Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी र त्रिवेणी गाउँपालिकाले पनि दिए ‘जनयुद्ध दिवस’मा बिदा 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिएका छन् । गाउँ कार्यपालिकाबाट निर्णय गर्दै सानीभेरी र त्रिवेणीले ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएका हुन् ।

सानीभेरी गाउँपालिकाले ‘जनयुद्ध दिवस’को अवसर पारी सातौँ मौराखारा राष्ट्रिय गुरिल्ला म्याराथन समेत आयोजना गरेको छ । ‘जनयुद्ध दिवस’को अवसरमा सञ्चालन हुँदै आएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन यस वर्ष पनि सातौँ संस्करणको रूपमा फागुन १ गते भव्य रूपमा हुने र उक्त दिन पालिकास्थित सम्पूर्ण सरकारी कार्यालयहरू र शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले ‘जनयुद्ध दिवस’काे अवसरमा फागुन १ गते गाउँपालिका अन्तर्गतका सबै सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको एक सूचना मार्फत जानकारी गराउनुभएको छ । जिल्लाको बाँफिकोट गाउँपालिकाले पनि यस अघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । जिल्लाका चौरजहारी, आठबिसकोट र मुसिकोट नगरपालिकाले भने अहिलेसम्म बिदाका बारेमा केही खुलाएका छैनन् ।

sanibheri-1739343156.jpg

tribeni-1739343156.jpg

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update