Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा मापदण्ड विपरित संचालनमा रहेका चारवटा पेट्रोल तथा डिजेल पसल सिल

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजार क्षेत्रमा अनधिकृत रूपमा सञ्चालित पेट्रोल तथा डिजेल पसल सिल गरिएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी नेतृत्वको अनुगमन समितिले अनुगमन गर्दा मापदण्ड विपरीत सञ्चालन रहेका पेट्रोल तथा डिजेल पसल सिल गरेको हो । मापदण्ड विपरीत सञ्चालन गरिएका ४ वटा पेट्रोल तथा डिजेल पसल सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मुसिकोट नगरपालिका ५ सेरिगाउँमा प्रकाश बुढाले सञ्चालन गरेको पेट्रोल तथा डिजेल  पसल, बागबजारमा रहेको समृद्धि आयल स्टोर,  त्रिवेणी चोकमा रहेको दाजुभाइ अटो पार्टस एन्ड सप्लायर्स र पातुखोलामा दीपक पुनले सञ्चालन गरेको पेट्रोल तथा डिजेल पसलमा ताला लगाएर सिल गरिएको हो । साथै पम्पलाई  जरिवाना समेत गरिएको छ । 

FB_IMG_1739361513354-1739361560.jpg
बागबजारमा रहेको समृद्धि आयल स्टोरलाई १० हजार र त्रिवेणी चोकमा सञ्चालनमा रहेको दाजुभाइ अटो पार्टसलाई ५ हजार गरेर १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । संस्थागत रूपमा सञ्चालन भएका तर प्रक्रिया नपुर्‍याएकालाई जरिवाना गरिएको हो भने व्यक्तिगत रूपमा सञ्चालन भएकालाई भने जरिवाना गरिएको छैन । उनीहरूलाई पनि सचेत गराएको छ ।  

पेट्रोल तथा डिजेल बिक्री वितरणको लागि प्रक्रिया पुर्‍याउन तीन दिनको समय दिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ रेग्मीले जानकारी दिनुभयो । अनुगमन गर्दा सेरिगाउँमा रहेका प्रकाशको पसलमा २ सय लिटर पेट्रोल, २ सय लिटर डिजेल रहेको पाएको छ । त्यस्तै बागबजारमा रहेको समृद्धि आयल स्टोरमा ५ सय ५० लिटर पेट्रोल र ७ सय ५० लिटर डिजेल, त्रिवेणी चोकमा रहेको दाजुभाइ अटो पाटर्समा ३ सय ४० लिटर पेट्रोल र १ हजार १ सय डिजेल, पातुखोला रहेको दीपकको पसलमा ५ सय पेट्रोल, १७ सय ७० लिटर डिजेल रहेको पाएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

उपभोक्तालाई ठगिनबाट जोगाउन र मापदण्ड पुर्‍याएर सञ्चालन गरेका पेट्रोल पम्प व्यवसायीलाई बिक्री वितरण गर्न  समस्या नहोस् भनेर मापदण्ड विपरीत सञ्चालन गरिएका पेट्रोल पसलहरूलाई सिल तथा जरिवाना समेत गरिएको अनुगमन समितिले जनाएको छ । अनुगमन जिल्लाभर केन्द्रित हुने र अटेरी गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने समितिले चेतावनी समेत दिएको छ ।

02700ad9-78b9-4c74-8e84-971c86dafd6f-(1)-1739356070.jpeg

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update