Kakhara सबैको खबर सम्पूर्ण खबर
माघीमा अरु त्रिवेणीतिर आफू तीनबैनीतिर

संस्मरण सुरू गर्नुभन्दा पहिले मुसीकोटवासीलाई मेरो एउटा प्रश्नः मुसीकोटको सर्वोच्च शिखर कुन होला ? 

पास गर्नुभयो ? उसोभए यी ती प्रश्नहरूमध्ये कुनै एकको जवाफ दिनुहोस् । मुसीकोटको सबैभन्दा ठुलो ताल कुन हो ? मुसीकोटको सबैभन्दा ठुलो गुफा कुन हो ? मुसीकोटको सबैभन्दा लामो झरना कुन हो ?
कतिवटा प्रश्नको जवाफ दिन सक्नुभयो ? अधिकांश मुसीकोटवासीसँग माथिको कुनै एउटा प्रश्नको जवाफ पनि नहुनसक्छ । कतै सरकारी वा गैरसरकारी दस्तावेजमा लेखिएको भए पो थाहा होस् ! कसैले भनेको भए वा कतै सुनेको भए पो थाहा होस् ! पर्यटन विकासको कुरामा भने सबैलाई उछिन्छौँ ।

हुन त अहिले यी सामान्य कुराहरू थाहा पाउन कुनै समाचार वा लेख वा गुगल वा एआइलाई गुहारे पुगिहाल्छ । तर ती स्रोतहरू पनि अर्को स्रोतमा निर्भर रहन्छन् । कसैले भुलवश् केही लेखिदियो भने आँखा चिम्लेर त्यही कपिपेस्ट गरेर जान्ने कहलिन माहिर छ आजको प्रविधिमूलक दुनियाँ । मूल कुरो र चुरो त स्थलगत अध्ययन नगरी थाहा हुँदैन ।

माघे सक्रान्ति नजिकिँदै थियो, बुढापाकाहरू तरुल, फर्सी आदिको जोहो गर्दै थिए । महिलाहरू घरघरमा कुन त्रिवेणीमा नुहाउने भनी छलफल गर्दै थिए । युवायुवतीहरू साँखमा चल्ने पापिनी मेला महोत्सवमा पुग्न सकसकाउँदै थिए । हामीहरूले भने योजना बुन्यौँ तीनबैनी लेक घुम्दै माघे सङ्क्रान्ति मनाउने । 

मलाई दुई बिसौनीको बाटोमा गाडी चढेर अहङ्कारले बाढी बनेका कवाडीवालाहरूलाई एउटा सिङ्गै गैँडा भाडा चढाउनुभन्दा गोडा खियाएरै डाँडाकाँडा डुल्न नै मज्जा आउँछ । तसर्थ सोलाबाङबाट बिहानै पुराना बाटोको डोब खोज्दै वनडेरा हुँदै बोहरागाउँको उकालोतिर लाग्छु । सोलाबाङबाट नागबेली हुँदै मुसीकोटतिर उक्लिएको छ पक्की सडक । सडकले अरू विकासका पूर्वाधारहरू पनि थपेको छ । बजार नजिकै छ । नुन बेसाउन हटारी बन्नुपरेको छैन । सबै सामान सस्तिएका छन् । अरू सेवाहरू दिन सरकार घर नजिकै छ । म आफूलाई भाग्यमानी उपभोक्ता ठान्दै अगाडि बढ्छु ।

अलिकति माथि पुग्छु । औँला बिसौनाको माथिपट्टि पोखरी नाउको बिसौनीको छेउमा रहेको एउटा नलधाराको अस्थिपञ्जर मात्र बाँकी छ । न पोखरी छ, न बिसौना । बिसौनीमा पोतेको सिमेन्ट उप्किसकेको छ, गारो भत्किसकेको छ । सायद १०/१५ वर्षपहिले १०/१५ लाख खर्च गरेर निर्माण गरिएथ्यो होला यो संरचना । 

उकालोले थकित पनि भएको र ढिला पनि भइरहेकोले गाडी पाइएला कि भनी म सडक खोज्दै बोहरागाउँपट्टि मोडिन्छु । उहिल्यै बोहराहरूको गाउँ मैले थाहा पाउँदा मगरगाउँ बनेको थियो । सुनिन्छ अब यहाँका मगरहरू पनि विस्थापित भइसके । बोहरागाउँबाट अलिकति माथि उक्लिएर चारैतिर हेर्छु । अनेकौँ पहाड, जङ्गल. खोलानाला, बस्तीहरू परपरसम्म फैलिएका छन् ।

