Kakhara सबैको खबर सम्पूर्ण खबर
मौराखारा सातौँ गुरिल्ला म्याराथन सुरु 

जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मौराखारा सातौँ राष्ट्रिय गुरिल्ला म्याराथन सुरु भएको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री जनार्दन शर्मा र पूर्व मन्त्री सुदन किराँतीले संयुक्त रुपमा म्याराथनको उद्घाटन गर्नुभयो । पुरुष तथा ५३ जना धावकहरूले भाग लिएका छन् भने महिला तर्फ ३२ जना धावकले भाग लिएको बताइएको छ ।

सानीभेरी गाउँ खेलकुद विकास समितिको व्यवस्थापन र राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोगमा सानीभेरी गाउँपालिकाले म्याराथन आयोजना गरेको हो । पुरुष तर्फ ४८ किलोमिटर दुरी पार गर्नुपर्ने भने महिला तर्फ ३४ किलोमिटर दुरी तय गर्नुपर्ने छ । 

सानीभेरी गाउँपालिकाले `जनयुद्ध दिवस´को अवसरमा हरेक वर्ष राष्ट्रिय गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ । यस वर्ष पनि `जनयुद्ध दिवस´को अवसरमा ‘समाजवाद उन्मुख समृद्धिको पहिलो आधार, उत्पादन र पूर्वाधार सहितको शिक्षा स्वास्थ्य र रोजगार’ भन्ने नारा सहित फागुन १ गते सातौँ संस्करणको राष्ट्रिय गुरिल्ला म्याराथन हुने भएको हो ।

महिला तथा पुरुष तर्फ प्रतिस्पर्धा हुँदै आएको छ । सातौँ संस्करणको पुरुष तर्फको प्रथमले १ लाख पुरस्कार पाउने सानीभेरी गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव नकालले जानकारी दिनुभयो । उहाँका अनुसार म्याराथनमा पुरुष तर्फको द्वितीयले ७५ हजार, तृतीयले ४५ हजार, चौथोले १५ हजार र दशौँ स्थानसम्म हासिल गर्ने धावकलाई समान ३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै महिला तर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार पुरस्कार प्राप्त गर्ने सदस्य सचिव नकालले जानकारी दिनुभयो । चौथो हुनले १० हजार पुरस्कार प्राप्त गर्दा दशौँ स्थानसम्म हासिल गर्ने धावकले समान ३ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । गुरिल्ला म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद् राखेपले आफ्नो वार्षिक क्यालेन्डरमा समावेश गर्नुका साथै प्रतियोगिताका लागि सहयोग समेत गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update