Kakhara सबैको खबर सम्पूर्ण खबर
भेडाको शिला संरक्षण तथा शिव मन्दिर निर्माणका लागि छिनखेतमा महायज्ञ आयोजना 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा धार्मिक महायज्ञ हुने भएको छ । भेडाको शिला संरक्षण तथा शिव मन्दिर निर्माणका लागि छिनखेतमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवं शृङगारीक महाआरती महायज्ञ हुने भएको हो । भेडा शिला संरक्षण एवं नयाँ शिव मन्दिर छिनखेतले महायज्ञको आयोजना गरेको हो । 

महायज्ञ छिनखेत बसपार्कमा भोलीबाट सुरु हुने आयोजक समितिका सचिव रतन शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञ भोलीबाट सुरु भई फागुन २ गतेसम्म ९ दिन चल्ने छ । महायज्ञबाट सङ्कलन भएको रकमले भेडाखेतमा रहेको भेडा आकारको शिलालाई संरक्षण गर्ने, शिव मन्दिर निर्माण गर्ने र मन्दिरमा नन्दिको मूर्ति समेत राख्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । 

महायज्ञमा प्रमुख कथा वाचकका रूपमा बुद्धिसागर भण्डारी र सहायक कथा वाचकका रूपमा पुरुषोत्तम भट्टराई रहने सचिव शाहीको भनाई छ । साथै महायज्ञ अवधिभर राष्ट्रिय स्तरका कलाकारले भजन कीर्तन गर्ने बताइएको छ । यसका साथै महायज्ञमा १०८ कलश समेत राखिने छ । महायज्ञको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्ने आयोजकले जनाएको छ । महायज्ञमा उपस्थितिका लागि आयोजकले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update