Kakhara सबैको खबर सम्पूर्ण खबर
फैसला कार्यान्वयन अन्तर्गत रुकुम पश्चिम प्रहरीले पक्राउ गर्‍यो ३६ प्रतिवादी

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ३६ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गर्दै फैसला भएर फरार रहेकाहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ । त्यस क्रममा चालु आर्थिक वर्षको साउन १ गतेबाट हालसम्म विभिन्न कसुरमा दोषी ठहर भई फरार रहेका ३६ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा कैद, कैद तथा जरिवाना र जरिवाना मात्र तोकिएकाहरू रहेका छन् । २० रुपैयाँ जरिवाना तथा ३ दिन मात्र कैद सजाय तोकिएका प्रतिवादी समेत फरार रहेकामा पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी निरीक्षक पाठकले बताउनुभयो । थोरै मात्र कैद सजाय तथा जरिवाना तोकिएका देखि वर्षौँ कैद सजाय र लाखौँ जरिवाना तोकिएका प्रतिवादीहरू समेत फरार रहेकोमा उनीलाई पक्राउ गर्न बेला बेलामा अभियान नै सञ्चालन हुने गरेको उहाँको भनाई छ ।

हाल पक्राउ पर्ने प्रतिवादीमा २० रुपैयाँ देखि १ लाख ४८ हजार जरिवाना तोकिएका तथा ३ दिन देखि ५ वर्षसम्म कैद सजाय तोकिएकाहरू रहेको प्रहरी निरीक्षक पाठकले बताउनुभयो । ५ वर्ष कैद तोकिएका एक जना प्रतिवादीलाई नै १ लाख ४८ हजार जरिवाना समेत तोकिएकामा अन्य भने त्यो भन्दा कम सजाय फैसला भएका रहेकाे बताइएको छ । पक्राउ पर्नेमा सवारी ज्यानका ४, गौबधका ४, कुटपिट/लुटपिटका ३ जना रहेका छन् । त्यस्तै अभद्र व्यवहारका २, जबरजस्ती करणीका २, चेक अनादरका २, सम्बन्ध विच्छेदका २, हाडनाता करणीका २, बहुविवाहका २ र नकबजनी चोरीका २ जना रहेका छन् ।

ज्यान मार्ने उद्योग, चाेरी, जालसाजी, लेनदेन, लागु औषध चरेस, भ्रष्टाचार र केही सार्वजनिक अपराधका १ जना प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्लामा बर्सेनि ठुलो संख्यामा फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । जिल्लामा ठुलो संख्यामा प्रतिवादीहरू फरार सूचिमा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update