पारिपट्टि मध्यपहाडी सडक पूर्वपश्चिम बत्तिएको छ । अर्को सडक सेरीगाउँ कोलटाकुरा हुँदै छेरातिर झरेको छ, जसलाई पक्की तुल्याउन दुलही सिँगारेझैँ सिँगारिँदै छ । सेरीगाउँको पुछारदेखि शिरैसम्म सडकै सडकहरू खनिएको देखिन्छ । पक्की सडकभन्दा ट्रयाक खोलिएका आला सडकहरू तलमाथि सलबलाइरहेका दखिन्छन् ।

हामीकहाँ आइपुगेको विकास कच्ची सडकमा हिड्दैन । पक्की सडकहरू छानीछानी कुद्छ । ट्रयाक नखोलिएको कुनै ठाउँ नै छैन । तर प्रयोगमा आउनेखालका भने विरलै मात्र छन् । पहिलेपहिले झारा लगाएर विस्तारित गरिएका पुराना बाटाहरू बिस्तुरिँदै छन्, नामेट हुँदै छन् । 

अलि माथि उक्लिन्छु । यहाँ माथि कोट दरबारको भग्नावशेष रहेको ठाउँ छ । यहाँ इतिहास खोज्न र पार्कमा मनोरञ्जनार्थ फाट्टफुट्ट मान्छेहरू आउँछन् । केही शताब्दीअघि कुप्रिकोटमा रहेका एक राजाकी भण्डार्नी मुसीले पात टिप्न यहाँ आइपुग्दा अलि फराकिलो ठाउँ देखेको र उनले राजालाई यो कुरा बिन्ती चढाएपछि ती राजा आफै आई हेर्दा विश्वस्त भएकोले यहाँ बसाइसराइ गर्नुको साथै आफ्नो कर्मचारीदेखि खुसी भई मुसीकै नामबाट यस राज्यको नामाकरण गरिएको भन्ने किम्बदन्ती छ । पछि बनाइएको कपोलकल्पित दन्त्यकथालाई आधार मानेर स्थानीय सरकार गजक्क छ । यससम्बन्धी ऐतिहासिक अभिलेख कतै भेटिँदैन र सांस्कृतिक तथा सामाजिक अभिलेखहरू सिर्जना गर्न पनि ऊ उदासिन देखिन्छ ।

मास्तिर मुसीकोट पार्क छ, जुन केन्द्रीय सरकारदेखि स्थानीय सरकारसम्मले हालेको बजेटले हालसम्म जोगिएको छ । वर्षेनी बजेट हाल्न छोडे त्यो पनि पुरानै कोटमा फर्कन बेर लाग्ने छैन ।
तेर्सैतेर्सो अलिकति पर पुग्छु । उत्तरपट्टि मुसीकोट बजार पाखैभरि छरिएको देखिन्छ । त्यो अझै विस्तृत हुने क्रममा छ । दक्षिणतिर पनि त्रिवेणी गाउँपालिकाको अधिकांश भूभाग देखिन्छ । हाम्रो आजको गन्तव्य तीनबैनी लेक सुदूरपूर्वपट्टि अलिअलि देखिन थालेको छ । 

कोटभन्दा अलिकति अगाडिको ठानागाउँमा पुग्छु । पारिपट्टिको दृश्यमा मात्र आँखा गाड्दै अघि बढ्दा जिर्ण बन्दै गएको एउटा भवनले छेक्दछ । वर्षौँदेखि सबै सटरहरू बन्द भएको त्यस भवनको भित्तामा साबुन उद्योग लेखिएको छ । यस उद्योगमा लाखौँ लगानी गरिएको सुनिन्छ । 

अलिकति पर पुगेपछि चाँपा नाउको ठाउँ भेटिन्छ । धेरैपहिले यहाँ चाँप र उत्तिसका अजङका रुखहरूको घनघोर जङ्गलजस्तो देखिन्थ्यो, जहाँबाट सानो खोला नै निस्कन्थ्यो र जुम्ल्याहा ढुङ्गेधाराबाट ठुलो पोखरीमा खस्दथ्यो । त्यसको अब नामोनिशान बाँकी छैन । त्यहाँ ११७ रोपनीमा फैलिएको तरकारी बिउ उत्पादन केन्द्र नामको सरकारी कार्यालय छ । यहाँ सुरुसुरुमा प्रशस्त तरकारीहरू र तरकारीको बिउ उत्पादन हुने गर्दथ्यो । अहिले प्रायः धान वा गहुँ बाली लगाइएको हुन्छ, नत्र बाँझै रहेको देखिन्छ । 

