
रुकुम पूर्वमा पेट्रोल पम्प सञ्चालनमा आएको छ । जिल्लामा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको हो । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ को काँक्रीमा पेट्रोल पम्प सञ्चालनमा आएको हो । भूमे गाउँपालिकाका पूर्व अध्यक्ष रामसुर बुढाले मध्यपहाडी लाेकमार्गमा पेट्रोल पम्प सञ्चालनमा ल्याउनु भएको हो ।
यस अघिसम्म जिल्लामा पेट्रोल पम्प सञ्चालनमा थिएनन् । अब जिल्लामा गुणस्तरीय पेट्रोल तथा डिजेल तेल पाइने भएको छ । यस क्षेत्रमा पेट्रोल पम्प नहुँदा आफू खुसी मूल्य मूल्य निर्धारण हुने गरेको थियो । त्यसले गर्दा जिल्लावासी मर्कामा परेका थिए । बुढा आयल स्टोरको नाममा पेट्रोल पम्प सञ्चालनमा आएको छ ।
लामो समयको प्रयासपछि पेट्रोल पम्प सञ्चालनमा ल्याएको सञ्चालक रामसुर बुढाले जानकारी दिनुभयो । विभिन्न चुनौतीलाई पार गरेर आठ वर्ष पछि पेट्रोल पम्प सञ्चालन गर्न सफल भएको उहाँले बताउनुभयो । करिब दुई करोड ५० लाख रुपैयाँको लागतमा पेट्रोल पम्प सञ्चालनमा ल्याएको बुढाले बताउनुभयो ।
आज एक कार्यक्रमका बिच पेट्रोल पम्पको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले पेट्रोल पम्पको रिबन काटेर उद्घाटन गर्नुभएको हो । पेट्रोल पम्पको उद्घाटन गर्दै समन्वय प्रमुख श्रेष्ठले अब जिल्लामा सञ्चालन हुने सवारी साधनले गुणस्तरीय तेल पाउने बताउनुभयो ।
अहिलेसम्म जिल्लामा पेट्रोल पम्प नहुँदा तेलको गुणस्तरमा प्रश्न उठ्दै आएको थियो । अब भने जिल्ल भित्रिने तथा जिल्लाबाट बाहिरिने सवारी साधनहरूले गुणस्तरीय तेल पाउने उहाँले बताउनुभयो ।
पेट्रोल पम्प सञ्चालक बुढाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रेष्ठ, भूमे गाउँपालिका अध्यक्ष हाेमप्रकाश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, पुथाउत्तरगंगा उपाध्यक्ष नरपुरा बुढा पुन, जिल्ला प्रहरी प्रमुख डिएसपी माधवराज खरेल, निमित्त जिल्ला समन्वय अधिकारी जसीराम खड्का, विभिन्न वडाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।