
रुकुम पश्चिमको बाँफिकोट वडा नम्बर २ का ३० वर्षीय नवीन केसीले एउटा थाली पाउनुभयो । केसीलाई सहिद परिवार समाज नेपाल बाँफिकोटले थाली दिएको हो । २०५२ साल फागुन १५ गते इलाका प्रहरी कार्यालय बाँफिकोटबाट गएको प्रहरीले केसीका बुवालाई पिपल गाविस तथा हालको बाँफिकोट २ को मेलगैरीमा हत्या गरेको थियो । बुवा कल बहादुर केसीको नाम अङ्कित बुवाको सम्झनामा उहाँले थाली आउनुभएको हो ।
२०५६ सालमा म्याग्दीको बेनी सदरमुकाममा तत्कालीन राज्य पक्ष प्रहरीद्वारा गोली हानी हत्या गरिएको १६ वर्षीय छोरा रमेश मल्लको सम्झनामा बाँफिकोट ३ की ६० वर्षीय कमला मल्ल पनि सम्मानित हुनुभयो । सहिद छोराको सम्झनामा सम्मान स्वरूप उहाँले थाली पाउनुभयो । बाँफिकोट ७ की ४७ वर्षीय मनकला विकले पनि श्रीमान् दुर्गे विकको सम्झनामा थाली पाउनुभयो छ । प्रहरीले २०५९ सालमा रोल्पामा गोली हानी विकको हत्या गरेको थियो ।
यसरी सम्झनामा थाली पाउने केसी, मल्ल र विक मात्र होइन बाँफिकोट गाउँपालिका भित्रका ९५ जना सहिका परिवार सम्मानित भएका छन् । राज्य तथा विद्रोही पक्षबाट ज्यान गुमाएका सहिदका परिवारलाई ३० औँ जनयुद्ध दिवसको अवसरमा काँसका थालीले सम्मान गरिएको हो । बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोग तथा सहिद समाज नेपाल बाँफिकोटको आयोजनामा बिहीबार २ नम्बर वडा स्थित मेलगैरी सहिद स्मृति पार्कमा थाली वितरण गरिएको हो ।
कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माले सहिदका आफन्तलाई थाली वितरण गर्नुभएको हो । बाँफिकोट ६ की मनकला पुनले हरेक वर्ष सरकारले सहिदका आफन्तलाई सम्मान गर्दा मन खुसी लाग्ने गरेको बताउनुभयो । आफन्तहरू मरेर सहिद भए पनि सरकारले सहिदका आफन्तलाई नबिर्सिएको उहाँले बताउनुभयो ।
पालिकाको चार लाख बजेटबाट ९५ वटा काँसका थाली खरिद गरिएको थियो । सबै सहिदका आफन्तलाई एक÷ एक वटा काँसका थाली वितरण गरिएको हो । सहिद परिवार समाज नेपाल बाँफिकोटका अनुसार सहिदका आफन्तलाई सम्मान गर्न थालेको आठ वर्ष पुरा भएको छ ।
सुरुका दुई वर्ष बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले सहिदका आफन्तलाई सम्मान गरेको भए पनि त्यसयता भने पालिकाले सम्मान गर्दै आएको छ। सहिदको नाम अङ्कित थाली सहिदका परिवारलाई दिइएको सहिद परिवार समाज बाँफिकोटका अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिनुभयो । सहिदको सम्झना र आफन्तको सम्मानको लागि हरेक वर्ष यो कार्यक्रम गर्ने गरिएको उहाँले बताउनुभयो ।
१ नम्बर वडाका ७, २ नम्बर वडाका ३१, ३ नम्बर वडाका ६, ४ नम्बर वडाका पाँच तथा ५ नम्बर वडाका ९ जना सहिदका आफन्त सम्मानित भएका छन् । यस्तै ६ नम्बर नम्बर वडाका १५, ७ नम्बर वडाका तीन, ८ नम्बर वडाका १०, ९ नम्बर वडाका एक तथा १० नम्बर वडाका सात जना सहिद परिवारलाई पनि सम्मान गरिएको छ ।
सहिद परिवार समाज बाँफिकोटका अध्यक्ष खत्रीले अध्यक्षता रहेको कार्यक्रममा पूर्व मुख्य मन्त्री राजकुमार शर्माको प्रमुख तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका सदस्य द्वय धर्मबहादुर केसी र कलबहादुर नाथको विशेष आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य द्वय मनबहादुर बादी र इन्दिरा बिएम, बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष दक्ष पुन, नेकपा माओवादी केन्द्र बाँफिकोटका पूर्व पालिका अध्यक्ष चन्द्रबहादुर केसी, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहिद परिवार समाज नेपाल बाँफिकोटका सदस्य कर्णबहादुर खत्रीले गर्नुभएको थियो ।