
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ सुरु गरेको सम्झनामा बिहीबार ‘जनयुद्ध दिवस’ मनाइँदै छ । नेकपा माओवादी केन्द्रले बिहीबार भोली देशभरमा भव्य रूपमा ‘जनयुद्ध दिवस’ मनाउन परिपत्र गरेको छ । ‘जनयुद्ध’को उद्गम थलो रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरी ‘जनयुद्ध दिवस’ मनाइँदै छ । दिवस मनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव, सङ्गठन विभाग प्रमुख तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकर र पूर्व मन्त्री सुदन किराँती रुकुम पश्चिम आइपुग्नुभएको छ ।
जिल्ला पुग्ने बित्तिकै उहाँहरूले मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको सहिद प्रतिष्ठानमा रहेका सहिदका सालिकमा पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको गर्नुभयो । उहाँहरूलाई नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । उहाँहरू भोली जिल्लाको सानीभेरी गाउँपालिकामा ‘जनयुद्ध दिवस’को अवसरमा आयोजित गुरिल्ला म्याराथन कार्यक्रममा सहभागी हुनुहुने छ । उहाँहरूले दुवैले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यसअघि बिहान उहाँहरू ‘जनयुद्ध दिवस’को अवसरमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर समितिले शेरिगाउँमा अवस्थित सहिद प्रतिष्ठानमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनुहुने छ । जिल्लाभरमा भोली ‘जनयुद्ध दिवस’का अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपलमा जनवादी मेला लाग्दै छ । जिल्लाका ४ वटा स्थानीय तहले भोली ‘जनयुद्ध दिवस’का अवसरमा सार्वजनिक बिदा समेत दिएका छन् ।