Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको त्रिवेणीमा बम फेला 
खारा ब्यारेक नजिकैकाे जंगलमा फेला परेकाे बम ।

रुकुम पश्चिममा बम फेला परेको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा रहेको नेपाली सेनाको ब्यारेक नजिकै बम फेला परेको प्रहरीले जनाएको छ । खारा ब्यारेक नजिकैकै लालीगुराँस सामुदायिक बनमा बम फेला परेको हो । अहिले बम डिस्पोजको काम चलिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार बम डिस्पोजका लागि चण्डी दल गण सल्लेबाट सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । घटनास्थलमा प्रहरी समेत खटिएको छ । बाटो खन्ने क्रममा खोल्सामा बम जस्तो बस्तु भेटिएपछि त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष भद्रबहादुर शेर्पालीले प्रहरीलाई जानकारी गराएको प्रहरी निरीक्षक पाठकले बताउनुभयो । खारा ब्यारेकमा युद्धकालमा धेरै पटक नेपाली सेना र माओवादी सेना बिच लडाई भएको थियो । यो बम युद्धकालकै रहेको अनुमान गरिएको छ ।  

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update