Kakhara सबैको खबर सम्पूर्ण खबर
`जनयुद्ध दिवस´को अबसरमा सानीभेरीमा आज माैराखारा गुरिल्ला म्याराथन हुँदै
फाइल फाेटाे ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आज माैराखारा सातौँ राष्ट्रिय गुरिल्ला म्याराथन हुँदै छ । `जनयुद्ध दिवस´को अवसरमा गाउँ खेलकुद विकास समितिकाे व्यवस्थापन र राष्ट्रिय खेलकुद परिषद् राखेपकाे सहयोगमा सानीभेरी गाउँपालिकाले म्याराथन आयोजना गरेको हो ।

म्याराथनको सम्पूर्ण तयारी पूरा भएको गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयो । उहाँका बिहान ९ बजे म्याराथनको उद्घाटन हुने छ ।

कार्यक्रममा पूर्व मन्त्री द्वय जनार्दन शर्मा र सुदन किराँती लगायतका नेता सहभागी हुने बताइएको छ । म्याराथन सँगै जिल्ला स्तरीय `जनयुद्ध दिवस´ विशेष कार्यक्रम सानीभेरीमा आयोजना गरिएको छ । 

सानीभेरी गाउँपालिकाले `जनयुद्ध दिवस´को अवसरमा हरेक वर्ष राष्ट्रिय गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ । यस वर्ष पनि `जनयुद्ध दिवस´को अवसरमा ‘समाजवाद उन्मुख समृद्धिको पहिलो आधार, उत्पादन र पूर्वाधार सहितको शिक्षा स्वास्थ्य र रोजगार’ भन्ने नारा सहित फागुन १ गते सातौँ संस्करणको राष्ट्रिय गुरिल्ला म्याराथन हुने भएको हो ।

महिला तथा पुरुष तर्फ प्रतिस्पर्धा हुँदै आएको छ । सातौँ संस्करणको पुरुष तर्फको प्रथमले १ लाख पुरस्कार पाउने सानीभेरी गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव नकालले जानकारी दिनुभयो । उहाँका अनुसार म्याराथनमा पुरुष तर्फको द्वितीयले ७५ हजार, तृतीयले ४५ हजार, चौथोले १५ हजार र दशौँ स्थानसम्म हासिल गर्ने धावकलाई समान ३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै महिला तर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार पुरस्कार प्राप्त गर्ने सदस्य सचिव नकालले जानकारी दिनुभयो । चौथो हुनले १० हजार पुरस्कार प्राप्त गर्दा दशौँ स्थानसम्म हासिल गर्ने धावकले समान ३ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । गुरिल्ला म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद् राखेपले आफ्नो वार्षिक क्यालेन्डरमा समावेश गर्नुका साथै प्रतियोगिताका लागि सहयोग समेत गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update