
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको पक्की प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७९ साल माघ महिनादेखि सुरु भएको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । बहु वर्षीय योजना अन्तर्गत उक्त भवन निर्माणको काम निर्माण कम्पनीसँग २०८१ साल असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएको थियो ।
प्रशासकीय भवन निर्माणको सम्झौता भए बमोजिम भवन निर्माण, पर्खाल निर्माण,गेट निर्माण र रङ रोगन लगायतका काम सम्पन्न भइसकेको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणको लागि निर्माण कम्पनीसँग ८ करोड ६९ लाख १८ हजार १ सय १९ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
सम्झौता भएको रकम मध्य ७ करोड ५९ लाख ६२ हजार ६ सय ८५ रुपैयाँ अर्थात् ८७ दशमलव ३९ प्रतिशत रकम भुक्तानी (खर्च)भएको छ । प्रशासकीय भवन ३ तलाको निर्माण भएको छ । जसमा शौचालय सहित २८ कोठा रहेका छन् । भित्रको केही व्यवस्थापन हुन बाँकी रहेकाले गाउँपालिकाको प्रशासकीय काम पुरानै ठाउँबाट सेवा प्रवाह भइरहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो ।
रुकुम पश्चिमा ६ वटा स्थानीय तह रहेकामा चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाले आफ्नै पक्की भवनबाट सेवा प्रवाह गरिरहेका छन् । भने मुसिकोट नगरपालिका साबिकको जिल्ला कृषि विकास कार्यालयले निर्माण गरेको भवनबाट सेवा प्रवाह गरिरहेको छ । आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको भवन निर्माण जारी छ ।