कोरोना संक्रमित दम्पतीको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका, ५ का कोरोना संक्रमित श्रीमान र श्रीमतीको मृत्यु भएको हो । दुई दिनको फरकमा उनिहरुको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । दुवै जनाको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
६७ वर्षीय श्रीमतीको जेठ २ गते मृत्यु भएको हो भने ७० वर्षीय श्रीमानको मंगलबार दिउँसो जिल्ला अस्पतालमा मृत्यु भएको अस्पतालका कोरोना रोग फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो । खोकी, ज्वरो, श्वास प्रश्वासमा समस्या भएपछि दुवै जनालाई एकै साथ जिल्ला अस्पताल ल्याइएको थियो ।
श्रीमतीको जिल्ला अस्पताल पुर्याउन वित्तिकै मृत्यु भएको थियो । उनको एन्टिजेन परीक्षण मृत्यु भएपछि मात्रै गरिएको थियो । उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यतिबेलै कोरोना संक्रमण पुष्टि भएका श्रीमानको भने उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको हो ।