रुकुमतिरबाट हेर्दा समान उचाइका ३ वटा चुचुराहरू लहरै देखिने भएकोले यसलाई तीनबहिनी लेक भनिएको हो । रोल्पाबाट हेर्दा भने उस्तै उचाइका ९ वटा चुचुराहर लहरै उभिएको देखिने भएकोले यसैलाई नौबहिनी लेक भनिन्छ ।

चाँफाबाट अझै मास्तिर लाग्छु । सडकको छेउमै झारपातले पुरिएका सानासाना २/३ वटा मन्दिरहरू लहरै देखिन्छन् । यी मन्दिरहरू पनि केही दशकअघि पाँच/दश लाखको लागतमा निर्माण भए होलान् । न त्यहाँ पूजा गर्न कोही आएको सङ्केत छ, न त सरसफाइ र मर्मत सम्भार नै भएको देखिन्छ । 

tinbahini-lek-1738981207.jpg
अझै पर पुग्छु । राप्ती लोकमार्ग र मध्यपहाडी लोकमार्ग भेट हुने स्थलमा शीतलपोखरी नाउँको सानो बजार भेटिन्छ । बजारको दक्षिणपट्टि पोखरीको नवनिर्मित संरचना देखिन्छ । दुईचार वर्षअघि ठुलो बजेट खर्च गरेर झकिझकाउ तुल्याइएको त्यो संरचना पनि अहिले झारले पुरिएर भत्किन थालेको देखिन्छ । बरु पहिलेको प्राकृतिक पोखरीमा पानी भरिएको हुन्थ्यो, अहिले एउटा कुनामा पानीको सानो खोबिल्टो मात्र देखिन्छ । 

त्यसको माथिपट्टि पहिले बैशाखे पूर्णिमाको दिनमा पनेरीचौर मेला लाग्ने गरेको थियो र जहाँ स्थानीय संस्कृति झल्काउने नाचगानको साथसाथै सानोतिनो हाटबजारजस्तो व्यापार पनि चल्थ्यो । अहिले त्यो मेला पनि बन्द भइसकेको छ ।

म यतिखेर कुनै दूरदराजको अनकन्टार ठाउँमा त पुगेँ कि ? होइन , रुकुम पश्चिमको सदरमुकामको केन्द्रमै छु । मुसीकोटको खलङ्गा बजार नजिकै छु । दुर्गम ठाउँतिर पस्ने हो भने त विकासको नमुना अझै भयावह देखिन सक्छ । कुनै अमुक व्यक्तिको कारणले यसो भएको होइन । हामी सरोकारवालाले विकासको चाहना त गर्‍यौँ, तर अपनत्वको कुरामा उदासिन रह्यौँ ।

बिहानको ७ बजे सेरीगाउँतिर आउनुभएका गिरिप्रसाद बुढा, मनलाल ओली, एक्कबहादुर केसी र खगेश्वर भण्डारीसँग शीतलपोखरीमा भेट हुन्छ । यहीँ रुकुमकोटतिर जाने एउटा जिप भेटिन्छ, जुन बिहानैदेख यात्रीहरूलाई कुरिरहेको रहेछ । हामीहरू थपिएपछि चालकको अनुहार उज्यालियो मात्र, गाडी चलेन । तलतिरबाट आउँदै गरेको रात्रि बसका यात्रीहरूलाई कुरेको रहेछ, उनीहरू आइपुगेर चढेपछि मात्र गाडी चल्यो । 

मध्यपहाडीको फराकिलो पक्की नागबेली बाटोमा गाडीमा कुद्नुको मज्जा नै अर्कै हुन्छ । मध्यपहाडी बनेपछि मुसीकोटबाट निकै टाढा लाग्ने साँख अब पानीपँधेरो भइसकेको छ । शीतलपोखरीबाट ५ किलोमिटर यात्रामै साँख पुगिन्छ । साँखको मनोरम गाउँलाई साँखदहले शोभायमान तुल्याएको छ । हामीहरू साँखबाट अरू ५ किलोमिटरको यात्रा गरेर रिन दह पुग्छौँ र जिपबाट ओर्लिन्छौँ । चालकले प्रतियात्रु २०० रुपैया भाडा माग्छ । अरू ठाउँ भए यो दुरीको यात्रामा २०/२५ रुपैयाँभन्दा बढी भाडा नपर्नुपर्ने हो । यहाँ त भाडामा जताततै अचाक्ली छ । यताको वैज्ञानिक भाडा निर्धारणमा सम्बन्धित निकाय बेपरवाह छ । हजारौँ यात्रीले लाखौँचोटि गुनासो गरे पनि कतैबाट सुनुवाइ हुँदैन । कुनै यात्रीले भाडाको अनियमिताको कुरा उठायो कि कुटाइ खायो ।

