-1739792655.jpg)
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नगर विपद व्यवस्थापन समितिको बैठक बसेको छ । आज भूकम्प प्रभावितले पाउनु पर्ने पहिलो र दोस्रो किस्ताको रुकमको विषयमा निर्णय गर्न बैठक बसेको हो । बैठकले पहिलो किस्ता र दोस्रो किस्ताको लागि रकम जिल्ला विपद व्यवस्थापनमा माग गर्ने निर्णय गरेको मुसिकोट नगरपालिकाले जनाएको छ ।
१४ वटा वडा रहेको नगरपालिकामा अझै अस्थायी आवास निर्माणको लागि दुई हजार १ सय ५६ लाभग्राहीले पहिलो किस्ता बापत २५ हजार रुपैयाँका दरले ५ करोड ३९ लाख रुपैयाँ पाउँन बाँकी छन् । हालसम्म १ हजार ६ सय ६० लाभग्राहीले मात्र पहिलो किस्ता बापत २५ हजारका दरले ४ करोड १५ लाख रुपैयाँ प्राप्त गर्दा १ हजार ३ सय ९३ लाभग्राहीले मात्र दोस्रो किस्ता बापतको रकम प्राप्त गरेका छन् ।
दोस्रो किस्ताको लागि विपद प्रोटोकलमा नाम कायम भएका १६ सय २३ लागभग्राहीको लागि २५ हजार रुपैयाँका दरले ४ करोड ५ लाख ७५ हजार रुपैयाँ र पहिलो किस्ताका लागि पाउनुपर्ने ५ करोड ३९ लाख रुपैयाँ गरेर ९ करोड ९६ लाख ५० हजार रुपैयाँ जिल्ला विपद व्यवस्थापन (जिल्ला प्रशासन कार्यालय) मा माग गरिएको मुसिकोट नगर विपद व्यस्थापन समितिका संयोक तथा नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।
बैठकले पहिलो किस्ता वितरणलाई प्राथमिकता दिइ माग गर्ने निर्णय समेत गरेको मुसिकोट नगर विपद व्यवस्थापन समितिले जनाएको छ ।