
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड वडा नम्बर ५ को रुक्मिणी माध्यमिक विद्यालयले जितेको छ । २४ गते देखि सुरु भएको शिल्डमा सहभागी ९ वटा माध्यमिक विद्यालयलाई पछि पार्दै रुक्मिणी माविले शिल्ड हात पारेको हो । रुक्मिणी माविले १३ स्वर्ण, ९ रजत र ४ कांस्य गरी कुल २६ पदक प्राप्त गर्याे ।
यस्तै ८ स्वर्ण, ५ रजत र ९ कांस्य गरी जम्मा २२ पदक प्राप्त सिस्ने गाउँपालिका वडा नम्बर ६ को त्रिभुवन जनता मावि छिप्रीदह दोस्रो तथा ५ स्वर्ण, ६ रजत र ७ कांस्य गरी १८ पदक प्राप्त गरेर सिस्ने ३ को जनता मावि पोखरा तेस्रो भएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिंह बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिल्डमा गाउँपालिका भित्रका ९ वटा सामुदायिक र एउटा संस्थागत गरी १० वटा विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । शिल्डमा छात्र, छात्रा भलिबल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुटमा प्रतिस्पर्धा भएकाे थियाे ।
त्यस्तै दौड तर्फ छात्र, छात्रा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड, छात्र, छात्रा रिले दौड, तेक्वान्दो र कराते प्रतियोगिता पनि सञ्चालन भएको शाखा प्रमुख बुढाले जानकारी दिनुभयो । रुक्मिणी माविको खेल मैदानमा सञ्चालन भएको शिल्डकाे मङ्गलवार एक कार्यक्रमका बिच समापन गरिएको छ।