Kakhara सबैको खबर सम्पूर्ण खबर
आर्थिक मामिला मन्त्रीको जिम्मेवारी र उहाँको सत्ताइस वर्ष अघिको संवाद 

बुवाको रूप रङ्ग कस्तो थियो उहाँलाई पत्तो समेत भएन । मानसपटलमा कुनै प्रतिविम्व समेत आँकलन गर्न सक्नुहुन्न । ठिक एक वर्षको उमेर पुगेका बेला बुवालाई सदाका लागि गुमाउनु पर्दा उत्पन्न बाध्यता हो उहाँको । बुवाको अभिभावकत्वको अनुभूति समेत गर्न पाउनु भएन् । बुवाको माया, सहयोग, हौसला अनि प्रेरणाको अभाव खडकिरह्यो । बुवा नहुनुको पीडा सधैं महसुस भइरह्यो । मुख्य जिम्मेवारी सम्हाल्ने बुवा नै नभएपछि परिवार नै सहरा विहीन जस्तै बन्यो । परिवारमा दुखकष्टका दिनको सुरुवात भयो । सकिनसकि आमाले नै १०/१२ जनाको परिवार सम्हाल्नुभयो । विभिन्न अभाव, समस्या र कठिनाइ छिचोल्दै आमाको सहारामा अगाडि बढ्यो उहाँको बाल्यकाल  ।
 
तीक्ष्ण बुद्धि  अनि पढाइमा लगनशील र निरन्तरता उहाँको विशेषता थियो । कक्षाको अब्बल जेहेन्दार विद्यार्थी उहाँको पहिचान । एस.एल.सी. मा उत्कृष्ट अङ्क सहित उत्तीर्ण हुनुभयो । सबैबाट बधाई र प्रशंसाको ओइरो लाग्यो । उत्कृष्ट अङ्कसहित उत्तीर्ण भएको उमङ्गता थियो । उत्साहपूर्वक रूपमा अध्ययनलाई थप उत्कर्षमा पुर्याउने अभिलाषा जागृत भयो । यही अवस्थामा साइल्दाइसँग घरमा उहाँको संवाद हुन्छ । 

भाइ:- साइल्दाइ ! म अध्ययनका लागि दाङ जाने सोचमा छु । पैसा जुटाइ दिनुहोला नि है ! 
साइल्दाइ – किन दाङ नै जाने सोच जाग्यो त नि तिम्रो  ? 
भाइ:- अरू विषय भन्दा इन्जिनिरिङ तर्फको पढाइ ठिकै होला भन्ने लागेको छ । त्यसैले अध्ययनका लागि दाङ जान्छु । मेरो यो चाहना पूरा गराउन पैसा जोह गर्ने  जिम्मा तपाईंको है दाइ ! 
साइल्दाइ:-....(एकछिन घोरिएर सोच्दै) कुरो त ठिकै हो तिम्रो । तर ... । 
भाइ:- के तर हो नि दाइ ? स्पष्ट भन्नुहोस् न । मलाई अल्मल्याउने तर त होइन कतै ? 
साइल्दाइ:- तिम्रो क्षमता देखेर म निकै प्रभावित छु भाइ । तिमीप्रति मेरो विश्वास छ । तिमी हरेक जिम्मेवारीमा अब्बल हुनसक्छौं । इन्जिनियर बन्न्ने तिम्रो सोच नराम्रो होइन । मेरो सुझाव मान्छौ भने इन्जिनियर होइन राजनीतिमा लाग । 
भाइ:- किन यति राजनीतिलाई प्राथमिकता दिनु भएको नि दाइ ?  
साइल्दाइ:- इन्जिनियर बन्ने कुरा नराम्रो होइन । तर इन्जिनियर बन्यौ भने तिमीलाई अफिससँग सम्बन्धित दुई/चार जनाले मात्रै चिन्लान । राजनीतिमा लागेर राम्रो गरेर देखायौ भने दुनियाँले तिमीलाई चिन्ने छ । त्यसैले तिमी राजनीतिमा समर्पित भएर लाग । 


राजनीतिमा लागेर राम्रो गरेर देखाए दुनियाँले चिन्ने  साइल्दाइको सुझावबाट प्रभावित हुनुभयो । त्यसलाई कार्यान्वयन गर्ने निष्कर्षमा उहाँ पुग्नुभयो । त्यसको भोलिपल्ट देखि नै कालो झन्डा देखाउने अभियान अन्तर्गत कोटजहारी हुँदै चौरजहारी पुग्नुभयो । त्यसदिन देखि पूर्णकालीन  कार्यकर्ता बनेर राजनीतिमा हिडेको तपाईंको विगत । 

