
३० औँ जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको मुसिकोटका सहिद परिवार सम्मानित भएका छन् । नेकपा माओवादी केन्द्रका सम्बन्धित वडा समिति तथा वडा सरकारले जनयुद्ध दिवसका अवसरमा सम्मान कार्यक्रम गरेका थिए । त्यसक्रममा सहिद परिवार, घाइते अपाङ्ग तथा जनमुक्ति सेना समेतलाई सम्मान गरिएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ८ ले ३ जना सहिदका परिवार र पूर्व जनमुक्ति सेनालाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेको छ । त्यस्तै सहिद चन्द्रबहादुर रोकाकी श्रीमती चन्द्री रोकाले वडाका ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । उहाँले एक एक वटा थालीले वडाका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष बालकृष्ण रावलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्काको प्रमुख र पूर्व वडाध्यक्ष तथा माओवादी नेता बुद्धिप्रसाद पुन न्युटनको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका संस्थापक नेता जयबहादुर पुन लगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले विकास निर्माणका विभिन्न विषय उठान गरेका थिए । सडक, स्वास्थ्य भवन, पुल विद्युत्, विद्यालय लगायतमा नगर सरकारको ध्यान जान नसकेको भन्दै गुनासो गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्काले माओवादी केन्द्र नेतृत्वको पूर्व मुसिकोट नगर सरकारले ८ नम्बर वडाका विकासका लागि विभिन्न योजनाको सुरुवात गरेको भए पनि हालको सरकारले बेवास्ता गरेको बताउनुभयो ।
उहाँले अपूरा सडक, बिद्युत्, विद्यालय, स्वास्थ्य, पुल पुलेसा लगायतका विकास निर्माणका कामलाई पूर्णता दिन मुसिकोट नगर सरकारलाई आग्रह समेत गर्नुभयो । कार्यक्रमको सञ्चालन टेकबहादुर विकले गर्नुभएको थियो ।
यसैबिच मुसिकोट नगरपालिका ७ ले १० जना सहिदका परिवारलाई सम्मान गरेको छ । वडा कार्यालयले १० जना सहिदका परिवारलाई एक एक वटा करुवा दिएर सम्मान गरेको हो । सहिद स्तम्भमा पुष्प गुच्छा चढाएर सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । साथै शुभकामना आदान प्रदान कार्यक्रम समेत भएको थियो । वडाध्यक्ष एक्कबहादुर पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
मुसिकोट नगरपालिका वडा नम्बर १० ले पनि वडाका सहिद परिवारलाई सम्मान गरेको छ । जनयुद्ध दिवसको अवसरमा वडाले वडामा रहेका सहिद परिवारलाई सम्मान गरेको हो । वडामा जनयुद्ध दिवसका अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम समेत भएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो ।
त्यस्तै वडा नम्बर १३ र १४ का सहिदका परिवारलाई सम्मान गरिएको छ । ३० औँ जनयुद्ध दिवसका अवसरमा दुई वडाका ११ जना सहिदका परिवारलाई सम्मान गरिएको नेकपा माओवादी केन्द्र मुसिकोट नगर उपाध्यक्ष दीपक केसीले जानकारी दिनुभयो ।
हरेक वर्ष जस्तै यो वर्ष पनि दुई वडामा रहेका सबै सहिद परिवार तथा घाइते योद्धालाई सम्मान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार १÷१ वटा कुरुवाले सम्मान गरिएको हो । नेकपा माओवादी केन्द्रका उपमहासचिव, सङ्गठन विभाग प्रमुख तथा पूर्व मन्त्री जनार्दन शर्मा र पूर्व मन्त्री तथा माओवादी नेता सुदन किराँतीले सहिद परिवार र घाइते योद्धालाई सम्मान गर्नुभएको हो ।
मुसिकोट नगरपालिका १३ नम्बर वडा सरकारको आर्थिक सहयोगमा ९ जना राज्य पक्षबाट र २ जना विद्रोही पक्षबाट साहादत्त भएका व्यक्तिका परिवार र घाइते योद्धालाई सम्मान गरिएको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।।