
हाम्रो सरोकार रुकुम पश्चिमले पापिनी मेलाको आयव्यय सार्वजनिक गरेको छ । आज जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखमा लागेको पापिनी मेलाको आयोजक हाम्रो सरकार रुकुमले आयव्यय सार्वजनिक गरेको हो । मेलामा १२ लाख ५१ हजार ७ सय ७९ रुपैयाँको कारोबार भएको हाम्रो सरकार रुकुमका परिकल्पनाकार मनोज विकले बताउनुभयो ।
उहाँका अनुसार संस्थाले १ लाख ९८ हजार ८ सय २९ रुपैयाँ बचत गरेको छ । मेलामा आम्दानी तर्फ स्टल बुकिङबाट २ लाख २४ हजार ७ सय, काठे पिङबाट १६ हजार २ सय, फलामको पिङबाट ६ हजार, मेलामा संचालन भएका विभिन्न खेलबाट १ लाख २४ हजार, खुद्रा पसलबाट ३३ हजार ५ सय ५०, क्यामेरा शुल्कबाट २ हजार ५ सय, प्रायोजनबाट ५ लाख ५७ हजार ५०९ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै पुरुष भलिबल टिम दर्ता शुल्कबाट ८० हजार, महिला भलिबल दर्ता शुल्कबाट ७ हजार ५ सय र वडा कार्यालयले गरेको सहयोग बापत २ लाख रुपैयाँ गरेर कुल १२ लाख ५१ हजार ७ सय ७९ रुपैयाँ आम्दानी भएको परिकल्पनाकार विकले बताउनुभयो ।
खर्चतर्फ प्रचारप्रसार ४९ हजार, विद्युत वाइरिङमा ३८ हजार ९ सय ६०, भौतिक निर्माणमा १ लाख २२ हजार २ सय ८०, स्टेसनरी तथा छपाइमा ५२ हजार १ सय ११, खेलकुद सामग्री खरिदमा १ लाख ४४ हजार ८ सय ८० रुपैयाँ खर्च भएको छ । त्यस्तैगरी मेस व्यवस्थापन तथा खाजा नास्तामा १ लाख २७ हजार ७ सय १०, सुरक्षा व्यवस्थापन खर्चमा २६ हजार ३ सय ८०, जग्गा व्यवस्थापनमा ३१ हजार, सांस्कृतिक पुरस्कारमा ११ हजार, खेलकुद पुरस्कारमा १ लाख ८२ हजार २ सय ५०, रेफ्री खर्च ६३ हजार ५ सय, खेल प्रशिक्षण ५४ हजार ४ सय ५० रुपैयाँ खर्च भएको परिकल्पनाकार विकले बताउनुभयो ।
स्वास्थ्य सामग्रीमा ४ हजार २ सय, विविधमा ४२ हजार २ सय १ गरेर कुल १० लाख ५२ हजार ९ सय ३० रुपैयाँ खर्च भएको आयोजक हाम्रो सरकोर रुकुम पश्चिमले जनाएको । बचत भएको १ लाख ९८ हजार ८ सय २९ रुपैयाँ सामाजिक कार्यमा लगानी गर्ने समेत संस्थाले प्रतिवद्धता जनाएको छ । परम्परागत रुपमा लाग्दै आएको पापिनी मेला यस वर्ष माघ १० गतेबाट सुरु भएर माघ १८ गते सकिएको थियो ।
७ नम्बर वडा अध्यक्ष एक्कबहादुर पाण्डेको अध्यक्षमा भएको कार्यक्रममा, नेकपा माओवादी केन्द्र मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का, पत्रकार महासंघका अध्यक्ष गोपालप्रसाद रेग्मी, अन्य पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन हाम्रो सरोकारका महासचिव प्रकाश विकले गर्नुभएको थियो ।