
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ८ की एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । स्यालाडेराकी २१ बर्सिया जमुना बिक घरमुनिको सालघारीमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । अनलाइन ठगीमा परेपछि उनले आत्महत्या गरेको अनुमान गरिएको छ । सामाजिक सञ्जाल मार्फत चिट्ठा परेको छ भन्दै एक व्यक्तिले उनीबाट ठुलो रकम असुल गरेको देखिएको छ । १० लाखकाे चिट्ठा परेकाे छ त्यसका लागि सुरुमा केही रकम जम्मा गर्नुपर्छ भनेर जमुनाबाट एक व्यक्तिले करिब ३ लाख रकम असुलेकाे पाइएकाे छ ।
जमुनाले बिहीबार मात्र सिम्ली बजारमा गएर एक व्यक्तिकाे नाममा (उक्त व्यक्तिकाे नाम थाहा भएकाे तर अनुसन्धानमा असर नपराेस भनेर गाेप्य राखिएकाे) नाममा ज्योति विकास बैङ्कमा रहेको खातामा क्युआर मार्फत ४५ हजार रुपैयाँ पठाएको देखिएको छ । केही दिन अघि मात्र जमुनाले उक्त खातामै ८५ हजार रकम राखेको पाइएको पत्रकार नारायण ओलीले जानकारी गराउनुभयाे । सिम्ली बजारमा रहेको एक मोबाइल पसलबाट दाइलाई पठाउनु छ भन्दै जमुनाले पैसा हाल्न लगाएको देखिएको छ । यो बाहेक पनि जमुनाले पैसा पठाएको हुन सक्ने अनुमान गरिएको छ ।
आफूलाई १० लाखको चिट्ठा परेको र उक्त पैसा पाउनका लागि सुरुमा केही रकम पठाउनुपर्ने भन्दै जमुनाले सासू ससुराबाट समेत पैसा मागेको पाइएको छ । तर सासू ससुराले भने पैसा दिएनन् । उनले आफ्ना गरगहना बेच्नुका साथै आफूसंग भएकाे र सरसापट गरेर समेत ३ लाख जति पठाइदिएकाे अनुमान गरिएको छ । पैसा हाल्नकै लागि जमुना बिहीबार तीन वर्षीय छोरालाई घरमै छाडेर सिम्ली बजार पुगेकी थिइन ।
ठगले आज अन्तिम पटक हो यो पैसा हाल्नुभयो भने तपाइले जितेको पैसा आउँछ भन्दै फकाएको र जमुनाले पैसा राख्ने बित्तिकै उक्त व्यक्तिले जमुनालाई ब्लक गरेपछि बल्ल जमुनाले आफू ठगीमा परेको थाहा पाएकी थिइन । त्यसपछि जमुनाले भारतमा रहेका श्रीमान् विनोद विकलाई फोन गरेर आफू ठगिएको बारेमा जानकारी गराउँदै म मर्छु, छोरालाई राम्ररी पाल्नुहोला भनेर फोन राखी मोबाइल स्विच अफ गरेर सम्पर्क विहीन भएकाे परिवारलाई उद्धृत गर्दै पत्रकार ओलीले बताउनुभयो ।
त्यसपछि भारतमा रहेका श्रीमानले घरमा फोन गर्दै घटनाबारे जानकारी गराएका थिए । लगत्तै परिवारका सदस्यले खोजी सुरु गरेका थिए । उनी त्यसपछि कता गइन भन्ने कसैलाई थाहा हुन सकेन । शुक्रवार बिहान भने उनी घरमुनि तिरको सालघारीमा आफ्नै सलले पासो लगाएको अवस्थामा फेला परिन । ठगीकाे पीडा सहन नसकेर जमुनाले आत्महत्या गरेकाे देखिएकाे छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले घटनाबारे जानकारी आएको र अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको बताउनुभयो । अहिले विभिन्न हल्ला सुनिएको तर आत्महत्याको कारण भने अनुसन्धानबाट खुल्ने उहाँले बताउनुभयो ।
पछिल्लो समय सामाजिक सञ्जाल विशेष गरी वाट्सएपबाट ठगीका घटना बढेका छन् । अपरित व्यक्तिबाट तपाईँलाई लाखौँको चिट्ठा पर्यो तर त्यसका लागि तपाईँले सुरुमा केही पैसा जम्मा गर्नुपर्छ त्यसपछि तपाईँले जितेको पैसा पठाउँछु भन्दै सोझासाझाबाट लाखौँ रकम ठग्ने गिरोह सक्रिय रहेको छ । ठगीमा परेका केही आत्महत्या गर्नसम्म बाध्य भएका छन् ।