Kakhara सबैको खबर सम्पूर्ण खबर
हो... माओवादी जनयुद्ध हिंसा हो

हो...
माओवादी जनयुद्ध हिंसा हो ।
सदियौँदेखि दोस्रो दर्जाको नागरिक बनाइएका
महिलाहरूलाई राज्यको मूल धारमा ल्यायो,
छुवाछूत जस्तो अमानवीय हिंसा सहेर बसेका
दलित समुदायलाई बोल्न सिकायो,
छाती नापेर केवल सेना,प्रहरी र लाहुरेमा मात्रै जागिर पाउने
जनजातिहरू लाई मूलधारको राजनीतिमा समाहित बनायो,
छाक टार्न मुस्किल पर्ने
गरिब तथा उत्पीडित वर्गलाई सिंहदरबार छिरायो,
त्यसैले माओवादी जनयुद्ध हिंसा हो।
बालुवाटार र सिंहदरबारको अधिकार
गाउँ गाउँमा पुर्‍यायो,
पिछडिएका दुर्गम बस्तीमा सडक पुर्‍यायो,
अन्धकार सहरमा बिजुली पुर्‍यायो,
डोल्पा र हुम्लामा औषधि पुर्‍यायो,
घरेलु कामदार र कमैयाहरूलाई
निःशुल्क शिक्षाको पहुँचमा पुर्‍यायो,
त्यसैले माओवादी जनयुद्ध हिंसा हो ।
माओवादी जनयुद्ध हिंसा हो भने,
मुक्ति सेना बनाएर काङ्ग्रेसले गरेको युद्ध के हो ?
ओलीहरूले खाना खादै गरेका धर्म ढकालहरूको
टाउको काट्नु के हो ?
पढ्दै गरेका स्कुले दिलबहादुर लाई
स्कुल हाता भित्रै गोली हान्नु के हो ?
राजनीतिक आस्थाकै कारण
गाउँ निकाला गर्नु के हो ?
हो.....
माओवादी जनयुद्ध हिंसा हो ।

तर,
मेलगैरीका निर्दोष खत्री बन्धुहरूलाई
गोली हान्नु के हो ?
दुलितिर ३ महिने सुत्केरीलाई
लेखेटी लखेटी हत्या गर्नु के हो ?
खाराका बस्तीहरू
दिउँसै आगो लगाउनु के हो ?
निर्दोष महिलाहरूलाई
सामूहिक बलात्कार गरी हत्या गर्नु के हो ?
हो ...
माओवादी जनयुद्ध हिंसा हो ।

तर,
जनता मारेर आतङ्ककारी मारियो भन्दै
राज्यबाट पैसा असुली गर्नु के हो ?
किसानका भैँसी फुकाएर भिरमा लखेट्नु के हो ?
नेताहरूका टाउकोको मूल्य तोक्नु के हो ?
माओवादीको आरोप लगाउँदै
शिक्षकहरूको जागिर खोसिनु के हो ?
नक्कली माओवादीको नाम भजाएर
हत्या र आतङ्क के हो ?
हो ...
माओवादी ले जनयुद्ध मार्फत हिंसा गर्‍यो

तर,
लाउडा र वाइडवडी काण्ड गरेन,
महाकाली र कोसी सम्झौता गरेन,
यति र ओम्नी गरेन,
कोरानाकालमा
मास्क र प्याडबाट कमिसन खाएन ।
हो ......
माओवादी ले हिंसा गर्‍यो

तर,
एन सेल को कर छुट दिएन,
कुलमानहरूलाई कारबाही गरेन,
अरबपतिको बिजुली बक्यौता मिनाहा गरेन,
अध्यादेशबाट शासन गर्ने अभ्यास गरेन ।
हो......
माओवादीले हिंसा गर्‍यो,

तर,
प्रहरी कुट्ने गुन्डाहरूको बचाउ गरेन,
बालिकालाई घरेलु कामदार राख्ने
रेखा शर्माहरू लाई उन्मुक्ति दिएन,
भुटानी शरणार्थीका नाइकेहरूलाई
मन्त्री बनाएन,
सामाजिक अभियान्ताहरुलाई जेल हालेन ।
यति फरक छ माओवादी र तपाईँहरूमा ।
महान् जनयुद्ध जिन्दाबाद !

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update