Kakhara सबैको खबर सम्पूर्ण खबर
यात्री र राजनीती

म एक यात्री, अनन्त नटुङ्गिने यात्रामा छु, थाहा छैन गन्तव्य तर निश्चिन्ततामा छु, न डर छ न त्रास मेरो जीवन एक खोजमा छ सायद त्यसैले होला मेरो सपना पनि त्यस्तै आउँछ । हिजो सायद दिनभरि सुतेकोले होला रातैभरि निदाउन नै सकिन । करिब ४ बजेतिर निदाएछु । जम्मा एक घण्टा मात्रै सुतेको बिहान ५ बजेको अलार्मको घण्टीले तुरुन्तै ब्युँझिए । त्यो एक घण्टाको सुताई पनि आज मेरो लागी दश घण्टा सुते बराबरको, त्यो एक घण्टाको सुताइको सपनाको दुनियाँमा म कुनै चीर परिचित ठाउँमा एक छुट्टै मिसनमा गएको रहेछु । मेरा साथमा मेरै परिचित मित्रहरू थिए । अँधेरी रात थियो सबै देशवासीहरू मस्त निन्द्रामा थिए, हाम्रो मिसन अलग थियो । देशमा शान्ति पूर्ण ढङ्गले क्रान्ति लेराउनुथियो, पुरै देशलाई हल्लाउनु थियो, हरेक नेपालीको हकहितका लागी यो देशमा नयाँ सोचका साथ, नयाँ बिचार धारले शान्ति कायम गराउनु थियो । किनभने विद्रोहीहरूले देशलाई चकनाचुर पारिसकेका थिए हामी एक एक भएर जुट्नु थियो । परिवर्तनको लागी क्रान्ति गर्नु थियो ।

तर सपना सपनामा नै सीमित रहो, मन मानेको थिएन के गर्नु बिहानको अलार्मको घण्टीले ब्युँझिन बाध्यता पर्‍यो ! शान्तिको लागी क्रान्ति हुनु जरुरी छ समय सँगसँगै परिवर्तनको खाँचो छ । आफ्नो लागी मात्रै होइन गाऊँ समाज र पुरै देशको हकहितका लागी लड्नु छ । बिना स्वार्थ आफ्नो लक्ष्य प्राप्तिको लागी जागरूक भएर यो देशमा परिवर्तन गराउनु एक अति आवश्यक अनि महत्त्वपूर्ण जिम्मा हामी युवाहरूको थाप्लोमा थियो । गाऊँ समाज र पुरै देशले आफ्नो मुहार फेरेको हेर्नु छ, शान्त स्वच्छ हराभरा चारैतिर फैलिएको मेरो आँखाले देख्नु छ ! हुन त यो देशमा प्रजातन्त्र आयो, बहुदल मौलाए, लोकतन्त्र आयो, राजतन्त्र विलीन भो, बहुदलीय लोकतान्त्रिक गणतन्त्र आयो । तर जे भए पनि बाह्र छोरा, तेह्र नाति-बुढाको धोक्रो काँधै माथि भने झैँ यो देशका जनताका पिर मर्का बुझ्ने कोही नभएका देख्दा अनि दिनानुदिन देशको परिस्थिति खस्कँदै गएको देख्दा, फितलो नियम कानुन त्यो पनि सबैलाई बराबरी नभएको देख्दा अब हाम्रो देशका राज्य सञ्चालनमा रहेका ठुला भनाउँदा विशेषज्ञहरूले सम्पूर्ण जिम्मेवारी युवापुस्तालाई हस्तान्तरण गरे हुन्छ जस्तो लाग्छ ।

