
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा आयोजित सातौँ मौराखारा गुरिल्ला म्याराथन सम्पन्न भएको छ । म्याराथनमा देशका विभिन्न जिल्लाबाट धावकहरू सहभागी भएका थिए । पुरुष तर्फ ५३ जनाले प्रतिस्पर्धा गरेकामा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ का दुर्गा बुढा प्रथम हुन सफल भए भने महिला तर्फ ३२ जनाले प्रतिस्पर्धा गरेकामा जुम्लाकी कल्पना बुढा प्रथम भइन ।
निर्धारित ४८ किलोमिटर दुरी ४ घण्टा ५२ मिनेटमा पुरा गरेका बुढाले प्रथम हुँदै नगद १ पुरस्कार हात पारे । बुढाभन्दा १ मिनेटले मात्र पछि परेका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का भुवन ओली दोस्रो भए । निर्धारित दुरि ४ घण्टा ५३ मिनेटमा पुरा गर्दै द्वितीय भएका ओलीले नगद ७५ हजार पुरस्कार पाए । जुम्लाका शेरबहादुर बढा तेस्रो हुँदा रुकुम पूर्वको भूमे गाउँपालिकाका शक्तिराम बुढा चौथो भए ।
उनीहरूले क्रमशः ४५ हजार र १५ हजार प्राप्त गरे । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का अर्जुन बस्नेत पाँचौँ, सोलुखुम्बुका विशाल राई छैटौँ, जुम्लाका धिरबहादुर बुढा सातौँ, सोलुखुम्बुका मिलन राई आठौँ, जुम्लाका सोमबहादुर रावल नवौँ स्थानमा रहे । उनीहरूले समान ३ हजार नगद पुरस्कार प्राप्त गरेको सानीभेरी गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयो ।
महिला तर्फ प्रथम भएकी जुम्लाकी कल्पना बुढाले निर्धारित ३४ किलोमिटर दुरी ३ घण्टा १४ मिनेटमा पार गरिन । उनले नगद ६० हजार पुरस्कार प्राप्त गरेको सदस्य सचिव नकालले जानकारी दिनुभयो । निर्धारित दुरी ३ घण्टा १६ मिनेटमा पार गरेकी जुम्लाकी राज्यलक्ष्मी रावत द्वितीय, ३ घण्टा ५७ मिनेटमा दुरी पार गर्दै जुम्लाकै सन्दीपा बुढा तृतीय र जुम्लाकै मिमु बुढा चौथो भइन । उनीहरूले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
जुम्लाकै समिता बुढा पाँचौँ, ओखलढुंगाकी छोकी शेर्पा छैटौँ, रुकुम पश्चिम सानीभेरी ३ की सुशीला पुन सातौँ, ओखलढुंगाकी सोनिमा शेर्पा आठौँ, भोजपुरकी सुष्मा राई नवौँ र विनिता पुन दशौँ हुन सफल भए । महिला तर्फ पनि पाँचौँ देखि दशौँ सम्मका धावकहरूले समान ३ हजार नगद पुरस्कार पाए ।
महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीइ, तृतीय र सान्त्वनालाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था थियो भने पाँचौँ देखि दशौँ सम्मका धावकलाई नगद सहित मेडल र प्रमाण पत्रको व्यवस्था रहेको सानीभेरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष भिमप्रकाश बिकले जानकारी गराउनुभयो । यो पटक म्याराथनमा महिला तर्फ जुम्लाको वर्चस्व रह्यो ।
जुम्लाबाट सहभागी ५ जना महिला खेलाडी सहभागी भएकामा उनीहरू प्रथम देखि पाँचौँ हुन सफल भए भने पुरुष तर्फ तीन जना सहभागी बनेकामा एक जना तेस्रो र एक जना सातौँ हुन सफल भए । विजयी धावकहरूलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव, संगठन विभाग प्रमुख तथा पूर्व मन्त्री जनार्दन शर्मा, पूर्व मन्त्री सुदन किराँती र नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।