Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ८ मा श्रमदानबाट काठे पुल निर्माण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ लसुनबारीकाे दरखाेलामा काठे पुल निर्माण गरिएको छ । नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका ८ नम्बर वडा समितिको नेतृत्वमा स्थानीयको श्रमदानबाट पुल निर्माण गरिएको हो ।

पुल निर्माणका लागि लसुनबारी, पाखापानी, दरखोला, खल्टाखुरी लगायत टोलवासीले प्रतिघर १ हजार रुपैयाँ देखि १२ हजार १ सय उनासी रुपैयाँसम्म गरी ४१ हजार १ सय ८ रुपैयाँ नगद सहयोग गरेका थिए । त्यस्तै १ दिन देखी ६ दिन सम्म गर्दा ६८ दिन श्रमदान गरेर काठे पुल निर्माण गरिएको हो ।

पुलको बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । मुसिकोट नगरपालिकाका पूर्व नगर प्रमुख देवीलाल गौतम र माओवादी केन्द्र मुसिकोट नगर समितिका अध्यक्ष दलबहादुर खडकाले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो ।

पुल निर्माणका लागि कतैबाट पहल नभएपछि स्थानीयको आर्थिक सहयोग र श्रमदानबाट पुल निर्माण गरिएको पुल निर्माणको नेतृत्वकर्ता तथा नेकपा माओवादी केन्द्र मुसिकोट नगर समिति सदस्य लोकबहादुर बुढाले जानकी दिनुभयो । 

जनताको दैनिक जीवनमा सहजता ल्याउन पुल निर्माण गरिएको उहाँले बताउनुभयो । खोलामा पुल नहुँदा बर्खायाममा स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको थियो ।

पुल निर्माणले स्थानीयलाई आवतजावत तथा विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न सहज हुने नेकपा माओवादी केन्द्र मुसिकोट ८ का अध्यक्ष बालकृष्ण रावलले जानकारी गराउनुभयो । पार्टीले नेतृत्व गरेर पुल निर्माणका लागि स्थानीयलाई अनुरोध गरेको स्थानीय स्वतःस्फूर्त रूपमा पुल निर्माणमा जोडिएको उहाँको भनाइ छ ।

पुल निर्माण गरेर गाउँ विकासको उत्कृष्ट नमुना प्रस्तुत गरेको भन्द‌ै पूर्व नगर प्रमुख गौतमले धन्यवाद दिनुभयो । जन जीविकासँग प्रत्यक्ष जोडिएका यस्ता विकास निर्माणका काम सरकारले गर्नुपर्ने भए पनि स्थानीयले नै गरेर सरकारलाई दह्रो जवाफ दिएको उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र मुसिकोटका अध्यक्ष खड्काले जनताले चाहे भने ठुल ठुला विकास निर्माणका काम आफै गर्न सक्छन् भन्ने सन्देश गएको बताउनुभयो । सरकारले जनताका आवश्यकता पूरा गर्न नगर्दा जनता आफै निर्माणमा जुटेको देख्दा खुसी लागेको उहाँको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update