रुकुममा सडकको विकास उल्लेखनीय नै छ । यसको श्रेय तत्कालीन नेतृत्वलाई दिनैपर्छ । तर त्यो विकासको अधिकांश लाभ लिनेहरू भने यस्तै गाडीवालाहरू, बिचौलियाहरू, ठेकेदारहरू र व्यापारीहरू मात्र छन् । 
रिनदह (२३८५ मिटर) को भन्ज्याङ छेउमा निकै अग्लो खम्बामा नेपालको राष्ट्रिय ध्वजा हल्लिरहेको देखिन्छ । गाडीभित्र कोचिएर यो बाटोमा पचासौँचोटि ओहोरदोहोर गर्दा नदेखिएको यो झन्डाले यहीँनेर ओर्लिएपछि भने आँखा तान्छ र मन पनि बाँकी राख्दैन ।

चारैतिर स्टिलको बार लगाइएको पार्कको प्रवेशद्वारमा एउटा फलामे ढोका छ । ताल्चा भने लगाइएको रहेनछ । आधुनिक शैलीको पार्कको  साइनबोर्डबाट थाहा भयो यो तिर्थ स्मृतिपार्क रहेछ । साँख निवासी समाजसेवी तिर्थबहादुर पुनको नामबाट यो पार्क बनाइएको रहेछ । यो पार्क बनाउन सहयोग गर्ने चन्दादाताहरूको लामै लिस्ट थियो । स्थानीयहरूकै प्रयासमा बनेको देखिएकोले आशा गर्न सकिन्छः यसको मर्मतमा पनि स्थानीयको चसो र अपनत्व रहनेछ । आशा गरौँ, नभत्किएला, नमिल्किएला । 

पार्कको फोटो भिडियो लिँदै एकछिन भुलेपछि लाग्यौँ हामी रुकुमकोटतिर जाने पक्की सडकलाई छोडेर दक्षिणपट्टिको कच्ची सडकतिर । वरिपरि घना जङ्गल थियो । अलिकति पर पुगेपछि सडकको छेउमै प्राकृतिक अवस्थाकै एउटा गुफा भेटियो । पातपतिङ्गर, झार र माकुराको जालोले ढाकिएको गुफामा पस्न सजिलो तर निस्कन गाह्रो देखिन्थ्यो । भित्रतिर आलो माटो फालिएकोले कुनै जन्तु लुकेर बसेको होला भनेर धेरै डिस्टर्व गरेनौँ हामीले

त्यहाँबाट सडकलाई पछ्याउँदै उकालो लाग्दै गयौँ । मनोरञ्क सिलोक र न्याम्ना हाल्दै र वारिपारिको प्रकृतिसँग जिस्कँदै अगाडि बढ्यौँ । गिरि सरले एक्कासि हातको मुठी देखाउँदै भन्नुभयोः "मैले एउटा महत्त्वपूर्ण वस्तु भेट्टाएको छु जो प्रायः घरहरूमा र साँस्कृतिक सम्पदामा राखिने गरिन्छ । के होला ? भन्नुहोस् ।  

घरमा राखिने तर सम्पदामा मात्र होइन बाटोमा पनि भेटिने के होला त त्यस्तो वस्तु ? हामीले दिएको हरेक अनुमानित जवाफ 'मिलेन, मिलेन' भनिरहनुभएको छ । उहाँले अर्को हिन्ट दिँदै भन्नुभयोः "यसले देशको राजनीतिमा पनि ठुलो तहल्का मच्चाइरहेको छ ।" सोच्यौँ सोच्यौँ, केही जवाफ पनि दियौँ, तर मिलेन ।

कोठामा पुगेपछि गुगल म्याप खोलेर आफू पुगेको स्थानहरू सर्च गर्छु । हामी जुन लेकमा चढेका थियौँ त्यो नै तीनवटा चुचुराहरूमध्ये सबैभन्दा अग्लो रहेछ । अरू २ चुचुराहरू २८०० मिटरभन्दा होचा नै रहेछन् । माघीको दिनमा त्रिवेणीतिर नलागी तीनबैनीतिर लागेर ठिकै गरिएछ । मुसीकोटको सर्वोच्चशिखर चढ्न सफल भएकोमा गर्वानुभूति हुन्छ ।

"यो केही पशुहरूलाई सिँगार्न पनि प्रयोग गरिन्छ । भन्नुहोस् के हो ?"

