रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले बढ्दै गएको कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा शिक्षकहरुलाई परिचालन गर्ने भएको छ । विद्यालय बन्द रहेको तथा अन्य कुनै पनि शैक्षिक गतिविधि नभइरहेको अवस्थामा शिक्षकहरु जो जहाँ छ त्यहीबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खट्नुपर्ने भएको हो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आवश्यक सहयोग तथा परिचालन सम्बन्धमा एक सूचना जारी गर्दै विद्यालयका शिक्षक र कर्मचारीलाई यसमा खट्न भनेको हो । शाखा प्रमुख विनाराम खड्काले जारी गर्नुभएको सूचनामा मुसीकोट नगरपालिकाका कार्यरत रही यही नगरपालिकामा बसोबास गरिरहनु भएका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीलाई सम्बन्धित वडा तथा क्षेत्रमा कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सघाउन भनिएको छ ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा मुसीकोट नगरपालिका, स्वास्थ्य सेवा कार्यालय तथा वडा कार्यालयमा भइरहेको सबै काममा सघाउन आग्रह उक्त सूचनामा गरिएको छ । आफू सुरक्षित रही विद्यालय रहेको क्षेत्र, टोल छिमेक, बालबालिका अभिभावक लगायत आम नागरिकलाई जनस्वास्थ्यका मापदण्ड पालना गरी/गराई कोरोनबाट सुरक्षित रहन तथा राख्ने कार्यमा सघाउ पुर्याउन शिक्षक, कर्मचारी लगायतलाई आग्रह गरिएको अधिकृत खड्काले बताउनुभयो ।
राज्य कोषबाट सेवा सुविधा लिनेहरु फुर्सदमा रहेकाले पनि महामारीमा सघाउन भनिएको नगरपालिकाले जनाएको छ । आफू, परिवारलाई सुरक्षित राख्दै अरुलाई सकेको सहयोग गर्दा कोरोना महामारी रोकथाम, नियन्त्रण तथा यसको उपचारमा समेत सहयोग पुग्ने भएपछि विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीलाई समेत परिचालन गर्ने निर्णय भएको नगरप्रमुख देविलाल गौतमले बताउनुभयो । विद्यालय खुलेर नियमित पठन पाठन नभए सम्म यसैगरी काम गर्न भनिएको नगरप्रमुख गौतमले जानकारी दिनुभयाे ।