
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ र १४ का सहिदका परिवारलाई सम्मान गरिएको छ । ३० औँ जनयुद्ध दिवसका अवसरमा दुई वडाका ११ जना सहिदका परिवारलाई सम्मान गरिएको नेकपा माओवादी केन्द्र मुसिकोट नगर उपाध्यक्ष दीपक केसीले जानकारी दिनुभयो ।
हरेक वर्ष जस्तै यो वर्ष पनि दुई वडामा रहेका सबै सहिद परिवार तथा घाइते योद्धालाई सम्मान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार १/१ वटा कुरुवाले सम्मान गरिएको हो । नेकपा माओवादी केन्द्रका उपमहासचिव, सङ्गठन विभाग प्रमुख तथा पूर्व मन्त्री जनार्दन शर्मा र पूर्व मन्त्री तथा माओवादी नेता सुदन किराँतीले सहिद परिवार र घाइते योद्धालाई सम्मान गर्नुभएको हो ।
मुसिकोट नगरपालिका १३ नम्बर वडा सरकारको आर्थिक सहयोगमा ९ जना राज्य पक्षबाट र २ जना विद्रोही पक्षबाट साहादत्त भएका व्यक्तिका परिवार र घाइते योद्धालाई सम्मान गरिएको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।
हरेक वर्ष जनयुद्ध दिवसको अवसरमा सहिद परिवार र घाइते योद्धालाई सम्मान गर्ने गरिएको उहाँले बताउनुभयो । सम्मान कार्यक्रमको सञ्चालन पूर्व वडाध्यक्ष समेत रहनुभएका माओवादी केन्द्रका नगर उपाध्यक्ष केसीले गर्नुभएको थियो ।