृत्यु भएको अस्पतालले जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत जिल्लाबाट ठुलो संख्यामा बर्सेनि जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update