किनभने यिनीहरूको सोच पुरानो छ व्यवहार पुरानो छ समयको परिवर्तन सँग सँगै यिनीहरूले न आफूलाई परिवर्तन गर्न सके, न यो देशलाई त्यसैले अव युवा शक्तिले नै यो देशलाई हाँकेर हिँड्नुपर्ने अवस्था आएको छ । नयाँ सोच र नयाँ विचारले सम्पूर्ण युवाहरूले हातेमालो गरी निस्वार्थ भावले एक जुट भएर हरेक प्रशासनिक क्षेत्र देखी संवैधानिक अङ्गहरूलाई पूर्ण रूपमा आफ्नो हातमा जिम्मा लिएर जोस जाँगर र उमङ्गसाथ शान्तिको लागि क्रान्ति गर्ने दिन आएको छ । किनभने हाम्रा राजनेताहरूले सङ्घीयताको नाममा यो देशलाई झन् टुक्राउन खोज्दै छन्, अनेकौँ बहाना बनाएर देशको नीति नियम र कानुन संशोधनको पक्रियालाई अगाडी लम्बाउँदै छन्, जति सक्दो ढिलो गर्दै छन् । यिनीहरूले जति सक्दो चाँडो हाम्रो ढुकुटी रित्याउँदै छन्, तिनलाई के फरक पर्छ र यो देशले जे जस्तो अवस्थामा गुज्रिनुपरे पनि, किनकि यी दुष्टहरूले किर्ना बनेर दुनियाँको जुनसुकै स्थानमा रहेर, आफ्नो एवं तीनका परिवारको भलाइको लागी बाटो सोझाउनको लागी आफ्नो खल्ती भरी सकेका छन् ।

पक्ष प्रतिपक्ष भन्दै एउटा संविधान संशोधन कार्यमा त सफलता हासिल गर्न नसक्ने हाम्रा राजनेताहरूबाट हामी निमुखा सोझा नेपाली सन्ततिले यो देशको विकास र जनहितको लागी के गर्लान् भनेर सम्झने ? त्यसैले यी भनेका किर्ना हुन यी आफू मोटाउन भन्दा जान्दैनन् । हजारौँमा गन्ने हो भने मदन भण्डारी, पोस्ट बहादुर बोगटी जस्ता निःस्वार्थ भावका जननेता हातका औला जति पनि छैनन् । यिनले अर्काको काँधमा बन्दुक राखेर सिकार खेली आफू चोखो भएको देखाउनुसिवाय अरू केही जानेका छैनन् । अरूको भरमा हिँड्ने यी पुरातन बादी भन्दा नयाँ पुस्ताका हामी नौजवानहरू अलग छौ, हाम्रो सोच अलग छ, त्यसैले अव हामीहरू एकताबद्ध भएर यो देशलाई हाँक्नु पर्ने जरुरी छ ! 

यसरी नै आजको दिन देशको राजनैतिक अवस्थाको मनमनै विश्लेषण गर्दैमा बितेको पत्तै भएन । हुन त म राजनीतिज्ञ होइन, तापनि आजको दिन पुरै मनमनै देशको अवस्था र यहाँका राजनेताका गरी खाने पेसा नीतिको बारेमा सोच्दैमा  गयो । अनि तनमन धन आफ्नो दैनिक रोजीरोटीको जिम्मेवारीपूर्ण काममा रहेन । लाग्छ म भित्र रहेको नेपाली पन अनि मेरो जन्मभूमि प्रति ममा भएको आघात मायाको कारणले नै त हो नि यस्तो सोचाई मनमा आएको । मैले जीवन के हो बुझिसकेको छु, एक युद्धको सिपाहीको कथा र मेरो यात्रामा केही फरक छैन । किनकि उज्ज्वल भविष्यको निर्माणको लागी परिकल्पनामा चुर्लुम्म हुँदै मेरा अन्तर आत्माको मेरा स्वार्थपनलाई मेरो भविष्यको लागी बलिदान दिएको छु । किनकि विगतको कालरात्रिको अनुभव छ मलाई त्यसैले त खुकुरीको धारमा हिँड्दै छु, एक अन्योल अनन्त नटुङ्गिने यात्रामा । सुहाउँदो उज्ज्वल भविष्य रुपी गन्तव्यको खोजमा मेरो अनन्त यात्रा अनि जिन्दगीको लक्ष्य प्राप्तिको आसमा हरेक दिन एक सुन्दर सपना लिएर मेरो यात्रालाई अघि बढाउँदै अनेकौँ अनुभवहरू बटुल्दै छु !
 

 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update