-1739180723.jpg)
कोही खानाका परिकार पकाउँदै छन्, कोही ग्राहक बोलाइरहेका छन् अनि कोही सामग्रीको बन्दोबस्त मिलाउँदै छन् । ग्राहकहरू आफूले चाहेको खानेकुरा खाइरहेका छन् । कोही शैक्षिक सामग्री तथा स्थानीय सामग्री नियाल्दै छन् । यो दृश्य हो रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँमा अवस्थित न्यु मुन लाइट बोर्डिङ स्कुलको । सोमबार बिहानैबाट स्कुलको माहौल नितान्त फरक छ । पठनपाठनमा रमाउने न्यु मुन लाइट सोमबार बिहानैबाट भने फरक वातावरणमा रमाइरहेको छ ।
यस स्कुलमा अध्ययनरत विद्यार्थीहरूले आफ्नै लगानीमा शैक्षिक सामग्री प्रदर्शनी तथा खाद्य मेला आयोजना गरेका छन् । यसमा विद्यालयले सहजीकरण गर्दिएको छ । विद्यार्थीहरू आफैले विभिन्न प्रकारका खाना पकाइरहेका छन् भने आफैले बेचिरहेका छन् । २०/२० जनाको समूह विभाजन गरिएको छ भने गोला प्रथा मार्फत खानाको परिकारको जिम्मा दिइएको छ । सोही अनुसार विद्यार्थीहरूले खानेकुरा पकाएर बिक्रीमा राखेका छन् ।
खाद्य मेला हेर्न विद्यालयमा पुगेका अभिभावक, शिक्षक तथा अन्य व्यक्तिहरूले किनेर खाइरहेका छन् । विद्यार्थीहरूलाई खाना पकाउन र बिक्री गर्न भ्याई नभ्याई छ । आफूले बनाएको खाना बिक्री हुँदा विद्यार्थीहरू मक्ख छन् । छात्रा समृका पुन मगर आफूहरूलाई चिकेन आइटमकाे स्टल भाग परेको र सोही अनुसार चिकेन आइटमहरू बनाएर बिक्री गरिरहेको बताउनुभयो ।
आफूहरूले बनाएको ललिपप ग्राहकले मिठो मानी खाएको देख्दा खुसी लागेको उहाँले बताउनुभयो । पढाई मात्र भन्दा पनि विद्यार्थीहरूलाई यस्ता कार्यक्रमले सृजनशील बन्न सहयोग गर्ने उहाँको विश्वास छ । आफूमा क्षमता विकास गर्ने देखि आफूमा भएको सीप देखाउनका लागि यो कार्यक्रम निकै नै प्रभावकारी रहेको उहाँले बताउनुभयो ।
अर्की छात्रा चेतना बुढाथोकीले पनि खाद्य मेला कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउनुभयो । अन्य जिल्लामा यस्ता कार्यक्रमहरू भइरहने भए पनि रुकुम जिल्लामा भने पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको र यो कार्यक्रममा सहभागी हुन पाउँदा गर्वको महसुस भएको उहाँले बताउनुभयो ।
यो कार्यक्रमले विद्यार्थीलाई सृजनशील बनाउने उहाँको विश्वास छ । साथै पढ्दै कमाउँदै गर्नमा समेत यस्ता कार्यक्रमले निकै टेवा पुग्ने उहाँको भनाई छ । आफूहरूले आफू भित्र भएको सीप देखाउन पाउने अवसरका साथ साथै केही नयाँ सिक्ने र त्यसबाट व्यवहारमा परिवर्तन ल्याउन यो कार्यक्रम फलदायी रहेको उहाँले बताउनुभयो ।
विद्यार्थीहरूमा व्यवहारिक ज्ञानको विकासका लागि यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल खड्कबहादुर कँवरले जानकारी दिनुभयो । किताबी ज्ञान मात्र नभई व्यवहारिक ज्ञानको खाँचो रहेकोले विद्यार्थीहरूकै लगानीमा यो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । यो कार्यक्रमका लागि विद्यार्थी आफैले पैसा उठाएको र यो कार्यक्रम सकिएपछि सबै हिसाब गरेर विद्यार्थीले खाना बचेर जम्मा भएको पैसा उनीहरूलाई दिने उहाँले बताउनुभयो ।
उनीहरूले उठाएको साँवा रकम मर्न नदिने उहाँले बताउनुभयो । विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रममा जोड्न समेत यो कार्यक्रमले टेवा पुग्ने उहाँको विश्वास छ । अब कम्तीमा ८ कक्षा भन्दा माथिका विद्यार्थीहरूले कमाउने हुनै पर्छ यसका लागि उनीहरूमा सीप विकासको आवश्यकता छ, यो कार्यक्रमले विद्यार्थीहरूमा सीप विकासका लागि ठुलो टेवा पुग्छ, उहाँले भन्नुभयो । विद्यालयमा १५ वटा खानाका स्टल राखिएको छ ।
यसका अलावा विद्यार्थीहरू आफैले निर्माण गरेका र पठन पाठनमा प्रयोग हुने हरेक प्रकारका शैक्षिक सामग्रीहरू पनि प्रदर्शनीमा राखिएको प्रिन्सिपल कँवरले बताउनुभयो । यसका अलावा स्थानीय स्तरमा पाइने डोको, नाङ्लो, गाग्री, मादल, स्याकु, गुन्द्री, सुपो, ठेकी, चकटी, मादल, दमाहा लगायतका सामग्री समेत प्रदर्शनीमा राखिएको छ ।
शैक्षिक सामग्री प्रदर्शनी तथा खाद्य मेलाको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै नगर प्रमुख केसीले विद्यार्थीहरूलाई किताबी ज्ञान सँगै व्यवहारिक ज्ञानको खाँचो भएको बताउनुभयो । यो कार्यक्रमले विद्यार्थीलाई ठुलो व्यवहारिक ज्ञान दिएको भन्दै उहाँले यो कार्यक्रमका लागि विद्यालयलाई धन्यवाद समेत दिनुभयो ।
थप फाेटाे हेर्नुहाेस्