
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका उत्कृष्ट देखिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये सानीभेरी गाउँपालिका ७२ दशमलव ७ प्रतिशत अङ्क प्राप्त गरी पहिलो भएको हो । त्रिवेणी गाउँपालिकाले ६६ दशमलव ३ प्रतिशत अङ्क प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेको छ ।
यस्तै चौरजहारी नगरपालिका ६५ दशमलव ६ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो भएको छ । ६४ दशमलव ९ प्रतिशत अङ्क प्राप्त गरी बाँफिकोट गाउँपालिकाले चौथौँ स्थान प्राप्त गर्दा, आठविसकोट नगरपालिकाले ६४ दशमलव ६ र मुसिकोट नगरपालिका ५७ दशमलव ७ प्रतिशत अङ्क प्राप्त गरी अन्तिम स्थानमा रहेको छ ।
आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँ सभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।।