Kakhara सबैको खबर सम्पूर्ण खबर
विप्लव जी, सुदर्शन जी, लोकेन्द्र जीहरू..  आउनुहोस्  एकता गरौँ: जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले जनयुद्धप्रति सबैले गर्व गर्नुपर्ने बताउनुभएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनयुद्ध हिंसा नभएको बताउनुभयो । 

जनयुद्ध हिंसा नभई हिंसा विरुद्धको प्रतिकार रहेको बताउनुभयो । ‘हामीले ४० बुँदे माग लिएर जाँदा बुझाउन दिइएन, ढोका बन्द गरियो, हामी माथि दमन गरियो, उत्पीडित वर्गमाथि भएको हिंसाको प्रतिकार जनयुद्ध भएको थियो, जनयुद्ध हिंसा होइन, यो त हिंसा विरुद्धको प्रतिकार हो, हिंसा त तत्कालीन राज्य व्यवस्थाले गरेको हो’ उहाँले भन्नुभयो ।

राज्यले हिंसा गरेर देशभरमा सयौँ निहत्था नागरिकहरूको ज्यान लिने काम गरेको र त्यसको विरुद्धमा जनताले विद्रोह गर्ने कुरा हिंसा हुन नसक्ने उहाँको भनाई छ । जनयुद्ध माथि कसैले प्रतिबन्ध लगाउन नसक्ने र कसैले प्रतिबन्ध लगाउँदैमा प्रतिबन्धित नहुने समेत उहाँले बताउनुभयो ।

‘जनयुद्ध भनेको जनताको आक्रोश हो, न्यायका लागि गरेको सङ्घर्ष हो, जनता कहिले पनि प्रतिबन्धित हुँदैनन्, जनताको आवाजलाई हिजो पनि बन्द गर्ने प्रयास गरियो, अहिले पनि प्रयास भइरहेको छ तर त्यो हामीलाई स्वीकार्य छैन, जनयुद्ध जनताको शक्ति हो, तागत हो, जनताको आवाज बुलन्द भइरहन्छ’ उहाँले भन्नुभयो ।

जनयुद्धले प्राप्त गरेको अधिकारको रक्षाका लागि सक्षम नेतृत्वको आवश्यकता रहेको उहाँले बताउनुभयो । सक्षम नेतृत्व नहुँदा जनयुद्धबाट प्राप्त उपलब्धि खतरामा रहेको तर आफूहरूले त्यसलाई गुम्न नदिने समेत उहाँले बताउनुभयो । कसैले प्राप्त अधिकार खोस्ने प्रयास गरेमा जनविद्रोह सुरु हुने र त्यसलाई कसैले रोक्न नसक्ने उहाँले बताउनुभयो । साथै उहाँले लोकतन्त्र लेख्ने मात्र नभई जीवनमा लागु गर्ने कुरा भएको पनि उहाँले बताउनुभयो ।

संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र लेखिएको र त्यसलाई पूरा गर्नका लागि प्राप्त उपलब्धिको रक्षा र जनताको विचारको कदर हुनुपर्ने उहाँको भनाई थियो । साथै नेपाली समाजवादको मौलिकता र विशेषताका बारेमा सबै पार्टीमा बहस हुनुपर्ने उहाँले बताउनुभयो । साथै उहाँले यो बहस कित्ताकाटका लागि नभई एकताबद्ध हुनका लागि हुनुपर्ने बताउनुभयो ।

‘माओवादी आन्दोलनलाई कित्ताकाट आवश्यक छैन, माओवादी आन्दोलनलाई गोलबन्दीको आवश्यकता छ, त्यस कारणले म यो मञ्चबाट महान् जनयुद्ध दिवसको अवसरमा आह्वान गर्न चाहन्छु हाम्रा आदरणीय नेताहरूलाई-मोहन बैद्य किरण जीलाई, बाबुराम भट्टराई जीलाई, विप्लव जीलाई, धर्मेन्द्र जीलाई, हेमन्त जीलाई, लोकेन्द्र जीलाई, गोपाल किराँती जीलाई, विश्वभक्त दुलाल जी सबैलाई हृदय खोलेर एकतामा लाग्न अनुरोध गर्न चाहन्छु,’ उहाँले भन्नुभयो । पार्टी एकताका लागि पहल गर्न उहाँले माओवादी अध्यक्ष प्रचण्डलाई समेत आग्रह गर्नुभयो । 

यसैबिच उहाँले सरकारको ढिलाइका कारण जाजरकोट भूकम्प प्रभावितले दुःख पाइरहेको बताउनुभयो । भूकम्प प्रभावितले टहरामा गर्मी, बर्खा र हिउँद बिताएको र अब फेरी गर्मीयाम सुरु हुन लागेकोले तत्काल पुनर्निर्माणको काम सुरु गर्न सरकारलाई आग्रह गर्नुभयो । ढिलै भए पनि कार्यविधि निर्माण भएको र अब छिट्टै पुनर्निर्माण सुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । आफू सुरुवात देखि नै भूकम्प प्रभावितको साथमा रहेको र तत्काल उद्धार, राहत हुँदै अस्थायी आवास देखि पुनर्निर्माणका लागि निरन्तर पहल गरिरहेको पनि उहाँले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update