
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा बर्सेनि आयोजना हुँदै आएको राष्ट्रिय गुरिल्ला म्याराथन यस वर्ष पनि सञ्चालन हुने भएको छ । सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा हरेक वर्ष राष्ट्रिय गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ । यस वर्ष पनि जनयुद्ध दिवसको अवसरमा ‘समाजवाद उन्मुख समृद्धिको पहिलो आधार, उत्पादन र पूर्वाधार सहितको शिक्षा स्वास्थ्य र रोजगार’ भन्ने नारा सहित फागुन १ गते सातौँ संस्करणको राष्ट्रिय गुरिल्ला म्याराथन हुने भएको हो ।
महिला तथा पुरुष तर्फ प्रतिस्पर्धा हुँदै आएको छ । सातौँ संस्करणको पुरुष तर्फको प्रथमले १ लाख पुरस्कार पाउने सानीभेरी गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयो । उहाँका अनुसार म्याराथनमा पुरुष तर्फको द्वितीयले ७५ हजार, तृतीयले ४५ हजार, चौथोले १५ हजार र दशौँ स्थानसम्म हासिल गर्ने धावकलाई समान ३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै महिला तर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार पुरस्कार प्राप्त गर्ने सदस्य सचिव नकालले जानकारी दिनुभयो । चौथो हुनले १० हजार पुरस्कार प्राप्त गर्दा दशौँ स्थानसम्म हासिल गर्ने धावकले समान ३ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । गुरिल्ला म्याराथनलाई गत वर्ष देखि राष्ट्रिय खेलकुद परिषद् राखेपले आफ्नो वार्षिक क्यालेन्डरमा समावेश गर्नुका साथै प्रतियोगिताका लागि सहयोग समेत गर्दै आएको छ ।
राखेपको सहयोग तथा गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा हरेक वर्ष गुरिल्ला म्याराथन आयोजना गर्दै आइरहेको छ । म्याराथनमा देशभरबाट धावकहरूले भाग लिने गरेका छन् । गत वर्षको म्याराथन पुरुष तर्फ सोलुखुम्बुका अर्जुन कुलङ र महिला तर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले जित्नुभएको थियो । तत्कालीन माओवादी सञ्चालन गरेको जनयुद्धताका माओवादीका जनमुक्ति सेनाहरू हिँडेको बाटोमा धावकलाई दौडाउने गरिएको छ ।
जनयुद्धको अवसरमा गाउँपालिकाले हरेक वर्ष फागुन १ गते गुरिल्ला म्याराथन सञ्चालन गर्दै आइरहेको छ । म्याराथनमा सहभागी धावकहरूलाई गाउँपालिकाको वडा नम्बर ३ को बेल्टापुबाट जनयुद्धमा माओवादी सेनाले सैन्य तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म दौडाउने गरिएको छ । पुरुष तर्फ ४८ किलोमिटर दुरीमा म्याराथन सञ्चालन गर्ने गरिएको छ । महिला तर्फको दुरी भने कम हुन्छ ।
यसैबिच नेकपा माओवादी केन्द्रले गरिल्ला म्याराथनसँगै जिल्लाव्यापी जनयुद्ध दिवस सानीभेरीमा मनाउने भएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकर, पूर्व मन्त्री सुदन किराँती लगायतका नेता सहभागी हुने नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाले जनाएको छ । कार्यक्रममा जनवादी गायक झन्कार बुढा, किरणबाबु पुन, तिलक परियार, डिल्ली परियार सहितका जनवादी कलाकारहरूले जनवादी प्रस्तुति समेत राख्ने बताइएको छ ।