रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको १२ औँ अधिवेशन सम्पन्न भएको छ । बुधवार गाउँपालिकाको कार्यालय खारानेटाको सभा हलमा १२ औँ अधिवेशन तथा अर्धवार्षिक समीक्षात्मक कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले गत साउन १ गतदेखि पुस मसान्तसम्म पालिकामा भए गरेका प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो । पालिकामा भएको विकास निर्माणको अवस्था, बजेट कार्यान्वयनको अवस्था, राजस्व सङ्कलनको अवस्था, अव बाँकी गर्नुपर्ने कामको अवस्था लगायतको बारेमा जानकारी बनाउनुभएको थियो । त्यस्तै पालिकाका विषयगत शाखाले ६ महिनाको अवधिमा गरेका गतिविधि लगायतका विषयमा पनि प्रमुख प्रशासकीय अधिकृत भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।
पहिलो आवश्यकता सडक सञ्चालनको रहेकाले सोही अनुसार काम गरिरहेको गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले बताउनुभयो । त्यस्तै स्वास्थ्य, शिक्षा, सिँचाइको काम पनि निरन्तर पालिकाले अगाडी बढाइरहेको पालिका अध्यक्ष केसीले बताउनुभयो । विकासका निर्माणका आधारभूत आवश्यकताहरू पुरा गर्दै गएको विषय उल्लेख गर्दै विषयगत शाखाहरू पनि यसमा लागि रहेको गाउँपालिका अध्यक्ष केसीको भनाई थियो ।
स्थानीय सरकार सञ्चालन गर्दै गर्दा धेरै केही काम गर्न अप्ठ्यारो भए पनि स्थानीय तहले धेरै राम्रा कामहरू गरिरहेको प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमले बताउनुभयो । सडक स्तरउन्नतिलाई जोड दिनुपर्ने, सिकेका कुरा आत्मसात् गर्दै विकास निर्माणका योजनाहरूलाई कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो । सङ्घीयता पछि स्थानीय तहबाट चौगुना काम भएको पनि उहाँको भनाई थियो । ‘‘पूर्वाधारको हिसाबले विकासले गति लिएको छ, विपत्को बेलामा स्थानीय सरकारको झन् बढी महत्त्व हुने गरेको छ’’ उहाँले भन्नुभयो । स्थानीय तहले प्रभावकारी रूपले काम गरिरहेको उल्लेख गर्दै अपुरा योजनालाई पुरा गर्ने तर्फ ध्यान दिनुपर्ने प्रमुख गौतमको भनाइ थियो ।
त्यस्तै विशेष अतिथि जिल्ला समन्वय समिति उप प्रमुख देवबहादुर विकले स्थानीय सरकारको औचित्य पुष्टि हुँदै गएको बताउनुभयो । स्थानीय तह निर्माण पश्चात् जनताका हरेक सुख दुःखमा स्थानीय सरकार नै प्रत्यक्ष जोडिने भएकाले स्थानीय सरकार गरेको कामको जनताले प्रत्याभूत गर्न पाएको उहाँको भनाई थियो । स्थानीय सरकार र जनताको सम्बन्ध थप मजबुत बनाउन आफ्नो ठाउँबाट स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले यता तर्फ ध्यान दिएर लाग्नुपर्ने उहाँको भनाई थियो । स्थानीय सरकार सञ्चालन भए पश्चात् जनताले प्रत्यक्ष लाभ प्राप्त गरिरहेको कुरा उल्लेख गर्दै जनता सँग प्रत्यक्ष जोडिएका विषयलाई पहिलो प्राथमिकता राखेर स्थानीय सरकारले काम गर्नु पर्ने उप प्रमुख विकको भनाई थियो ।
गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला समन्वय समिति प्रमुख गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै समन्वय उप प्रमुख विक, गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, पूर्व गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्का, राजनीतिक दलका प्रमुख, पूर्व वडा अध्यक्ष, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत भण्डारीले गर्नुभएको थियो ।