
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० मा विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् रुकुम पश्चिमको आयोजना तथा मुसिकोट नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा रुकुम साहित्यमालाको १ सय ३५ औँ शृङ्खला तथा वडामा रहेका मावि तथा आधारभूत विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ४३ जना विद्यार्थीहरूले कविता वाचन गरेका थिए ।
जसमा कक्षा ९–१०, कक्षा ६–८ र कक्षा १–५ को छुट्टा छुट्टै मूल्याङ्कन गरिएको थियो । कक्षा ९–१० तर्फ बिना कठायत प्रथम, लक्ष्मी खड्का द्वितीय, पुष्पकमल खड्का तृतीय र सुनिता कठायत सान्त्वना हुनुभएको छ । कक्षा ६–८ मा विमला कठायत प्रथम, वर्षा खड्का द्वितीय, गणेश बुढाथोकी तृतीय र निशा खड्का सान्त्वना हुनुभएको छ ।
त्यस्तै कक्षा १–५ तर्फ सिजन खड्का प्रथम, बिराज ओली द्वितीय, कृष्ण रोकाय तृतीय र तिलक ओली सान्त्वना हुनुभएको छ । स्थान हासिल गर्ने १२ जना विद्यार्थीहरूलाई नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको आयोजक राप्ती साहित्य परिषद् रुकुम पश्चिमले जनाएको छ ।