
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सडक मर्मत सम्भारको भुक्तानीको विषयलाई लिएर तोडफोड भएको छ । सोमबार बिहान ११ बजेको सयमा आर्थिक प्रशासन शाखाकामा केही जनप्रतिनिधि, निर्माण व्यवसायी तथा उपभोक्ता समितिका प्रतिनिधिहरू प्रवेश गरी शाखामा रहेका सामग्रीहरू तोडफोड गरेका हुन् । नगरपालिकामा कार्यरत कर्मचारीहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै केही जनप्रतिनिधि र उपभोक्ता समितिका प्रतिनिधिले भुक्तानीको विषयलाई लिएर कर्मचारीलाई अभद्र व्यवहार तथा गालीगलौज गरी शाखामा रहेका सामग्रीहरू तोडफोड गरेको र यसबाट अभिलेख/ स्रेस्ता/ कागजातमा क्षति भएको उल्लेख गरिएको छ ।
सडक मर्मत सम्भारको भुक्तानीको विषयमा नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक धनकुमारी शाहीले अनुगमन प्रतिवेदनमा गरेको टिप्पणीको विषयलाई लिएर विवाद हुँदा शाखामा तोडफोड भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नगरपालिकाको सेवा प्रवाहमा देखिएका कुनै पनि समस्याहरू वार्ता, छलफल र संवादबाट समस्या समाधान गर्ने वा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै यस्ता प्रकारका अराजक. गतिविधिले नगरपालिकामा कार्यरत कर्मचारीहरू असुरक्षित हुन गई सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ, विज्ञप्तिमा भनिएको छ ।
कर्मचारीहरूले घटनाको छानबिन गरी दोषी माथि कारबाही गर्न सम्बन्धित सरोकारवालासँग समेत माग गरेका छन् । साथै, कार्यालयमा काम गर्ने सुरक्षित वातावरण नभएको भन्दै नगरपालिका मातहतका सम्पूर्ण शाखा, वडा कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरू स्थगन गरिएको समेत कर्मचारीहरूले विज्ञप्ति मार्फत जानकारी बनाएका छन् ।
कर्मचारीहरुले संयुक्त रुपमा जारी गरेकाे प्रेस विज्ञप्ति।