उहाँले हिन्ट थप्दै जानुहुन्छ तर जवाफ दिन झन् झन् कठिन भइरहेको छ । अनि उहाँले हाम्रो कानमा मुठी हल्लाएर सुनाउनुभयो । प्रत्येकले सुन्यौँ खटखट आवाज आइरहेको छ । "जङ्गली किरा होला !" भन्दा उहाँले 'प्राणी होइन' भन्नुहुन्छ ।

हामी हायलकायल भयौँ र उहाँलाई रुकुम पूर्व र पश्चिमका विभिन्न गाउँहरू दिएपछि, "यति थुप्रै हिन्ट दिँदा पनि नजान्ने तपाईँहरू त लाटै हुनुहुनेरैछ !" भन्दै हात खोलेर देखाउनुभयो । मुठीभित्रै अटाउने सानो घण्टी पो रहेछ ! हामी फट्को लगाउँदै मरीमरी हाँस्यौँ । 

विकासका नमूनाहरू पनि यस्तै सानासाना हुन्छन् । त्यसलाई चिन्न सकेमा जहाँ पनि प्रयोग गर्न सकिन्छ । सानो झिल्कोले देशलाई हल्लाइदिन सक्छन् । तर मसिना कुराहरूलाई लत्याएर ठुलै कुरा र ठुलै भाग मात्र खोज्न थालियो भने विकास खोजेर भेटिँदै भेटिँदैन ।

हामीलाई डोर्‍याइरहेको सडक एउटा टाकुरोमा (२५०० मिटर उचाइ) पुगेर तल झर्न थाल्यो । सायद यसैलाई भनिएको होला गर्पाधुरी ।
उत्तरतिर पुथादेखि सिस्नेसम्म फैलिएको धौलागिरी शृङ्खलाको हिमच्छान्न शिखरहरूको लहर छ । दक्षिणपट्टि पूर्वदेखि पश्चिमसम्मको क्षितिजमा फैलिएको घना जङ्गलले ढाकिएको निकै लामो उच्च पहाडी श्रृङ्खला छ । यस शृङ्खलाले रुकुम पश्चिममा भेरी नदीबाट उठेर औसत २५०० मिटर उचाइको दक्षिणी पर्खालको काम गरेको छ भने रुकुम पूर्वमा अझै अग्लिएर ३६०० मिटरसम्म अग्लिएको छ । यसले सीमानाको काम मात्र होइन रुकुममा पानी पार्ने अहम् भूमिका पनि खेलेको छ । यसै श्रृङ्खलाले रुकुम पश्चिमको पश्चिमी सीमानामा बग्ने सल्यान, रोल्पा, बाग्लुङको सीमाना भएर एउटा हाँगो धौलागिरी हिमश्रृङ्खलामा पुगेर मिसिन्छ भने अर्को हाँगो बाग्लुङ, गुल्मी हुँदै पाल्पाको रिडीसम्म पुग्छ ।

tin-bahini-lek-1738981206.jpg
बिहानको साढे नौ बजिसकेको छ । अब अगाडि वस्ती नभेटिने भएकोले गर्पाको भञ्ज्याङमा ओर्लिएर खाना खाने विकल्प खोज्न थाल्छौँ । गर्पमा ३/४ वटा गोठहरू मात्र छन् । प्रायः मान्छेहरू जाडो समयमा लेकको गोठबाट बेँसीतिर झर्ने भएकोले ती गोठहरू खाली हुनसक्छन् । झोलामा खासै गतिलो अर्नी पनि बोकेका छैनौँ । मान्छे कोही नभेटिए आज दिनभर भोकै रहने सम्भावना छ । 

खोज्दै जाँदा एउटा गोठको बाहिर एकजना महिला काम गरिरहेको पाउँछौँ । अगाडिको छाप्रोभरि बाख्राहरू बाँधिएका छन् । उहाँले आफू काममा व्यस्त भएको हुँदा खाना खुवाउन नसक्ने कुरा बताउनुहुन्छ । हामीले अलिकति पिठो मात्र दिए आफै ढिँडो पकाएर खाने जिद्दी गर्छौँ । सोध्दै जाँदा उहाँ यही वडाका भुपु वडा अध्यक्ष हिमबहादुर पाण्डेको श्रीमती भएको पत्तो लाग्दछ । हिमबहादुरजी झुलखेततिरै बस्नुहुँदो रहेछ । उहाँलाई फोन लगाएपछि ती महिला हामीलाई खानाको लागि सामलतुमल जुटाइदिन राजी हुनुहुन्छ । हामी बारीमा गाँजिएर आएको रायोको साग टिप्छौँ र ढिँडो पकाएर खान्छौँ । 

