
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको शीतल माध्यमिक विद्यालयमा ज्ञापन पत्र बुझाइएको छ । मङ्गलवार अनेरास्ववियू (क्रान्तिकारी) विद्यालय समितिले विभिन्न माग राख्दै विद्यालय प्रशासनलाई ज्ञापन पत्र बुझाएको हो । अखिल क्रान्तिकारीका विद्यालय संयोजक राकेश मल्लले विद्यालय सुधारका लागि विभिन्न माग राख्दै विद्यालयलाई ज्ञापन पत्र बुझाएको बताउनुभयो ।
उहाँका अनुसार विद्यालय प्रशासन र नगर शिक्षा शाखालाई समेत बोधार्थ बनाएर ज्ञापन पत्र बुझाइएको हो । 'प्राविधिक धारतर्फ विद्यार्थी खाली भएको कोटामा मनोमानी ढङ्गले बाहिरका विद्यार्थी भर्ना गर्ने गरेको देखिन्छ, स्थानीय तथा गरिब विपन्न विद्यार्थीलाई विशेष प्राथमिकतामा राखी खुला प्रतिस्पर्धाबाट खाली रहेको कोटामा विद्यार्थी भर्ना गर्नुपर्छ' ज्ञापन पत्रमा भनिएकाे छ ।
त्यस्तै पढाइमा भएको अनियमितता प्रति विद्यालय प्रशासनको ध्यान जानुपर्ने, ल्याब र लाइब्रेरी व्यवस्थित गर्न सरकारले कर्मचारीको व्यवस्था गर्दा पनि लामो समय देखी विद्यालयले कर्मचारी नियुक्त नगरेकाले तत्काल कर्मचारी नियुक्ति गर्नुपर्ने, विद्यालयमा कम्प्युटर ल्याब भए पनि सञ्चालनमा नआएकोले तत्काल सञ्चालनमा ल्याउनु पर्ने माग राखिएको छ ।
त्यसैगरी सार्वजनिक लेखा परीक्षण तत्काल गर्नुपर्ने, सरसफाइका सामग्री उपलब्ध गराउनु पर्ने, विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, कक्षा ११ र १२ को बिहानको कक्षामा विद्यार्थीको चाप अत्यधिक भएको हुँदा सेक्सन विभाजन गरेर पठनपाठन सञ्चालन गर्नुपर्ने, विद्यार्थीबाट क्यान्टिनले खाजाको पैसा मनोमानी तरिकाले लिनुका साथै गुणस्तरहीन खाजा खुवाउने गरेको हुँदा यस्ता कार्यप्रति विद्यालय प्रशासनको ध्यान जानुपर्ने माग राखिएको छ ।
बत्तीको अभावको कारण बिहान हुने पढाइ प्रभावित भएकाले तत्काल बत्तीको व्यवस्था गर्नुपर्ने, कक्षा ११ र १२ मा अतिरिक्त कक्षा पढाएको दिनको मात्र सेवा सुविधा लिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारी शीतल माध्यमिक विद्यालय समिति चौरजहारीले जनाएको छ ।