
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ को साकिममा ८ महिने नाबालक सहित दुई जनाको हत्या भएको छ । आज दिउँसो ३ बजेको समयमा एकै घरका आठ महिनाको समीर बुढा र ६० वर्षीय ढाँटी बुढाको हत्या भएको हो ।उनीहरू नाति र हजुरआमा हुन । सोही ठाउँका ५१ वर्षीय चन्द्रसिङ पुनले उनीहरूको हत्या गरेको प्रहरीले जनाएको छ ।
दुवै जनाको खुकुरी प्रहार गरेर हत्या गरिएको छ । स्थानीयले घटनाको बारेमा जानकारी गराए पश्चात् प्रहरी घटनास्थलमा पुगेको छ । घटनास्थल पुग्दा दुवै जनाको मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिङ पुनकाे पनि मृत्यु भएको छ । हत्या गरेर भाग्ने क्रममा भीरबाट खसेर सोही वडाको खुलखुले खोलामा उनकाे शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलले जानकारी दिनुभयो । उनले भिरबाट हामफालेर आत्महत्या गरेकाे आशंका छ ।
चन्द्रसिङको शव अहिले घटना स्थलमै छ भने समीर र ढाँटीकाे शव जिल्ला अस्पताल रुकुमकोटमा राखिएको छ । के कारणले हत्या भयाे भन्ने नखुलेकाे र घटनाकाे अनुसन्धान चलिरहेकाे डिएसपी खरेलले जानकारी दिनुभयाे ।