आज माघेसङ्क्रान्तिको दिन घरघरमा 'पाइयो पाइयो' खेल्न आउने व्यक्तिहरूलाई फर्सी तथा तरुल उसिनेर बाँड्ने चलन छ । हामी उहाँसँग 'पाइयो पाइयो' खेल्छौँ उहाँले हामीलाई दिएको फर्सी र तरुल सकुन्जेल खान्छौँ र बचेको तरुल, फर्सी दिउँसोको अर्नीको लागि आआफ्नो झोलामा हालेर यात्रा प्रारम्भ गर्छौँ । 

अलिकति तल जङ्गलको बिचमा मुसीकोटको वडा नं ८ को नवनिर्मित भवन छ । "मान्छेविहीन ठाउँमा सिँहदरबार आइपुगेछ !" भनेर एक्कबहादुर केसी खिसी गर्नुहुन्छ । 

यहाँबाट रुकुमको उच्च हिमाल पुथाको सुन्दर दृश्य देखिँदो रहेछ । हामी सडक पछ्याउँदै अझै तल (२२८५ मि.)  झर्छौँ । घनघोर लेकाली जङ्गलमा तीनतिरबाट फराकिला बाटाहरू मिसिएको वनवाटिकाजस्तै ठुलो चहुरमा पुग्छौँ । खर्सू, रयाँज र धुपीसल्लाका अजङका रुखहरूदेखि लिएर साना बुट्यानहरू टम्म मिलाएर रोपिएका जस्ता देखिन्छन् । चहुरमा नजिकका गाउँहरूबाट वनभोजको लागि आउने गरेका सङ्केतहरू देखिन्छन् ।

खगेश्वर भण्डारी भन्नुहुन्छ, "तीनवटा चुचुराहरूमध्ये सबैभन्दा होचो चुचुरोमा उक्लिएछौँ । पूर्वतिरको चुचुरो योभन्दा अग्लो हुनुपर्छ । बरु त्यता जाऊँ ।" गिरिप्रसाद भन्नुहुन्छ, "होइन, पश्चिमपट्टिको चुचुरो अग्लो छ, त्यता जाऊँ ।" केही छिनको विश्रामपछि हामी त्यस चुचुरोबाट झरेर अर्को चुचुरोमा उक्लन तम्सन्छौँ । तर एक्कबहादुर केसी भञ्ज्याङबाट निकै तल झरिसक्नुभएको छ । उहाँलाई फर्काउन सम्भव छैन ।

हामीले पछ्याइरहेको चालु सडक यही ठाउँमा टुङ्गिएको छ । अगाडिपट्टि दशकौँपहिले रुकुमको चुनबाङसँग मुसीकोटलाई जोड्न ट्र्याक खोलेर त्यत्तिकै छोडिएको सडक माथितिर चढेको देखिन्छ । हामी छोटो बाटोबाट ठाडै उकालो लाग्न थाल्छौँ । ठाउँठाउँमा ट्र्याक पनि घुम्दै घुम्दै हामीलाई भेट्टाउन आइपुग्छ । घरी निकै उकालो चढ्दै त घरी तेर्सो बाटो हुँदै हामी दुई अग्ला लेकको बिचको भञ्ज्याङमा पुग्दछौँ । सडकको ट्र्याक पनि यहीँनेर टुङ्गिएको छ । पाखैभरि सयौँ भेडाहरू चरिरहेका छन् । गोठालाहरू कतै दृष्टिगोचर हुँदैनन् ।

त्यहाँबाट दायाँपट्टि र बायाँपट्टि दुईवटा चुचुराहरू अग्लिएका देखिन्छन् । घनाजङ्गल भएको कारणले तीमध्ये कुनचाँहि अग्लो भनेर ठम्याउन मुस्किल पर्छ । अनुमानको आधारमा तीनवटा चुचुराहरूमध्ये बिचको चुचुरा अग्लो होला भन्ठानी बिचको पाखोमा उक्लनथाल्छौँ । अलिकति माथि भेडागोठाला भेटिन्छन्, उनी तकसेराबाट भेडा चराउँदै यहाँसम्म आइपुगेका रहेछन् ।

करिब १०० मिटरजतिको उचाइ चढेपछि चुचुरोमा पुगिन्छ । खगेश्वरजीको अल्टिमिटर एप्सले उचाइ २८५५ मिटर देखाउँछ । चुचुरो फराकिलो नै छ तथापि अझै घनघोर जङ्गल भएकोले वारिपारि केही पनि देखिँदैन । 

निरन्तर उकालोमा पसिना धेरै बगेकोले पानी प्यासले गर्दा मुख भक्रक्कै सुकेको छ । झोलामा ल्याएका फर्सी र तरुल खाएर भोक र प्यास मेटाउँछौँ ।