हामी दुई भाइको बसाइँमा पूर्णकालीन सामाजिक राजनीतिक जीवनको सुरुवात र प्रेरणाका सन्दर्भमा तपाईंसँग मेरो जिज्ञासामा माथिको संवाद बताउनु भएको थियो । तपाईं दाजुभाइ बिच २७ वर्ष अघि भएको संवाद आज मैले पुनः स्मरण गरेको छु । आदरणीय दाइ गोपाल शर्मा ‘अनल’ ले कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी समाहालेसँगै उक्त संवादले आज थप मूर्त रूपसहित उचाइ प्राप्त गरेको महसुस भएको छ । 

सामाजिक राजनीतिक जीवनमा समर्पित भएर साँच्चिकै तपाईंलाई दुनियाँले चिनेको छ । यद्यपि अन्तिम गणतव्यमा पुग्न बाँकी नै छ । साइल्दाइको सुझाव दुरदर्शी प्रमाणित भएको छ । सुझाव दिने र लिने दुबै दाजुभाइले सामाजिक राजनीतिक उचाइ प्राप्त गर्नुभएको छ । राजनीतिमा लाग्न प्रेरित गर्ने साइल्दाइ विशाल शर्मा चौरजहारी नगरपालिका प्रमुख (मेयर) अनि सुझाव ग्रहण गर्ने भाइ गोपाल शर्मा ‘अनल’ आर्थिक मामिला तथा योजना मन्त्री कर्णाली प्रदेश । तपाईंहरू योजना, त्यसको सफल कार्यान्वयन, लगनशील, जिम्मेवारी, इमान्दारिता, धैर्यता, अभाव र सङ्घर्षबाट मात्रै लक्ष्यमा पुग्न सकिन्छ भन्ने प्रेरणाको स्रोत बन्नु भएको छ । शासन सञ्चालनको नेतृत्व तहमा पुग्न प्रशस्त धन पैसा र बाबु, बाजे देखिको नेतृत्वदायी पृष्ठभूमि चाहिन्छ भन्ने कुरालाई तपाईंहरूले गलत सावित गरिदिनु भएको छ । 

जति सफलता प्राप्त भएको छ नितान्त जनतासँगको सहकार्यमा तपाईंको आफ्नै बलबुता, इमान्तदारिता र लगनशीलताबाट प्राप्त भएको हो । शून्य पारिवारिक पृष्ठभूमिबाट तपाईहरूले सुरु गर्नु भएको राजनीतिक यात्रा प्रेरणादायी र प्रशंसनीय छ । आफ्नो हरेक जिम्मेवारीमा शीघ्र, प्रतिफलमुखी अनि अब्बलता तपाईंको  विशेषता हो । त्यसैले अन्य कार्यकर्ता भन्दा तपाईंप्रति दुनियाँको भरोसा र विश्वास छ । 

इन्जिनियर बन्ने क्षमता र रहरलाई थाँती राखेर राजनीतिमा होमिनु भयो । समय प्रतिकूल छ । राम्रो योजना र लोकप्रिय कार्यक्रमका साथ पहिचानको क्षेत्र विस्तार गर्ने तपाईमा अवसर  र चुनौती दुबै छ । यद्यपि चुनौतिसँग जुध्दै र सफल हुँदै अगाडि बढ्ने तपाईको विगत स्मरणीय छ । यो जिम्मेवारीमा पनि विद्यमान चुनौतिलाई सहजै परास्त गर्नुहुनेछ भन्ने विश्वास छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-५ लहरेसिमल जस्तो विकट र अति सामान्य परिवारमा जन्मेर जुन खालको उचाईं प्राप्त गर्नुभएको छ यसले निकै गर्वको अनुभूति दिलाएको छ । दुनियाँका सामु राम्रो गरेर चिनिने सङ्कल्प सहित सामाजिक राजनीतिक जीवनमा समर्पित व्यक्तित्व आदरणीय दाइ गोपाल शर्मा ‘अनल’ कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नु भएकोमा हार्दिक बधाईं !  

इन्जिनियर बन्ने क्षमता र रहरलाई थाँती राखेर राजनीतिमा होमिनु भयो । समय प्रतिकूल छ । राम्रो योजना र लोकप्रिय कार्यक्रमका साथ पहिचानको क्षेत्र विस्तार गर्ने तपाईंमा अवसर  र चुनौती दुबै छ । यद्यपि चुनौतिसँग जुध्दै र सफल हुँदै अगाडि बढ्ने तपाईंको विगत स्मरणीय छ । यो जिम्मेवारीमा पनि विद्यमान चुनौतिलाई सहजै परास्त गर्नुहुनेछ भन्ने विश्वास छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update