हामी दक्षिणपट्टि अवस्थिति चुनबाङको भूभाग हेर्ने चाहनाले चुचुरोको पूर्वी भागपट्टि जान्छौँ । जङ्गलको बाक्लोपनले अगाडि सर्न नै कठिन हुन्छ । अलिकति पर पुगेपछि चुचुरोको धारपट्टि केही नाङ्गो पाखो भेटाउँछौँ । मनलाल ओलीजीले चुनबाङका विभिन्न ठाउँहरू चिनाउँदै भन्नुहुन्छ त्यो भेरी डाँडा हो । द्वन्द्वकालमा माओवादीको चुनबाङ बैठक भएको स्थल । उहाँले चुनबाङभन्दा दक्षिणतिरका गाउँहरूलाई चिनाउँदै भन्नुहुन्छः त्यो झिन्वा, त्यो जिनावाङ, अनि मिरुल, कुरेली, जङ्कोट, घर्तीगाउँ, एरिवाङ, राङ्सी, थुनी, पाछावाङ, तातापानी, बागमारा । नन्दकिशोर पुनको गाउँ ऊ त्यो हो । नेत्रविक्रम चन्दको गाउँ ऊ त्यो हो । चुचुराहरू देखाउँदै भन्नुहुन्छ त्यो जलजला हो र दक्षिणतर्फको अन्तिम डाँडो रोल्पाको होलेरी हो । त्यसको उतापट्टि दाङको घोराही पर्दछ । 

रुकुमतिरबाट हेर्दा समान उचाइका ३ वटा चुचुराहरू लहरै देखिने भएकोले यसलाई तीनबहिनी लेक भनिएको हो । रोल्पाबाट हेर्दा भने उस्तै उचाइका ९ वटा चुचुराहर लहरै उभिएको देखिने भएकोले यसैलाई नौबहिनी लेक भनिन्छ ।

खगेश्वर भण्डारी भन्नुहुन्छ, "तीनवटा चुचुराहरूमध्ये सबैभन्दा होचो चुचुरोमा उक्लिएछौँ । पूर्वतिरको चुचुरो योभन्दा अग्लो हुनुपर्छ । बरु त्यता जाऊँ ।" गिरिप्रसाद भन्नुहुन्छ, "होइन, पश्चिमपट्टिको चुचुरो अग्लो छ, त्यता जाऊँ ।" केही छिनको विश्रामपछि हामी त्यस चुचुरोबाट झरेर अर्को चुचुरोमा उक्लन तम्सन्छौँ । तर एक्कबहादुर केसी भञ्ज्याङबाट निकै तल झरिसक्नुभएको छ । उहाँलाई फर्काउन सम्भव छैन । समय पनि दिउँसोको २ बजिसकेको हुँदा अर्को चुचुरोमा पुगेर घर फर्कन कठिन छ । एक्कबहादुरलाई भेटाउन गिरिप्रसाद पनि ओरालोमा फालहाल्दै अगाडि बढ्नुहुन्छ । मनलाल खगेश्वर र म मात्र पछि पर्छौँ ।

हामी दक्षिणपश्चिम हुँदै लेकको तल तल झर्छौँ । निकै तल पुगेपछि लेकको पाखैपाखो हुँदै बाटो तेर्सिन्छ । अनि पहाडी श्रृङ्खलाको धारधारै अगाडि बढ्छौँ । केही तल पुगेपछि बाटो फाट्छ । मनलालजी भन्नुहुन्छः अब हामी यो बाटो तल झर्नुपर्छ । तर अगाडिका साथीहरू कुन बाटो लागे होलान् ? फोन गर्न खोज्छौँ, फोनको टावरले टिप्दैन । लामो प्रयासपछि फोनको टावरले टिप्छ र गिरिप्रसादजीले आफू तेर्सैतेर्सो लागेर धेरै पर पुगिसकेको जानकारी गराउनहुन्छ । मनलालजी भन्नुहुन्छः उसोभए तपाईँ त्यतैबाट झुलखेत झर्नुहोस् हामी यताबाट झर्छौँ । तर गिरिजीले न फर्कन मान्नुहुन्छ, न एक्लै झुलखत झर्न । हामीहरू छोटो बाटो छोडेर तेर्सो बाटो लाग्दछौँ र गलमपाटीको शिरमा पुगेपछि मात्र गिरिप्रसाद र एक्कबहादुरसँग भेट हुन्छ । त्यहाँसम्म सडकको ट्र्याक आइपुगेर बिस्तुरिइसकेको छ । त्यही ट्र्याकलाई पछ्याउँदै हामी तलतिर झर्छौँ । ट्र्याक पहिरोको मुखमा पुगेर टुङ्गिन्छ । हामी डोरेटो बाटो खोज्दै अबाटोको पाखैपाखो तल झर्न थाल्छौँ । बाटोभरि अथिङ्ग्रेको काँडेदार झार मात्र छ । अथिङ्ग्रे लुगामा सल्किएर हामीहरू नै अथिङ्ग्रेका झारतुल्य बनिसकेका छौँ । 

समय घर्किँदै छ । अथिङ्ग्रे टिपिसक्नु पनि छैनन्, तसर्थ जिउमै छोडेर अगाडि बढ्छौँ । हाम्रो दशा देखेर बाटो हिड्नेहरू फितफिताउँछौँ । धेरै तल पुगेपछि एउटा चौर नाउँको गाउँ भेटिन्छ । पानीको धारा भेटिएपछि घाँटीका नसा फुलुन्जेल पानीको धित मेट्छौँ । चौर गाउँ र गलमपाटी जोड्ने निकै अग्लो र लामो झोलुङ्गे पुलले हामीलाई तान्छ । समय अझै छ भन्दै पुलमा वारपार गरेर थकाइ मेटाउँदै गर्दा बेलुकाको ५ बजिसक्छ । पुल तर्दै गरेका मान्छेहरूले भन्छन्: "झुलखेत भेटिन त अझै ३ घण्टाभन्दा बढी लाग्छ ।" हामी खुइए सास फेर्छौँ । 

छिटो बाटो काट्ने हिसाबले सडक बाटो छोडेर गोरेटो बाटो लाग्दछौँ । तर गोरेटो बाटो झनै घुम्छ । बल्लतल्ल चुन गाउँ पुग्दा अँध्यारो भइसक्छ । चुनमै बास बसेर भोलि बिहान जान गाउँलेहरूले सल्लाह दिन्छन् । तर गाडी पाएसम्म खलङ्गा फर्कने हाम्रो जिद्दी हुन्छ । चुनका प्रअ खड्कसिँह कठायतका दाइले अटोरिक्सा रिजर्भ गर्ने व्यवस्था मिलाइदिनुहुन्छ । हामी अटोरिक्सा पर्खन एउटा किराना पसलमा पुग्दछौँ । किराना पसलमा चिनेचिनेकी महिला छिन् । चिनजानपछि थाहा लाग्छ, उनी त आफैले सिम्लीमा पढाएकी विद्यार्थी जानकी केसी पो रहिछन् । उनी कर्णाली प्रदेशकी भुपु मन्त्री विमला केसीकी दिदी र एउटा दुर्घटनामा चारै हातखुट्टा गुमाएर विकलाङ्ग बाँचिरहेका कृष्ण ओलीकी आमा हुन् । 

करिब आधा घण्टा पर्खिएपछि अटोरिक्सा आइपुग्छ । चुनबाट झुलखेत पुग्न अटोरिक्सालाई १ घण्टाभन्दा बढी समय लाग्छ । ५ जना सानो अटोरिक्सामा खाँदिएर बस्छौँ । कच्चीबाटोमा रातको यात्रा निकै कठिन हुनपुग्छ । झुलखेतबाट शीतलपोखरी पुग्न पनि जुगौँ बितेबराबर हुन्छ । एक्कबहादुर र मनलाल सेरीगाउँमा झर्नुहुन्छ । गिरिप्रसाद र खगेश्वर बागबजारमा झर्नुहुन्छ । म एक्लै खलङ्गाको मठसम्म पुग्छु । बजार बन्द छ र शान्त छ । मुसीकोटको वडा नै ४ ५ ६ ८ ९ र १० लाई फन्का मारेर १५ घण्टाको पैदल यात्रा वडा नं १ मा टुङ्गिन्छ । हिँडेरभन्दा कच्चीबाटोमा अटोरिक्साको यात्राले जिउ ज्यादै दुखाएको छ ।

कोठामा पुगेपछि गुगल म्याप खोलेर आफू पुगेको स्थानहरू सर्च गर्छु । हामी जुन लेकमा चढेका थियौँ त्यो नै तीनवटा चुचुराहरूमध्ये सबैभन्दा अग्लो रहेछ । अरू २ चुचुराहरू २८०० मिटरभन्दा होचा नै रहेछन् । माघीको दिनमा त्रिवेणीतिर नलागी तीनबैनीतिर लागेर ठिकै गरिएछ । मुसीकोटको सर्वोच्चशिखर चढ्न सफल भएकोमा गर्वानुभूति हुन्छ ।

पूर्ण ओलीका अन्य लेखका लागि यहाँ क्लिक गर्नुहाेस् ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update